१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

विद्यार्थीको भविष्य दाउमा राखेर एक सातादेखि सडकमा शिक्षक, रिजाल भन्छन्: समाधान खोजौँ, ढिला भयो

नेकपा एमालेका नेता विष्णु रिजालले शिक्षक आन्दोलनको समाधान खोज्न नसकिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल एक्समा उनले विद्यार्थीको भविष्यमाथि नै खेलवाड हुने गरी शिक्षकहरू आन्दोलनमा उत्रिएको उल्लेख गर्दै समाधान खोज्न ढिला गर्न नहुने तर्क गरेका हुन्। 

नेता रिजालले लेखेका छन्, ‘एक सातादेखि शिक्षकहरू सडकमा छन्। विद्यालयहरू बन्द छन्। एसईईका उत्तरपुस्तिका जाँच्ने समय भइसकेको छ। आखिर कुनै समाधानमा पुग्नैपर्छ होला नि। आफ्ना कुरा सुनाउन सडकमा जानैपर्ने र समस्या बिग्रिएपछि मात्र समाधान खोज्ने प्रवृत्तिले के लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ? समाधान खोजौँ, धेरै ढिला भइसक्यो।’

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० चाँडोभन्दा चाँडो पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको आन्दोलन चैत २० गतेदेखि जारी छ। शिक्षकहरू बबरमहल–बानेश्वर सडकमा भेला भई शान्तिपूर्ण रूपमा सरकारको ध्यानाकर्षण गराइरहेका छन्। 

शिक्षकहरूले गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेका छन्। यो अवधिमा उनीहरूले उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा संलग्न नहुन आह्वान गरेका छन्। सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए पनि ठोस प्रगति हुन सकेको छैन। 

प्रकाशित: २७ चैत्र २०८१ १३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App