२५ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

डिजिटल सुरक्षा गर्न नेपालमा कानुनको आवश्यकता छ : समिक्षा बास्कोटा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य समिक्षा बास्कोटाले नेपालमा डिजिटल सुरक्षा, डेटा संरक्षण र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी स्पष्ट कानुनी व्यवस्था  आवश्यक रहेको बताएकी छन्। 

शुक्रबार रास्वपाले सांसदका गतिविधि, भेटघाट तथा निर्वाचन क्षेत्रका नागरिकका गुनासा व्यवस्थापनका लागि विकास गरेको ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मको कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले डिजिटल युगअनुसार नीति तथा कानुन निर्माणमा नेपाल अझै पछाडि रहेको बताइन्।  

उनले नयाँ प्रणाली सञ्चालनमा आएपछि संसद् बैठक सकिएलगत्तै प्रत्येक सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा प्रणालीमा अद्यावधिक गर्नुपर्ने बताइन्। उनले उक्त प्लेटफर्ममार्फत सांसदहरूले संसद्मा उठाएका विषय मन्त्रालयसम्म पुगे वा नपुगेको, सम्बोधन भए वा नभएको तथा समग्र कार्यसम्पादनको निरन्तर अनुगमन गर्न सकिने बताइन्।  

बास्कोटाले डिजिटल ड्यासबोर्डमार्फत रास्वपाका १८२ सांसदका राजनीतिक गतिविधिको अभिलेखीकरण हुने, नागरिकका गुनासा प्रत्यक्ष प्रणालीमा आउने तथा पार्टी नेतृत्वले त्यसको प्रत्यक्ष निगरानी गर्न सक्ने बताइन्। मन्त्रीहरूले समेत सांसदले उठाएका विषयमा काम भए–नभएको अनुगमन गर्न सक्ने भएकाले सेवा प्रवाह र उत्तरदायित्व थप प्रभावकारी हुने उनको भनाइ थियो। 

नेपालमा बढ्दो साइबर अपराध, साइबर बुलिङ र डिजिटल जोखिमलाई ध्यानमा राख्दै अब साइबर सुरक्षा, डेटा सुरक्षा र एआईसम्बन्धी नीतिलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।  

बास्कोटाले डिजिटल युगअनुसार कानुन निर्माणमा सरकार, संसद् र सबै राजनीतिक दलले साझा रूपमा काम गर्नुपर्ने भन्दै नेपालमा दक्ष प्रविधि विज्ञहरूको जनशक्ति  प्रभावकारी उपयोग हुन नसकेको समेत बताइन्। 

प्रकाशित: १९ असार २०८३ १५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App