आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपत क्षेत्रको माहात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले गरिएको ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा–२०८२’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) समूह आइतबार पशुपति आइपुगेको छ।
भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र बागमती नदी प्रदूषित भएकामा भगवान् पशुपतिनाथ एवं बागमतीप्रति क्षमायाचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको थियो। महेश सन्यास आश्रमका पीठाधीश एवं ‘महेश संस्कृत गुरुकुलम्’का अध्यक्ष स्वामी रमणानन्द गिरीको सत्सङ्कल्पमा पदयात्रा समूह पशुपति क्षेत्र आइपुगेको हो।
गत चैत १५ गते पशुपति शङ्कराचार्यमठमा समुद्घाटन, पशुपतिपूजन तथा बागमती गङ्गाको विशेष आरती गरी १६ गते पशुपति क्षेत्रबाट प्रारम्भ भएको पाशुपत पदयात्राको शुभारम्भ आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट भएको थियो। कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुर आदिक्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शन पैदलयात्रा गरी समूह अघि बढेको थियो। ४२ दिनमा तीर्थयात्रा पशुपति आइपुगेको हो।
‘बृहत्–पाशुपत–परिक्रमा’ का सङ्कल्पकर्ता गिरिले पशुपति तत्वका बारेमा प्रकाश पार्दै पशुपतिको लघुपरिक्रमा, मध्यमपरिक्रमा र बृहत्परिक्रमाका बारेमा उल्लेख गरेका थिए।
पशुपतिनाथ विश्वका धार्मिक क्षेत्रमध्ये आध्यात्मिक दृष्टिले ऊर्जाशील भूमि नेपाललाई रोजेर वाग्मती तटमा विराजमान भएकाले यसको महत्व उजागर गर्नुपर्नेमा यस क्षेत्रका विज्ञले जोड दिँदै आएका छन्।
‘बृहत् पाशुपत पदयात्रा’ लाई भव्यताका साथ सम्पन्न गर्न ‘मूल आयोजक समिति’ र विभिन्न उपसमितिको समेत गठन गरिएको थियो। पशुपति आइपुगेपछि समूहले यस क्षेत्रका भुवनेश्वर, भष्मेश्वर, रुद्रगारेश्वरलगायत तीर्थस्थलमा विधिवत् पूजा, आराधना र रुद्राभिषेक पनि सम्पन्न गरेको जनाइएको छ।
आज (सोमबार) बिहान पशुपतिनाथ मूल मन्दिरसहित बागती नदीमा पूजा, आराधना र अघ्र्यदान गरेपछि बृहत् पाशुपत पदयात्रा समापन कार्यक्रम आयोजना गरिने जनाइएको छ।
प्रकाशित: २८ वैशाख २०८३ ०६:२६ सोमबार

