प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रक्षाबन्धनको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना दिँदै विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले गरिरहेका कामबारे २० बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन्।
प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको विवरणमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको उल्लेख गर्दै उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म सरकार पुग्ने प्रतिबद्धता जनाएका छन्।
सरकारका अनुसार खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी १५ हजार ४३१ सुरक्षाकर्मी रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरलगायत प्रभावित क्षेत्रमा परिचालन भएका छन्।
हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको प्रधानमन्त्रीको विवरणमा उल्लेख छ। उद्धार गरिएकामध्ये जलविद्युत् सुरुङबाट निकालिएका १९१ जना र हवाई उद्धारबाट उद्धार गरिएका ५१७ जना छन्। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएको र हालसम्म ९९ वटा हवाई उडान भएको जनाइएको छ।
उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने कामसमेत जारी रहेको छ। हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको तथा हेलिकप्टरबाट समेत राहत सामग्री ढुवानी गरिएको प्रधानमन्त्रीले बताएका छन्।
सुरुङमा फसेकाको उद्धार प्राथमिकतामा
प्रधानमन्त्रीका अनुसार अपर त्रिशूली जलविद्युत् आयोजना र रसुवागढी जलविद्युत् केन्द्रमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकता दिइएको छ। अन्य जोखिमयुक्त सुरुङमा समेत खोज तथा उद्धार जारी राखिएको र आवश्यक विशेष उद्धार उपकरण परिचालन गरिएको छ।
बेपत्ता नागरिकको खोजी तल्लो तटीय क्षेत्रमा समेत विस्तार गरिएको छ। रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा थप सुरक्षाकर्मी परिचालन गरी बेपत्ता नागरिक तथा शवको खोजी भइरहेको जनाइएको छ।
विदेशी नागरिकको खोज, उद्धार र पहिचानका लागि समेत विशेष समन्वय भइरहेको छ। हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान भएको प्रधानमन्त्रीको विवरणमा उल्लेख छ। परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास तथा परिवारसँग समन्वय गर्न आपत्कालीन नियन्त्रण कक्ष सञ्चालन गरेको छ।
प्रधानमन्त्रीले विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको पनि स्पष्ट पारेका छन्। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको उनले बताएका छन्।
दुई लाखभन्दा बढीलाई एसएमएस अलर्ट
भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमलाई निरन्तर निगरानीमा राखिएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना दिने तथा नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्रीका अनुसार दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाएर नागरिकलाई पूर्वसूचना दिइएको छ।
यसैगरी सडक सम्पर्क पुनःस्थापनाको काम तीव्र पारिएको छ। वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याएर साना चारपाङ्ग्रे सवारीसाधन चल्न थालेका छन् भने काठमाडौं–मुग्लिन सडक एकतर्फी सञ्चालनमा ल्याइएको जनाइएको छ।
रसुवालाई समेत वैकल्पिक सडकमार्फत पुनःसडक सञ्जालसँग जोडिएको प्रधानमन्त्रीले बताएका छन्। काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्प्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारीका लागि सञ्चालनमा आएको छ। क्षतिग्रस्त पुलमा बाइपास निर्माणको काम सुरु गरिएको छ।
नियमित सडक सम्पर्क पुनःस्थापनाका लागि भारत र चीनबाट ४८ मिटर लम्बाइका १० वटा बेलीब्रिज उपलब्ध गराउन औपचारिक पहल गरिएको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
खानेपानीदेखि विद्युत् र दूरसञ्चारसम्म पुनःस्थापनाको प्रयास
प्रभावित क्षेत्रमा खानेपानी, इन्धन तथा सरसफाइको व्यवस्था मिलाइएको छ। नुवाकोटमा चारवटा खानेपानी ट्यांकर परिचालन गरिएको तथा सुरक्षित खानेपानीका लागि ९०० किलो ब्लिचिङ पाउडर पठाइएको छ।
नुवाकोटका विभिन्न आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको तथा १७ हजार लिटर हवाई इन्धन नुवाकोट पठाइएको प्रधानमन्त्रीले बताएका छन्।
बाढीबाट सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार, जलविद्युत् तथा अन्य संरचनामा भएको क्षतिको विस्तृत मूल्यांकन सुरु भएको छ। यसका लागि १५ वटा प्राविधिक टोली परिचालन गरिएको छ।
दूरसञ्चारतर्फ प्रभावित १९८ टावर तथा साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन्। नेपाल टेलिकमका १२० मध्ये ८२ र एनसेलका ७८ मध्ये ६३ साइट सञ्चालनमा आएको जनाइएको छ।
नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भएको र धुन्चेमा विद्युत् सेवा सञ्चालनका लागि काम भइरहेको प्रधानमन्त्रीले बताएका छन्।
स्वास्थ्य सेवाका लागि अस्पताल ‘स्ट्यान्डबाइ’
स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ। ६ वटा अस्पताललाई ‘स्ट्यान्डबाइ’ अवस्थामा राखिएको तथा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली परिचालन गरिएको छ।
आवश्यक औषधि तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ भने कम्तीमा ५ हजार जनसंख्यालाई लक्षित गरी टेन्ट तथा आपत्कालीन स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ। रोग निगरानी तथा मातृ–बाल स्वास्थ्यसहित अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर राखिएको प्रधानमन्त्रीको भनाइ छ।
जोखिममा रहेका परिवारका लागि सुरक्षित बसोबास तथा आवतजावतको व्यवस्था अघि बढाइएको छ। आपत्कालीन आश्रयस्थलका लागि स्थान पहिचान तथा स्थानान्तरणको काम भइरहेको छ। सडक तथा पुल अवरुद्ध भएका बस्तीमा पहुँच सहज बनाउन रसुवा र नुवाकोटका करिब १० स्थानमा तुइन निर्माणको काम अघि बढाइएको छ।
प्रभावित १५ स्थानीय तहलाई ६ करोड ७५ लाख
राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रभावित १५ स्थानीय तहलाई कुल ६ करोड ७५ लाख रुपैयाँ तत्काल उपलब्ध गराइएको प्रधानमन्त्रीले बताएका छन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको जनाइएको छ। प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार भइरहेको छ।
त्यस्तै प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थालाई लक्षित ‘बिजनेस रिकभरी प्याकेज’ तयार गर्ने काम अघि बढाइएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने व्यवस्था अघि बढाइएको छ।
राहत, उद्धार तथा पुनःस्थापनामा सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, नेपाल स्काउट, स्वयंसेवी संस्था, निजी क्षेत्र तथा विकास साझेदारलाई समन्वय गरी स्रोतसाधन परिचालन भइरहेको प्रधानमन्त्रीले बताएका छन्।
रक्षाबन्धनमा प्रधानमन्त्रीको सन्देश
रक्षाबन्धनको शुभकामना दिँदै प्रधानमन्त्रीले विपद्बाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
‘यस कठिन घडीमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ। उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ,’ प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्।
उनले सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित रहेको भन्दै मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र सोहीअनुसार स्रोतसाधन परिचालन गर्ने गरी सरकार निरन्तर काम गरिरहेको बताएका छन्।
यसै क्रममा प्रधानमन्त्रीले नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु यूएफसी’मा जित हासिल गर्दै फाइनलमा प्रवेश गरेकोमा बधाई दिएका छन्। विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको भन्दै उनले ढाँटलाई धन्यवादसमेत दिएका छन्।
प्रकाशित: १२ भाद्र २०८३ २०:४७ शुक्रबार


-600x400.jpg)


