२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

असललाई प्रोत्साहन र गलत गर्नेलाई कारबाही गरौं: सहकारी अभियन्ता

मुलुकका सहकारी अभियन्ताले अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा रहेको तथा स्थापनाको मूल्यमान्यतामा सञ्चालन भइरहेका सहकारी संस्थालाई शंकाको दृष्टिले नर्हेन सुझाव दिएका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बचत तथा ऋण सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न पहल सुरु गरिसकेको सन्दर्भमा सबै सहकारीलाई एउटै दृष्टिकोणले नर्हेन उनीहरूले आग्रह गरेका छन्।

सहकारीका सन्दर्भमा बुधबार यहाँ आयोजित छलफलमा मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले समस्याग्रस्त सहकारी समाधान समितिलाई समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाबाट बचतकर्ताको रकम शीघ्र फिर्ता गर्ने व्यवस्था मिलाउन निर्देशन भइसकेको बताए।

समितिले यस बिचमा बचतकर्ताको ४५ करोड रुपैयाँ फिर्ता गराइसकेको छ भने एक हजारभन्दा बढी सहकारीको श्रेस्ताको अनुसन्धान गरिरहेको छ। सहकारी विभागले सहकारीको मूल्य मान्यताविपरीत कार्य गर्ने सञ्चालकको राहदानी र बैंक खाता रोक्का गरी बचतकर्ताको बचत फिर्ता गर्ने व्यवस्था मिलाएको सचिव रेग्मीले बताए।

मन्त्रालयले असल सहकारीलाई प्रोत्साहन गर्ने र गलत कार्य गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउने कार्यमा सहयोग गर्न सविच रेग्मीले सहकारी महासंघका पदाधिकारीसँग आग्रह गरेका छन्। मन्त्रालयले सबै जिल्ला संघलाई यस्तो भूमिका खेल्न आग्रह गर्दै  सहकारी महासंघमार्फत निर्देशन पठाइसकेको छ।

महासंघका अध्यक्ष मीनराज कँडेलले गलत गर्ने सहकारीलाई कुनै पनि जिल्लाका पदाधिकारीले प्रोत्साहन नगर्न र यसमा सचेत हुन सबै सञ्चालकलाई सुझाए। सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले समस्यामा परेका बचतकर्ताको समस्या सुन्न र समस्या समाधान गरिदिने निकाय देशमा रहेकाले आशाको सञ्चारको सन्देश प्रवाह गर्न ध्यानाकर्षण गराए।

विभागका रजिष्ट्रार नमराज घिमिरेले गलत कार्य गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउन विभाग सक्रिय रहेको बताए। कार्यक्रमका अन्य सहभागी वक्ताले सहकारी अभियान गलत नभएकाले केही सञ्चालकको गलत क्रियाकलापबाट उत्पन्न समस्यालाई समाधान गर्न सबै सरोकारवालाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको सुझाव दिए। रासस

प्रकाशित: २ चैत्र २०७९ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App