मोरङको सुन्दरहरैँचा नगरपालिकाको प्रशासकीय केन्द्र सार्ने सिफारिसलाई कोसी प्रदेश सरकारले स्वीकृति प्रदान गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सुन्दरहरैँचाको केन्द्र सार्ने सिफारिसलाई स्वीकृत गर्ने निर्णय गरेको हो।
सुन्दरहरैँचा नगरपालिकाको हाल वडा नम्बर १२ मा रहेको केन्द्रलाई वडा नम्बर ८, साविक मृगौलिया–९ मा सार्ने नगरसभाको सिफारिसलाई स्वीकृत गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिए।
यस्तै, प्रदेश सरकारले स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन नियमावलीका लागि प्रदेश लोक सेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ। बैठकले प्रदेश युवा परिषद्सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गरेको छ। साथै, वृद्धिमुखी कार्यान्वयन कार्यविधि र रोजगार प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२ लाई खारेज गर्ने निर्णयसमेत गरेको छ।
बैठकले कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, कलवलगुडी, झापाको कार्यकारी निर्देशकमा इटहरी उपमहानगरपालिका–४ की अनिता गुरागाईंलाई नियुक्त गर्ने निर्णय गरेको छ। नियुक्तिलगत्तै गुरागाईंलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथग्रहण गराएका थिए।
प्रकाशित: २२ श्रावण २०८३ २१:०९ शुक्रबार





