१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

कुलमानको घोषणा- अब मेरो यात्रा राजनीतिको हुनेछ

मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले अब आफू पूर्णकालीन राजनीतिमा होमिने बताएका छन्।

बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले आफ्नो आगामी यात्रा राजनीतिको हुने घोषणा गरेका हुन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेर बाहिरिएका घिसिङले भने, ‘मैले मन्त्रिमण्डलमा समावेश भएर तीनवटा मन्त्रालय सम्हालेको ११५ दिन पूरा भएको छ। आज यो मन्त्रीको पदबाट भर्खरै राजीनामा दिएर आएको छु। अब मेरो यात्रा राजनीतिको हुनेछ। भोली देखि मेरो राजनीतिक जीवन सुरु हुन्छ।’

प्रधानमन्त्रीको विशेष अनुरोधमा आफूले मन्त्रीको जिम्मेवारी स्वीकार गरेको स्मरण गर्दै उनले राजीनामालाई जिम्मेवारीबाट भागेको अर्थमा नबुझ्न आग्रह गरे।

आफू अब एक जिम्मेवार नागरिकको रूपमा उभिएको बताउँदै उनले भने, ‘पदमा रहेर मात्र होइन, पदभन्दा बाहिर रहेर पनि देश र जनताको पक्षमा उभिनु ठूलो कुरा हो। कुर्सीभन्दा माथि आत्मसम्मान हुन्छ।’

सो अवसरमा उनले आफ्नो दलीय आबद्धताबारे पनि स्पष्टीकरण दिए। रास्वपासँग सहमति भए पनि हालसम्म औपचारिक रूपमा कार्यान्वयनमा नआएको र आफूले कुनै पार्टीको सदस्यता लिइनसकेको उनले बताए।

नेपालमा मन्त्री पदमै रहेर निर्वाचन लडेको इतिहास भए पनि आफूले पद त्याग गरेरै अघि बढ्न चाहेको उनको भनाइ थियो।

मन्त्रालय सम्हाल्दा समयमै किन काम हुँदैन भन्ने कुरा नजिकबाट जान्ने अवसर पाएको भन्दै घिसिङले छोटो समयमा पनि राम्रो कामको जग बसालेको दाबी गरे।

अन्त्यमा उनले भने, ‘म पदबाट बाहिरिएको छु। तर, जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन।’

प्रकाशित: २३ पुस २०८२ २२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App