ताप्लेजुङको सिदिङ्गा गाउँपालिकाले वडा नं ३ आङखोप र वडा नं ४ साब्लाखुका किसानलाई सत प्रतिशत अनुदानमा तरकारी बालीको बीउ उपलब्ध गराएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार आङखोपका ३ तथा साब्लाखुका २ टोल विकास संस्थामा आवद्ध किसानहरुलाई सत प्रतिशत अनुदानमा तरकारी बालीको बीउ उपलब्ध गराईएको हो । अधिकारीका अनुसार आङखोपको लसुने,थुङरुम्बा र आगेपा टोल विकास संस्था तथा साब्लाखुको बरडाँडा र सिंहदेवी टोल विकास संस्थामा आबद्ध किसानलाई पालिकाले आलु, लसुन, मटर, टमाटर, काउली, बन्दा र प्याजसहितका तरकारीबालीको बीउ उपलब्ध गराएको छ । यस्तै पालिकाले तरकारी बालीका क्रममा प्रयोग हुने हजारी, स्प्रले लगायतका सामग्री वितरण गरिएको समेत पालिकाले जनाएको छ । प्रत्येक टोल विकास संस्थाका १६ जना गरी जम्मा ८० जना कृषकलाई पालिकाले तरकारीबालीको बिउ तथा खेति प्रयोजनमा प्रयोग हुने उपकरण दिएको छ ।
पालिकाका अनुसार पालिकाले ३ हजार ४ सय ४० किलो आलुको बीउ, २ सय किलो लसुनको बीउ, ७५ किलो मटरको बीउ र किसानको आवश्यकता अनुसार टमाटर, काउली, बन्दा र प्याजको बीउ वितरण गरिएको छ । यस्तै प्रत्येक किसानका लागि हजारी दुईवटा र स्फ्रे १ वटाका दरले गरी ८० किसानलाई १ सय ६० वटा यस्ता सामग्री प्रदान गरिएको समेत पालिकाले जनाएको छ । पालिकाले अन्य वडाहरुमा समेत माटो र हावापानीको सुहाउँदो तरकारी तथा अन्नबालीका बिरुवा तथा खेतिमा प्रयोग हुने सामग्री वितरणलाई निरन्तरता दिने समेत जनाएको छ ।
प्रकाशित: १२ पुस २०८२ १६:०३ शनिबार




