३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

अब ढिला गर्नुहुँदैन, विकास विरोधीहरू चिन्नुहोस्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले सुरु गरेका गौरवका योजनाहरू रोक्ने र बजेट काट्नेहरूलाई निर्वाचनमार्फत् चिन्न र दण्डित गर्न आग्रह गरेका छन्।

आइतबार झापा क्षेत्र नं-५ मा आयोजित निर्वाचन परिचालन समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार विकास निर्माणप्रति अनुदार रहेको आरोप लगाए।

अध्यक्ष ओलीले आसन्न निर्वाचन केवल प्रतिनिधि छनोटको विषय मात्र नभई विकास गर्ने र विकास रोक्ने शक्तिबीचको जनमत संग्रह भएको दाबी गरे।

‘हामीले झापाको विकासका लागि ल्याएका ठुला योजनाहरू अहिलेको सरकारले रोकेको छ,’ उनले भने, ‘एकातर्फ हामी सालिक र स्मारक बनाएर पहिचानको सम्मान गर्छौँ, अर्कोतर्फ उनीहरू बनेका संरचना भत्काउँछन्। यो सालिक बनाउने र भत्काउनेहरूबीचको लडाइँ हो, अब विकास विरोधीलाई चिन्न ढिला गर्नुहुँदैन।’

आदिवासी धिमाल समुदायको उत्थानका लागि अघि सारिएका ९ करोड बराबरका तीनवटा मुख्य योजनाहरूको बजेट काटिएकोमा ओलीले आपत्ति जनाए।

धिमाल संग्रहालय, होमस्टे र सडक निर्माणका लागि छुट्याइएको ३-३ करोड बजेट वर्तमान सरकारले पूर्वाग्रही ढंगले रोकेको उनको भनाइ थियो।

उनले थपे, ‘बजेट राख्ने को हो र काट्ने को हो ? अब जनताले हिसाब माग्ने बेला आएको छ। विकास विरोधीहरूलाई यसपटक मतदाताले घर पठाउनुपर्छ।’

विपक्षीहरूले जतिसुकै अवरोध गरे पनि एमालेले जितेपछि काटिएका सबै बजेट पुनः ल्याउने र अधूरा कामहरू तीव्रताका साथ पूरा गर्ने ओलीले उद्घोष गरे।

झापाका धिमालहरू यहाँका वास्तविक धर्तीपुत्र र प्रथम नागरिक भएकोले उनीहरूको विकास र सम्मानमा कुनै कसर बाँकी नराख्ने उनले स्पष्ट पारे।

अध्यक्ष ओलीले कुनै पनि भ्रममा नपरी विकासको एजेन्डा बोकेको शक्तिलाई साथ दिन आग्रह गरे। एमालेले सधैँ राष्ट्रिय हित र समृद्धिलाई प्राथमिकतामा राखेको भन्दै उनले भने, ‘हामी बनाउन आएका हौं, भत्काउन होइन। यो कुरा बुझेर विकास प्रेमी जनताले सही फैसला गर्नेछन्।’

कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै ओलीले विकास विरोधी तत्वहरूको पहिचान गरी गाउँ-गाउँमा उनीहरूको वास्तविक अनुहार उदांगो पार्न समेत निर्देशन दिए।

प्रकाशित: ३ फाल्गुन २०८२ १८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App