१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

अन्ततः सक्कली देवराजलाई नागरिकता

नागरिकता पाएपछि प्रसन्न देवराज धमला। तस्बिरः ललित विष्ट/नागरिक

२० वर्षदेखि भारतमा बेपत्ता भएका कालिकोटस्थित रास्कोट नगरपालिका-८ का देवराज धमलाको नाममा नक्कली देवराज बनेर नागरिकतासहित उनका बुबाको सबै जग्गा हात पार्ने भारतीयको नागरिकता रद्ध गरी सक्कली देवराजलाई नागरिकता प्रदान गरिएको छ।

भारतीय नागरिकलाई रास्कोटका बासिन्दा भन्दै स्थानीय जनप्रतिनिधि र आफन्तले त्यहींकी महिलासँग विवाह गराई घर ल्याएपछि हराएको देवराज फर्कियो भन्ने भ्रम फैलाएर नागरिकता दिलाउने काम भएको हो।

भारतीय नागरिकलाई नागरिकता दिलाउन नगरपालिकाकै जनप्रतिनिधिले सहयोग गरेको पाइएको छ। साथै जनप्रतिनिधि तथा स्थानीयकै सहयोगमा भारतीय नागरिकलाई देवराज भनी बुबाको नाममा रहेको जग्गासमेत नामसारी गरिएको हो।

नक्कली कागजात बनाएर कालिकोट जिल्ला प्रशासन कार्यालयबाट नै भारतीय नागरिकलाई देवराज धमलाको नाममा नागरिकता दिइएको हो।

रास्कोट-८ का बुबा मणिनाथ धमला र आमा ओकला धमलाका एक्ला छोरा भएको कागजात पुर्‍याएर २०७९ मंसिर १३ गते वंशजको आधारमा नागरिकता लिएका भारतीयको नागरिकता अहिले रद्द गरी सक्कली देवराजलाई नागरिकता प्रदान गरिएको छ।

एउटाले नागरिकता र सम्पत्ति आफ्नो नाममा बनाइसकेको अवस्थामा अर्को व्यक्ति म सक्कली देवराज हुँ भन्दै आएपछि दिइसकेको नागरिकतामा शंका उत्पन्न भएको थियो।

 ‘भारतीयको नागरिकता खारेज भएपछि सक्कलीले नागरिकता पाएका छन्। उनले ९ महिनापछि नागरिकता पाएका छन्।

सक्कली देवराजलाई धेरै दुःख भयो, बारम्बार मान्म र रास्कोट ओहोरदोहोर गर्नुपर्‍यो।’ उनका अनुसार नागरिकता लिन वडाले सिफारिस नदिँदा धेरै समस्या थपिएको हो। देवराजले भने, ‘नागरिकता लिन मात्र मेरो ३० हजार खर्च भयो। अझै जग्गा–जमिन मेरो नाममा आएको छैन।’

सक्कली देवराज...

देवराज गाउँ फर्किंदा ‘वर्षौं बेपत्ता भएको देवराज आयो भनेर आफन्तले भोजभतेर नै गरेका थिए। भोज खान र खुसियाली मनाउन जनप्रतिनिधिसहितका सबै गएका थिए। मंसिरमा वडाले बुबाआमा बितेकाले मृत्यु दर्ता गरेर नाता प्रमाणित गरी नागरिकताको सिफारिस गरेको थियो। त्यसपछि नक्कली देवराजले मंसिर २३ मा जिल्ला प्रशासनबाट नागरिकता पाएका थिए।

‘बेपत्ता भएको व्यक्ति आयो भनेर आफन्तले सर्जमिन गरेपछि नागरिकता सिफारिस गरें,’ रास्कोट-८ का वडाध्यक्ष मनिराज बरालले भने, ‘काका गोकर्ण धमलाले भोगचलन गर्दै आएको जग्गाजमिन पनि उसैको नाममा नामसारी भयो। चैतमा देवराज म हुँ भनेर अर्को व्यक्ति आएपछि बल्ल रहस्य खुल्यो। गाउँमा त सनसनी नै मच्चियो। दुई दिनसम्म कचहरी चल्यो।’

गाउँमा टुंगो नलागेपछि कालिकोट जिल्ला प्रशासन कार्यालयसम्म खबर पुग्यो। प्रशासनले दुवै पक्ष झिकाएर कुरा गर्दा पहिले आएको व्यक्ति नक्कली रहेको ठहर भएको वडाध्यक्ष बरालले बताए।

कालिकोट जिल्ला प्रशासन कार्यालयमा न्याय माग्न आएका देवराजले हिन्दीमा कुराकानी गर्दै घर आउँदा अर्कैले नागरिकता, जग्गाजमिन र सम्पत्ति हडपेको देखेर गाउँका आफन्तले नै षड्यन्त्र गरेको हो कि भन्ने लागेको बताए।

उनले आफ्ना बुबाको नाममा नागरिकता र चलअचल सम्पत्ति सबै आफूले पाउनुपर्ने बताए। उनीसँग यहाँको नागरिक भएको अरू प्रमाण नभए पनि गाउँकै जन्मदेव पण्डितले बनाइदिएको पुरानो जन्मकुन्डली (चिना) साथमा छ। उनी आफ्नो मामाघर कलिकोटको तिलोभिड रहेको बताउँदै आफ्नो उमेर समूहका गाउँका सबै साथीसँगीको नाम सुनाउन सक्छन्।

गाउँको सर्जमिन मुचुल्कासहित वडाको सिफारिस आएपछि नक्कली देवराज धमलाको नाममा ६१-०१-७९-०२९४९ नम्बरको नागरिकता कालिकोट जिल्ला प्रशासनबाट नक्कली भएको प्रमाणसहित गत जेठमा गृह मन्त्रालयमा राय पठाइएको थियो। मन्त्रालयले छानबिन गरेर गत बिहीबारको मन्त्रिपरिषद्बाट नक्कली देवराजको नागरिकता खारेज गरेको थियो।

सबै कागजात मिलाएर ल्याएपछि सक्कली देवराजलाई शुक्रबार सहायक प्रजिअ सरोज अधिकारीले नागरिकता प्रदान गरेका हुन्। प्रजिअ अधिकारीले नागरिकता दिँदै धैर्यका लागि धन्यवाद दिए। देवराजले अब अर्काको नाममा रहेको जग्गा आफ्नो नाममा सारेर घर सम्हाल्ने बताएका छन्।  

प्रकाशित: २५ मंसिर २०८० ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App