फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिनाले विश्वकपका रेफ्रीहरूको इमानदारिता र निष्पक्षतामाथि कसैले प्रश्न उठाउन नसक्ने बताएका छन्।
विश्वकपको अन्तिम १६ को खेलमा इजिप्ट अर्जेन्टिनासँग ३-२ ले पराजित भएपछि इजिप्ट फुटबल संघ (इएफए) ले रेफ्रीहरूमाथि पक्षपात र दोहोरो मापदण्डको आरोप लगाएको थियो।
इजिप्टले २-० को सुरुवाती अग्रता गुमाउँदै खेल हारेपछि प्रशिक्षक होसाम हसनले आफ्ना टोलीमाथि अन्याय भएको दाबी गरेका थिए। उनले साविक विजेता अर्जेन्टिना र स्टार खेलाडी लियोनेल मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न फिफाले यस्तो प्रपञ्च रचेको आरोपसमेत लगाएका थिए।
इजिप्टले उक्त खेल खेलाउने रेफ्रीहरूलाई विश्वकपबाटै निष्कासन गर्न र छानबिन गर्न फिफासमक्ष माग गरेको थियो।
आरोपको प्रतिवाद गर्दै रेफ्री प्रमुख कोलिनाले यस्ता निराधार आरोपहरूले रेफ्री र उनीहरूका परिवारको सुरक्षामा खतरा उत्पन्न गराउन सक्ने चेतावनी दिए।
‘विश्वकप म्याच अफिसियलहरूको इमानदारिता अकाट्य छ। फिफाको रेफ्रीङ प्रणालीलाई कसैले प्रभाव पार्न सक्दैन, स्वयम् फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि यसमा हस्तक्षेप गर्न सक्नुहुन्न,’ कोलिनाले भने, ‘रेफ्रीहरूले पूर्ण स्वतन्त्रताका साथ निष्पक्ष निर्णय लिने गर्छन्।’
कोलिनाले खेलका विवादित निर्णयहरूको बचाउ गर्दै भीएआरको भूमिका सही रहेको दाबी गरे। खेलको दोस्रो हाफमा इजिप्टका मोस्ताफा जिकोले गरेको गोल भीएआरले रद्द गरिदिएको थियो।
मुभको सुरुवातमा इजिप्टका मारवान अतियाले अर्जेन्टिनाका डिफेन्डर लिसान्ड्रो मार्टिनेजको खुट्टामा कुल्चिएको देखिएकाले उक्त निर्णय सही भएको उनले बताए।
त्यस्तै, खेलको अन्त्यतिर इजिप्टका मोहम्मद सलाह र अर्जेन्टिनाका जुलियन अल्भारेजबीच पेनाल्टी क्षेत्रमा भएको ट्याकललाई सामान्य फुटबल सम्पर्क मान्दै पेनाल्टी नदिने निर्णय पनि सही भएको उनले बताए। त्यसको केही सेकेन्डमै एन्जो फर्नान्डेजले अर्जेन्टिनाका लागि विजयी गोल गरेका थिए।
प्रकाशित: २५ असार २०८३ १६:०९ बिहीबार





