२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

नेमकिपाको घोषणापत्र : भ्रष्टाचारीलाई मृ*त्युदण्डसम्मको सजाय हुनुपर्ने

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भ्रष्टाचारीहरुलाई मृत्युदण्डसम्मको सजायको वन्दोवस्तका लागि संविधान शंशोधन गराउन दबाब दिन आफूहलाई मत चाहिएको बताएको छ । प्रतिनिधिसभा निर्वाचन घोषणापत्र २०८२ आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै भ्रष्टाचारलाई मात्रै पनि न्युनीकरण गर्न सके देश वन्ने दावी गरेको हो । पार्टी अध्यक्ष नारायणमान विजुक्छेंलगायतले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरे ।  

देश र जनताको निःस्वार्थ सेवा गरौं, समाजवादी प्रचार अभियान सफल बनाऔ, निर्वाचनको मुख्य नारा रहेको जानकारी दिँदै अध्यक्ष विजुक्छेंले निर्वाचनको मुख्य काम र केन्द्र प्रधानमन्त्री बन्नु नरहेको बताए । ठूला दलहरुले अहिले निर्वाचनलाई प्रधानमन्त्री बन्ने मुख्य नारा बनाएको भन्दै उनले दुःख व्यक्त गरे । नेपाली कांग्रेसले सभापति गगन थापा, एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली, राष्टिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने भन्दै मत मागिरहेकोले उनीहरु सवैले पदको लागि राजनीति गरेको प्रष्ट भएको बताए ।    

पार्टीले देश र जनताको निःस्वार्थ सेवाका लागि समाजवादी प्रचार अभियानलाई थप सशक्त बनाउन मत मागेको सम्मेलनमा बताइयो । निर्वाचनलाई राजनीतिक शिक्षाको महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्ने पार्टीको नीति रहेको बताइयो । पार्टीका अनुसार निर्वाचन आमूल परिवर्तनको संकेत दिने ‘ब्यारोमिटर’ भए पनि केवल निर्वाचनमार्फत समाजवाद स्थापना सम्भव छैन । नेमकिपाले ‘क्रान्तिकारी संसद’लाई व्यवहारमा लागू गर्दै आएको उल्लेख गर्दै संसदलाई देशको नीति–निर्माण, बजेट, ऐन तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामाथि छलफल र निर्णय गर्ने बौद्धिक थलोका रूपमा व्याख्या गरेको छ ।

नेमकिपाले २०४८ सालदेखि संसदमा देश र जनताको हितमा प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएको दाबी गरेको छ । यसकारण यस पटक पनि मन्त्री, प्रधानमन्त्री बन्नको लागि आफूहरुले मत नमागेको उनीहरुले स्पष्ट पारे ।  

यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १२० जना उम्मेदवार उठाएको जनाएको छ, जसमध्ये ५४ जना (४५ प्रतिशत) महिला छन् । समानुपातिकतर्फ १०९ जना उम्मेदवारमध्ये ५८ जना (५३ प्रतिशत) महिला रहेको पार्टीले जनाएको छ ।

जन्मका आधारमा विदेशीलाई दिइएको नेपाली नागरिकता खारेज गर्नुपर्ने र कृषिप्रधान देशमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने माग पनि नेमकिपाले घोषणापत्रमार्फत् दोहोर्‍याएको छ ।

यो निर्वाचन पनि पुँजीवादी स्वरूपकै रहेको उल्लेख गर्दै पार्टीले पद, पैसा र सत्ताको दुरुपयोग हुन सक्ने चेतावनी दिएको छ । निर्वाचनबाटै सुशासन र लोकतन्त्रको पूर्ण सुनिश्चितता हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्दै नेमकिपाले आफ्नो पक्षमा धेरै मत आउनु आमूल परिवर्तनतर्फ परिस्थिति परिपक्व हुँदै गएको संकेत हुने दाबी गरेको छ ।

पत्रकार सम्मेलनमा पार्टी केन्द्रिय सचिव एवं भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले चार पृष्ठ लामो घोषणापत्रका मुख्यमुख्य बुँंदाहरु पढेर सुनाएका थिए । पार्टी निकटको नेपाल क्रान्तिकारी महिला संघका केन्द्रिय अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य अनुराधा थापामगरले पार्टी देशकै सवैभन्दा वढी महिला उम्मेदबार (प्रतिशत) उठाएको पार्टी भएको जानकारी गराए । पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं प्रदेश सांसद् सुरेन्द्रराज गोसाईले निर्वाचन घोषणापत्रको लडाई भएको विचार व्यक्त गरे ।

प्रकाशित: ३ फाल्गुन २०८२ १८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App