२८ असार २०८३ आइतबार
image/svg+xml
अर्थ

हामी विद्युत बचतको कुरा गर्छौं, तर उद्योगीहरू डरले डिजेल जेनेरेटर किन्न बाध्य छन्: ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मुलुकमा विद्युत बचत (सरप्लस) भएको दाबी गरिए पनि उद्योगी व्यवसायीहरू अझै पनि लोडसेडिङको डरले डिजेल जेनेरेटर किन्न बाध्य हुनु दुखद रहेको बताएका छन्।

नेपाल रिपब्लिक लिमिटेडद्वारा आयोजित ‘पावर नेपाल कन्कलेभ २०८३’ मा बोल्दै मन्त्री श्रेष्ठले राष्ट्रिय प्रसारण ग्रिडको अविश्वसनीयताका कारण निजी क्षेत्र ढुक्क हुन नसकेको टिप्पणी गरे।

उत्पादित बिजुली स्वदेशमै खपत गराउन ग्रिडको विश्वसनीयता पहिलो सर्त भएको उल्लेख गर्दै उनले विद्युत प्राधिकरणको वितरण प्रणालीमाथि प्रश्न उठाए।

‘हाम्रो ग्रिडको अवस्था यस्तो छ कि उद्योगीहरूले डरकै कारण ब्याकअपका लागि जेनेरेटर राख्नुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘जबसम्म निजी क्षेत्रले राष्ट्रिय ग्रिडलाई शतप्रतिशत विश्वास गर्न सक्दैन र जेनेरेटरको प्रयोग पूर्ण रूपमा रोकिँदैन, तबसम्म हामीले वास्तविक समृद्धिको दाबी गर्न मिल्दैन।’

हालै मात्र पश्चिम नेपालको भ्रमण गरेर फर्किएका मन्त्री श्रेष्ठले ग्रामीण र औद्योगिक क्षेत्रमा अझै पनि बारम्बार अघोषित र अनियन्त्रित रूपमा विद्युत कटौती हुने गरेको जनगुनासो सुनेको बताए।

‘हामी बिजुली बचत भयो भन्दै गर्दा पश्चिम नेपालका जनता र व्यवसायीहरूले दिनहुँ बत्ती निभ्ने समस्या झेलिरहनु आफैँमा विरोधाभासपूर्ण छ,’ उनले थपे, ‘यस्तो अवस्थामा साँचो अर्थमा उत्तरदायित्व बहन गर्नु भनेको उपभोक्तालाई पूर्ण रूपमा भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराउनु हो।’

खपत वृद्धिको रणनीतिका विषयमा बोल्दै मन्त्री श्रेष्ठले बर्खाको बिजुलीलाई केवल घरेलु भान्सा र कोठामा मात्र सीमित राखेर खपत बढाउन नसकिने स्पष्ट पारे। उनले ठुला उद्योग, डाटा सेन्टर, व्यावसायिक प्रतिष्ठान र लक्जरी पर्यटन उद्योगहरूलाई सहुलियत दिएर ग्रिड प्रणालीमा आबद्ध गराउनुपर्ने र सोही अनुसारको माग सिर्जना गर्नुपर्नेमा जोड दिए।

नेपाल विद्युत प्राधिकरणलाई नीतिगत रूपमा झकझक्याउँदै उनले अब साधारण विद्युत व्यापार मात्र नभई नवप्रवर्द्धनात्मक विद्युत खरिद, वित्तीय सुदृढीकरण र संरचनागत अनुशासनमा ध्यान दिन निर्देशन दिए।

आन्तरिक बजारको सुदृढीकरणसँगै भारत, बंगलादेश र भविष्यमा म्यानमार तथा थाइल्यान्डसम्म विद्युत व्यापारको सञ्जाल फैलाउन सरकारले आन्तरिक र बाह्य दुवै पक्षलाई समानान्तर रूपमा अघि बढाउने उनको भनाइ थियो।

प्रकाशित: २४ असार २०८३ १५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App