८ वैशाख २०८१ शनिबार
समाज

थारू गाउँका भलमन्सा: पुरानालाई बिदाई, नयाँलाई स्वागत

पुनर्वास नगरपालिका स्तरीय भलमन्सा भेटघाट तथा माघी मिलन कार्यक्रमका अतिथि तथा भलमन्साहरु। तस्बिर: पुष्पराज जोशी/नागरिक

पुनर्वास नगरपालिका–७, डाँडा गाउँ कञ्चनपुरका निवर्तमान भलमन्सा जनक चौधरीलाई एक भव्य कार्यक्रमका बीच शनिबार बिदाई गरियो।

उनलाई खादा माला र प्रमाणपत्र दिई बिदाई गरिएको हो। उनीसँगै नयाँ चुनिएका भलमन्सा घुम्मन चौधरीलाई भने स्वागत गरिएको छ। पुनर्वास नगरस्तरीय भलमन्सा समितिले आयोजना गरेको नगरस्तरीय तेस्रो माघी मिलन कार्यक्रममा निवर्तमान भएका ६ जना भलमन्सालाई बिदाई गरेको हो भने नवनिर्वाचित तथा दोहोरिएको ३२ जना भलमन्सालाई स्वागत गरेको हो।

वर्षौदेखि गाउँमा भलमन्सा भई काम गर्दै आएको र यसपालिदेखि आफैले भलमन्सा पदमा नबस्ने भनेपछि गाउँ समुदायले नयाँ भलमन्सा छानेको बताउँदै जनक चौधरीले भने, ‘पुनर्वास नगरस्तरीय भलमन्सा समितिले पुरानालाई सम्मान गर्दै बिदाई गरेको छ भने नयाँ तथा दोहोरिएका भलमन्सालाई स्वागत गरेको छ।’

पुनर्वास–७ परासन गाउँका भलमन्सा राजु चौधरी पुनः गाउँलेद्वारा अनुमोदित भए। उनी विगत ६ वर्षदेखि गाउँको भलमन्सा पदमा दोहोरिँदै आएका छन्। ‘यसपालि पनि गाउँ समाजले पुनः मलाई नै दोहोरिन भनेपछि दोहोरिएको छु,’उनले भने,‘समाजको हितमा काम गरेकै हुनाले विगत ६ वर्षदेखि नै गाउँ समाजले दोहोर्‍याउँदै आएको छ।’

हरेक वर्षझैं यस वर्ष पनि नगरस्तरीय भलमन्सा समाजले नयाँ भलमन्सालाई स्वागत तथा निवर्तमान भलमन्सालाई बिदाई गरेको बताउँदै उनले भने, ‘यस्तो कार्यक्रमले हामी नगरभित्र रहेका ३२ गाउँ टोलका ३२ वटै भलमन्सा एक ठाउँमा आएर सुख दुःख साँट्दै एक अर्कालाई चिन्ने मौका पाएका छौँ।’ 

नगरस्तरीय भलमन्सा समितिका संयोजक सुम्मन डँगौरा थारूले पुनर्वास नगरपालिका भित्र रहेका ३२ वटै भलमन्सालाई एकै थलोमा ल्याएर सम्मान गर्नुका साथै भेटघाट गर्ने अवसर प्रदान गरेको बताए। उनले भने,‘यो भेटघाट र एक भलमन्साले अपनाएको समाज चलाउने विधि र प्रक्रिया अर्को भलमन्साले सिक्ने अवसर पनि हो।’

पुनर्वास नगरपालिका भित्र रहेका ३२ वटै भलमन्सालाई नगरपालिकाले उनीहरुको प्रशासनीक खर्च भन्दै प्रोत्साहन स्वरुप वार्षिक ९ हजार रुपैयाँ दिँदै आएको पुनर्वास नगरपालिकाकी उपमेयर भुलिया रानाले बताइन्।

उनले भनिन्, ‘गाउँका भलमन्सा भनेका न्यायीक समितिका अर्का रुप हुन्। उनीहरुलाई गाउँमा हुने झै झगडा तथा न्याय अन्यायका कुराहरु प्रति बढी चासो हुन्छ।’ न्यायीक समितिले भलमन्सालाई तालिम दिई उनीहरुलाई सक्षम बनाउन पहल गर्ने उपमेयर रानाले बताइन्। उनले भनिन्, ‘अब चाँडै हामी भलमन्सालाई लक्षित गर्दै ‘स्थानीय भलमन्सा ऐन’ तयार पार्छौं,’ उनले भनिन्, ‘पुस्तौदेखि थारु समुदायमा चलिआएको भलमन्सा प्रथालाई आधुनिकीकरण गर्दै उनीहरुलाई थप सशक्तीकरण गर्नतर्फ लाग्ने छौं।’

भलमन्साको सुरुआत कसरी भयो भन्नेबारेमा ऐतिहासिक तथ्य नभए पनि पुस्तौंदेखि यो प्रणाली अस्तित्वमा रहेको अनुमान गरिएको छ।

परापूर्वकालमा हुनेखाने परिवारलाई बडघर तथा भलमन्सा भन्ने गरिएको थारू अगुवा बताउँछन्। परापूर्वकालमा गाउँको सबैभन्दा धनी परिवारको अधीनमा रहेर अन्य गाउँका व्यक्तिहरुले समाजमा आइपर्ने काम गर्नुपर्ने चलन रहेको जानकारहरु बताउँछन्।

बदलिँदो परिवेशअनुरुप समाजमा नीति निर्माण र अनुशासन कायम गर्नका लागि थारू समुदायले भलमन्सा नियुक्त गर्ने चलन सुरु भएको बताउँदै थारू अगुवा रोशन चौधरी भन्छन्, ‘यही अनुसार परम्परादेखि नै भलमन्सा प्रथा चल्दै आएको छ।’ भलमन्सा (बडघर) पुरुष मात्रै चयन भई काम गर्दै आएकोमा कतिपय बस्तीमा पछिल्ला वर्षमा महिलालाई पनि यो पदको जिम्मेवारी दिने गरिएको छ।

प्रकाशित: ७ माघ २०७९ १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App