मधेसमा विगत चार दिनदेखि चलेको पश्चिमी हावा र शीतलहरले जनजीवन कष्टकर बनेपछि सिरहाको लहान नगरपालिकाले विपन्न बस्तीमा राहत वितरण सुरु गरेको छ।
चिसोबाट प्रभावित विपन्न नागरिकलाई नगरपालिकाले ‘न्यानो उपहार’ स्वरूप कम्बल वितरण र चोक–चोकमा आगो ताप्ने व्यवस्था मिलाएको हो।
नगरप्रमुख महेशप्रसाद चौधरी आफैं विपन्न बस्तीमा पुगेर राहत वितरणमा खटिएका छन्।
शनिबार मेयर चौधरीले वडा नम्बर-१५ का २८ जना विपन्न मुसहर समुदाय र वडा नम्बर २४ का ८५ जना विपन्न नागरिकलाई न्यानो कम्बल वितरण गरे।
न्यानो कपडाको अभावमा आगो तापेरै रात काट्न बाध्य स्थानीयको हातमा कम्बल पुगेपछि उनीहरूको मुहारमा खुसी छाएको थियो।
मेयर चौधरीले नगरपालिकाका विभिन्न वडाहरूमा अझै पाँच सय थान कम्बल वितरण गर्ने योजना रहेको जानकारी दिए। यसका लागि सम्बन्धित वडा अध्यक्षहरूमार्फत वास्तविक विपन्नहरूको तथ्याङ्क सङ्कलन गरी वितरण अभियानलाई तीब्रता दिइएको उनले बताए।
‘सरकार छैन भन्ने भान कुनै विपन्नलाई नहोस् भनेर हामी क्रियाशील छौँ,’ मेयर चौधरीले भने, ‘विपन्नले न्यानो बस्न पाउने अधिकार सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध छ। हामीले घर नहुने र बनाउन नसक्ने अति विपन्नको आवास निर्माणलाई पनि प्राथमिकतामा राखेका छौँ।’
अत्यधिक चिसो बढेपछि नगरपालिकाले सर्वसाधारण र बटुवालाई राहत दिन बजारका मुख्य स्थानहरूमा दाउरा उपलब्ध गराएर आगो (घुर) बाल्ने व्यवस्था मिलाएको छ।
मानिसहरूको बढी जमघट हुने ग्रामीण चोक, नयाँ बजार, गणेश चोक, मालपोत कार्यालय अगाडि, सडक डिभिजन र तरकारी बजार लगायतका स्थानमा आगो बाल्न सुरु गरिएको छ।
मेयर चौधरीले बजार क्षेत्रमा सुरु गरिएको यो अभियान आवश्यकता अनुसार वडाहरूमा पनि विस्तार गरिने र दाउरा उपलब्ध गराइने बताए।
मधेसमा चिसो छल्न सामूहिक रूपमा आगो ताप्ने (घुर) परम्परागत चलन रहिआएको छ।
प्रकाशित: १२ पुस २०८२ १६:१४ शनिबार





