नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनबाट कांग्रेसले मुलुकमा स्पष्ट बहुमत प्राप्त गर्ने दाबी गरेका छन्।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेस अब सबैभन्दा ठुलो दल मात्र नभई बहुमतको आकारमा पुग्ने दिशामा अघि बढेको बताएका हुन्।
महामन्त्री शर्माले कांग्रेसले बहुमत प्राप्त गर्ने स्पष्ट आधारहरू तय भइरहेको बताए। ‘हामी बहुमतको आकारमा पुग्दैछौँ भन्नका लागि अझै हप्ता-दश दिनको समय लाग्ला, हामी त्यसै हावामा बोल्दैनौँ,’ उनले भने, ‘अहिले देशभरबाट जुन रूपमा पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको छ, यसले कांग्रेसलाई बहुमतको दिशामा पुर्याउँदैछ।’
उनले १० दिनपछि ठोस आधार र तथ्याङ्कसहित यसबारे थप स्पष्ट पार्ने समेत उल्लेख गरे।
कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का पूर्वमहासचिव मनिष मिश्र र अल्पसंख्यक थामी समुदायका नेता-कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका थिए।
महामन्त्री शर्माले जसपा जस्ता अन्य दलका प्रभावशाली नेताहरू र अल्पसंख्यक समुदायको कांग्रेसप्रतिको बढ्दो विश्वासले नै पार्टीलाई बहुमततर्फ डोर्याइरहेको तर्क गरे।
विशेष गरी मधेश प्रदेशमा कांग्रेसको प्रभाव बढ्दै गएको र आगामी ६ गते जनकपुरमा हुने सम्मेलनले यसलाई थप पुष्टि गर्ने उनको भनाइ थियो।
शर्माले कांग्रेसभित्र युवा पुस्ता र जेन-जीको आकर्षण बढ्दो रहेको चर्चा गरे। ‘मेचीदेखि महाकालीसम्म गगन थापालाई प्रधानमन्त्रीका रूपमा हेर्न चाहनेहरूको लहर छ, यसले पार्टीलाई ठुलो उर्जा दिएको छ,’ शर्माले भने।
महाधिवेशनपछि कांग्रेस नवीन र रुपान्तरित भएर अघि बढेको उल्लेख गर्दै शर्माले विगतमा पार्टी छाडेका पुराना साथीहरूलाई पुन: फर्कन आग्रह गरे।
‘जो आफूलाई बदल्न सक्छ, उसैले देश बदल्न सक्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘विगतका कमजोरी सच्याएर हामी अघि बढेका छौँ, पुराना साथीहरूलाई खुला हृदयले स्वागत छ।’
प्रकाशित: ३ फाल्गुन २०८२ १८:५३ आइतबार





