इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भारतलाई इजरायलको प्रमुख समर्थकमध्ये एक बताएका छन्।
उनले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको हालैको टिप्पणीको जवाफमा यस्तो बताएका हुन्। उपराष्ट्रपति भान्सले संयुक्त राज्य अमेरिकाबाहेक इजरायलको कुनै शक्तिशाली सहयोगी नभएको दाबी गरेका थिए। फक्स न्यूजसँगको अन्तर्वार्तामा नेतान्याहूले इजरायललाई भारतबाट ठूलो समर्थन रहेको बताएका हुन्। उनले भनेका छन्, ‘हाम्रा केही अन्य साथीहरू छन्, जस्तै भारत भनिने सानो देश। यसको १.४ अर्ब मानिसहरू छन्, हामीलाई त्यहाँ जबरदस्त समर्थन छ।’
नेतान्याहूले आफूले अमेरिकी उपराष्ट्रपति भान्सलाई सम्मान गर्ने र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा इजरायलले पाएको सबैभन्दा ठूलो मित्र मान्ने बताए। तर भान्सले भनेका सबै कुरामा आफू सहमत हुन नसक्ने कुरा उनले स्पष्ट पारेका थिए।
नेतान्याहूको यो टिप्पणी भान्सले इजरायललाई आफ्नो एकमात्र शक्तिशाली सहयोगीसँग नलड्न चेतावनी दिएको केही हप्तापछि आएको हो। इरानसँगको युद्धविरामका सन्दर्भमा ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भान्सले भनेका थिए, ‘यदि म इजरायली सरकारको मन्त्रिपरिषद्मा भएको भए, म संसारमा कतै बाँकी रहेको एक मात्र शक्तिशाली सहयोगीमाथि आक्रमण गर्ने थिएन्।’
नेतान्याहूले विशेष गरी फेसबुक जस्ता सामाजिक सञ्जालमा भारतीय प्रयोगकर्ताहरूबाट प्राप्त हुने अत्यधिक समर्थनबाट आफू प्रभावित भएको बताएका छन्। धेरै देशहरूमा सामाजिक सञ्जालमा इजरायल विरोधी र यहूदी विरोधी सामग्री राख्नु फेसनजस्तो बने पनि ती देशका नेताहरूले निजी रूपमा इजरायलसँग सम्झौता, रक्षा सहयोग, एआई र साइबर सुरक्षा सम्बन्धी सहकार्य खोज्ने गरेको उनको दाबी थियो।
यसैबिच, नेतान्याहूले लेबनानप्रति आफ्नो अडान पनि स्पष्ट पारे। उनले दक्षिणी लेबनानका केही क्रिश्चियन गाउँहरूले हिजबुल्लाह कट्टरपन्थीहरूबाट जोगाउन इजरायलमा गाभिन अनुरोध गरेको दाबी गरे। तर लेबनानी क्रिश्चियन गाउँका स्थानीय नेताहरूले यो दाबीलाई ‘बनावटी’ र ‘पूर्ण रूपमा असत्य’ भन्दै लेबनानी राष्ट्रिय पहिचानप्रति प्रतिबद्ध रहेको बताएका छन्।
नेतान्याहूको यस दाबीपछि भारतमा नयाँ घरेलु राजनीतिक बहस सुरु भएको छ। विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले नेतान्याहूको भनाइको कडा विरोध गर्दै लाखौँ भारतीय नागरिकले गाजा, वेस्ट बैंक, इरान र लेबनानमा इजरायलले गरेको सैन्य कारबाहीलाई समर्थन नगर्ने बताएको छ। कांग्रेस नेता जयराम रमेशले प्रधानमन्त्री नरेन्द्र मोदीको मौनताको आलोचना गर्दै इजरायली नीतिको पूर्ण समर्थनले प्यालेस्टाइनप्रतिको भारतको ऐतिहासिक प्रतिबद्धतालाई धोका दिएको रूपमा व्याख्या गरेका छन्।
अर्कोतर्फ, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरूले यस टिप्पणीलाई प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतको बढ्दो भूराजनीतिक महत्वको प्रमाणका रूपमा लिएका छन्। उनीहरूले भारत र इजरायलबिच रक्षा, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा र आतंकवादविरुद्धको बलियो रणनीतिक साझेदारीका कारण यो जनभावना प्रगाढ बनेको बताएका छन्।
प्रकाशित: २४ असार २०८३ १५:१८ बुधबार





