१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

देवघाटमा माघेसंक्रान्ति मेलाकाे तयारी

फाइल तस्वीर

पवित्र तीर्थस्थल देवघाटमा माघेसंक्रान्ति मेलाको तयारी थालिएको छ। देवघाटमा माघेसंक्रान्तिका अवसरमा स्वदेशी तथा विदेशी भक्तजन धेरै संख्यामा आउने भएकाले तयारी थालिएको हो।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार त्रिशूली नदीमाथिको झोलुंगे पुल मर्मतका लागि सस्पेन्सन डिभिजन कार्यालयमा पत्राचार गरिएको छ। त्यहाँको प्राविधिक टोलीले स्थलगत अध्ययन गरिसकेको र चाँडै आवश्यक मर्मतसम्भार गर्ने उनले बताए।

मेलामा भक्तजनको संख्या विगतको तुलनामा बढ्ने अनुमान गरिएको छ। बरालका अनुसार यस वर्षको साउन महिनाको सोमबार, शतवीज छर्ने र अन्य विशेष दिनमा भक्तजन बढी आएकाले माघेसंक्रान्तिमा पनि बढ्ने अनुमान गरिएको हो।

गत वर्ष माघेसंक्रान्ति मेला भर्न तीन लाख हाराहारी भक्तजन देवघाट आएको अनुमान गरिएको थियो। बरालका अनुसार यो वर्ष पाँच लाख हाराहारी भक्तजन आउने अनुमान छ।

यसैअनुरूप आवश्यक सुरक्षा, धुनी, ट्राफिक व्यवस्थापन, पार्किङ, सरसफाइ, बत्ती, शौचालय, खानेपानीलगायत व्यवस्थापनको गृहकार्य भइरहेको छ। नदीमा हुन सक्ने दुर्घटनाको पूर्वतयारीका लागि सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायका अंग परिचालन हुँदै छ।

पुस १३ गते चितवन, तनहुँ र नवलपरासीका प्रमुख जिल्ला अधिकारीसहित सरोकार भएकाको बैठक बसेर विभिन्न जिम्मेवारी बाँडफाँट गरिने उनले जानकारी दिए।

देवघाट कालीगण्डकी र त्रिशूलीको संगममा रहेको छ। एकातर्फ कालीगण्डकी अर्कातर्फ त्रिशूली नदी प्रवाहित भएर यी दुईको संगमस्थल नै देवघाट हो। यहाँ माघेसंक्रान्तिमा देवता पनि स्नान गर्न आउँछन् भन्ने किंवदन्ती छ। यहाँ स्नान गरेमा मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ।

–रासस

प्रकाशित: ९ पुस २०८० ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App