पूर्वराजा ज्ञानेन्द्र शाहका संवादसचिव डा. फणी पाठकलाई प्रहरीले पूर्व राजाको सचिवालय लेख्ने शर्तमा छाडेको छ । शुक्रबार बिहानैदेखि सोधपुछमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहका संवाद सचिव पाठकलाई श्री ५ महाराजधिराज सम्बोधन नगर्ने शर्तमा छाडिएको हो । ‘उहाँलाई परिवारको सदस्यका साथमा पठाइएको छ, संविधानसम्मत शब्दहरू प्रयोग गर्ने गरी पठाइएको हो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले भने ।
उनलाई संविधान विपरित कार्य गरेको आरोपमा शुक्रबार बिहानै सोधपुछका लागि बोलाइएको थियो । पूर्वराजा शाहलाई गर्ने सम्बोधनको शब्द तथा शैलीको विषय संसदमा पनि उठाइएपछि प्रहरीले उनलाई सोधपुछका लागि बोलाइएको थियो । मुलुकमा राजसंस्था विस्थापित भएको १५ वर्ष भएपनि पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो सचिवालयबाट राजाकै हैसियतमा विज्ञप्ति जारी गर्न लगाउने र त्यही अनुसारको भ्रम सिर्जना गर्न गराएका थिए ।
यो पनि पढ्नुहोस्
संविधानले नचिन्ने ‘श्री ५ महाराजधिराज कसले प्रयोग गरिरहेको छ ?
जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएपनि पूर्व राजा ज्ञानेन्द्रले आफ्नो सचिवालय मार्फत यसलाई स्वीकार गर्न नसकेको सन्देश दिइरहेका थिए ।
उनले नारायणहिटी दरवार छाडेपनि आफ्नो सचिवालय मार्फत ‘श्री ५ महाराजधिराजको’ उपाधि राखिएको लेटर प्याड चलाउने गरेका छन् । उनले अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ को पूर्ण उल्लंघन गरेका छन् ।
यो पनि पढ्नुहोस्
कमल थापाले भनेः ज्ञानेन्द्रपछि कोही राजा नभएकाले श्री ५ लेख्नु स्वाभाविक
प्रकाशित: २७ असार २०८२ १९:५७ शुक्रबार





