२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

लोकमानलाई कालोमोसो दल्नेलाई एक महिना कैद

काठमाडौं- सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नेलाई 'अदालतको अवहेलना' गरेको ठहर गर्दै एक महिनाको कैद सजाय सुनाएको छ। कार्कीलाई मोसो दल्ने प्रबल भन्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई 'अदालतको अवहेलना' ठहरसहित न्याय सम्पादनमा अवरोध पुर्‍याएको भन्दै सर्वोच्च अदालतले सोमबार एक महिना कैद हुने आदेश गरेको हो। 

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले थुनामा रहेका शाही र बुढालाई जिल्ला कारागार चलान गर्न आदेश दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त कार्कीलाई योग्यतासम्बन्धी मुद्दामा तारेख बुझ्न जाँदा गत पुस ७ मा सर्वोच्च अदालत परिसरभित्रै मोसो दलिएको थियो।

सर्वोच्चको आदेशमा भनिएको छ, 'अपहेलनाको विषय अदालतको निर्वाध न्याय सम्पादनको विषय भएकाले न्यायाधीश, कर्मचारी, कानुन व्यावसायी र मुद्दाका पक्षको सुरक्षा अत्यावश्यक रहन्छ। न्याय निरुपणको कार्यमा संलग्न वा सरोकार रहने पक्षउपर गरिने कुनै पनि प्रकारको शारीरिक आक्रमण वा बेइज्जतीपूर्ण कार्यलाई अदालतले न्याय सम्पादनमा गरिने हस्तक्षेपको रुपमा बुझ्छ।'

अदालत परिसमा कार्कीलाई नेकपा माओवादी चन्द निकट अखिल क्रान्तिकारीका दुई केन्द्रीय सदस्य शाही र बुढाले मोसो दलेर दुर्व्यवहार गरेका थिए।

दुवैले पार्टीको पूर्वयोजनाअनुसार आफैं मोसो बोकेर अदालत प्रवेश गरेको प्रहरीले दाबी गरेको थियो। उनीहरूलाई सोही दिनदेखि नै थुनामा राखेर अनुसन्धान थालिएको थियो।

प्रकाशित: २६ पुस २०७३ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App