३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

वकिलको दलबलसहित निर्वाचन आयोग पुगे रास्वपा महामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटी कानुन व्यवसायीको दलबलसहित निर्वाचन आयोग पुगेका छन्। पार्टीले पछिल्लो समय गरेका विभिन्न हेरफेरहरू अद्यावधिकको अवस्था बुझ्न आइतबार निर्वाचन आयोग पुगेको बुर्लाकोटीले बताए। 

‘हामी पार्टीको कानुन विभागका कानुन व्यवसायी साथीहरू सहित आएको कारण चाहिँ निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी हेरफेर अद्यावधिक गर्न अलिकति विलम्ब गरेको जस्तो अवस्था देखियो,’ बुर्लाकोटीले भने, ‘यो विलम्ब नगर्नुपर्ने, यसमा कैफियत छ कि भन्ने हिसाबले यो कुरा राख्न आएको हौँ।’ यो कुरा आफूले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त र सचिवहरूसँग राखेको उनले बताए। 

‘पार्टीका तर्फबाट बुझाइएका कागजातहरू लगभग सबै पुगेको छ भन्ने उहाँहरूले जानकारी दिनुभयो,’ बुर्लाकोटीले भने। आफूहरूले २०८१ असार १७ गतेदेखि विवरण बुझाएको, त्यसपछाडि हेरफेर भएका विवरण पटक–पटक बुझाएको उनले दाबी गरे। ‘यो अद्यावधिक हुनुपर्ने कुरामा किन विलम्ब भयो? भन्दा उहाँहरूले गर्दै छौँ भन्ने प्रतिक्रिया दिनुभयो,’ उनले भने।

यसअघि डा. मुकुल ढकालले दिएको निवेदनको जवाफमा निर्वाचन आयोगले रास्वपाको पदाधिकारी हेरफेर अद्यावधिक नभएको र मुकुल नै महामन्त्री कायम रहेको पत्र दिएको थियो। 

त्यस लगत्तै मुकुल पार्टीको पदाधिकारी हेरफेरका सम्बन्धमा सर्वोच्च अदालतमा रिट सहित पुगेका थिए। उनको मुद्दा अदालतमा विचाराधीन छ। त्यही मुद्दाका कारणले पनि आयोगमा हेरफेरको निर्णय अद्यावधिक गर्न ढिलाइ भएको हुनसक्ने बुर्लाकोटीले आशङ्का व्यक्त गरे। 

प्रकाशित: ४ श्रावण २०८२ १३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App