बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ मा ‘नमुना थारु गाउँ’ घोषणा गरिएको छ । च्यामा गाउँमा बुधबार एक औपचारिक समारोहका बीच नमुना थारु गाउँ घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले औपचारिक कार्यक्रमका बीच घोषणा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शाहीले विभिन्न प्रक्रियाहरु पुरा गरेर नमुना थारु गाउँ घोषणा गरिएको बताए । राणाकालिन ‘थारु सहिद’ स्वर्गिय बैजनाथ थारुको नामबाट गाउँपालिकाको नामाकरण भएको स्मरण गर्दै अध्यक्ष शाहीले कला, सँस्कृति र भेषभुषालाई विशेषगरी थारु समुदायले जगेर्ना गर्दै आएकाले पर्यापर्यटन र सँस्कृतिसँग यसलाई जोड्न नमुना थारु गाउँ घोषणा गरिएको प्रष्ट्याए ।
च्यामा गाउँमा बि.सं. २००५ सालदेखी थारु समुदायहरु निरन्तर रुपले बसोबास गर्दै आएकाले यो धेरै पुरानो बस्ती पनि भएको अध्यक्ष शाहीको भनाई छ । उनका अनुसार यहाँका ९९ वटा सबै घरहरु थारु समुदायका छन् । नमुना थारु गाउँको माध्यमबाट थारु समुदायले आफ्नो कला, सँस्कृति र भेषभुषाको संरक्षण र सम्बद्र्धन गर्न सक्ने उनको सुझाव छ । नमुना थारु गाउँमा पर्यापर्यटनमार्फत गाउँमा स्वरोजगार सिर्जना गर्न सक्ने पर्याप्त आधार रहेको अध्यक्ष शाहीले जोड दिए ।
यस्तै गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले परापुर्व कालदेखी च्यामा गाउँमा बसोबास गर्दै आएका रैथाने भुमीपुत्र थारु समुदायको कला, सँस्कृति र भेषभेषाको जगेर्ना गर्न नमुना थारु गाउँ प्रभावकारी बन्ने विश्वास गरिन् । नजिकै बाँके राष्ट्रिय निकुञ्ज रहेकाले पर्यापर्यटनलाई जोडेर थारु गाउँको विकास गर्नुपर्छ भनेर नमुना थारु गाउँ घोषणा गरिएको उनले बताइन् । ‘थारु गाउँको विकास र स्तरोन्नतीको लागि केही सहयोग स्थानीय सरकारले गरेको छ, लुम्बिनी प्रदेश सरकारले पनि यहाँ ठाटी घरसहित विभिन्न संरचना निर्माण गरिदिएको छ, अब यहाँका स्थानीय बासिन्दा आफैले पनि यहाँको कला, सँस्कृति र भेषभुषाको जगेर्ना गर्नुहुनेछ,’ विशिष्ट अतिथी रोकायले भनिन् ।
घोषणा कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष रुपबहादुर मल्ल, गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी ज्ञवाली, गाउँपालिका स्तरिय बडघर सञ्जालका अध्यक्ष चन्द्रबहादुर थारु, बैजनाथ–१ च्यामा गाउँका बडघर रामविलास थारुले नमुना थारु गाउँ घोषणा भईसकेपछि स्थानीयले कला, सँस्कृति र भेषभुषाको जगेर्नासँगै यहाँका प्रचार–प्रसार गरेर स्वरोजगारी सिर्जना गर्नुपर्ने सुझाव दिए । सो क्रममा थारु समुदाय युवा, युवती तथा महिला, पुरुषले आफ्नो समुदायको पुरानो नाँच छोक्रा, लठ्ह्वा नाँच प्रस्तुत गरेका थिए ।
प्रकाशित: ६ जेष्ठ २०८३ २०:५२ बुधबार





