दक्षिण कोरिया फुटबल संघ (केएफए) माथि खेलमा आफ्नो पक्षमा निर्णय गराउन विदेशी रेफ्रीहरूलाई यौन सेवा उपलब्ध गराएको गम्भीर आरोप सार्वजनिक भएको छ।
दक्षिण कोरियाली टेलिभिजन संस्था जेटीबीसीले सार्वजनिक गरेको सन् २०१६ को सरकारी छानबिन प्रतिवेदनमा सन् २०११ र २०१२ बीच केएफएका केही अधिकारीहरूले विदेशी रेफ्रीहरूलाई प्रभावित पार्ने उद्देश्यले यस्तो व्यवस्था गरेको उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार जापान, संयुक्त अरब इमिरेट्स, इरान, बहराइन र उज्बेकिस्तानका रेफ्रीहरूले दक्षिण कोरियाका खेलमा जिम्मेवारी सम्हालेका थिए। सन् २०११ को मार्चदेखि २०१२ को मार्चसम्म सात पटक विदेशी रेफ्रीहरूको आतिथ्यका नाममा खर्च भएको र त्यसमा २० जना खेल अधिकारी संलग्न रहेको जनाइएको छ।
छानबिनका क्रममा एउटा घटनामा सन् २०१२ को विश्वकप छनोटअन्तर्गत दक्षिण कोरिया र कुवेतबीचको खेलअघि सियोलको गाङ्नाम क्षेत्रमा रहेको मसाज केन्द्रमा दुई रेफ्रीका लागि पाँच लाख वान खर्च गरिएको भेटिएको थियो। सरकारी प्रतिवेदनले उक्त खर्चमा यौन सेवासमेत समावेश रहेको निष्कर्ष निकालेको बताइएको छ।
केएफएको रेफ्री विभागसँग सम्बन्धित एक पूर्व अधिकारीले उक्त भुक्तानी आफूले व्यवस्थापन गरेको स्वीकार गरेको प्रतिवेदनमा उल्लेख छ। उनका अनुसार विदेशी रेफ्रीहरूलाई सहज बनाउन र खेलमा दक्षिण कोरियाको पक्षमा अनुकूल निर्णय आउने अपेक्षासहित यस्तो व्यवस्था गरिएको थियो।
यद्यपि, कथित रूपमा यौन सेवा लिएका रेफ्रीहरूको नाम सार्वजनिक गरिएको छैन। प्रतिवेदनमा सन् २०११ र २०१२ का अन्य दुई घटनामा समेत चार रेफ्री र एक रेफ्री सुपरभाइजरलाई मसाज केन्द्रमार्फत यौन सेवा उपलब्ध गराइएको उल्लेख गरिएको छ।
केएफएका एक अधिकारीले घटनाबारे प्रतिक्रिया दिँदै करिब १५ वर्षअघि केही अनुचित गतिविधि भएको हुन सक्ने बताएका छन्। तर, अहिले संघले कडा नैतिक मापदण्ड पालना गरिरहेको उनको दाबी छ। संघले पाँच वर्षसम्म मात्र अभिलेख सुरक्षित राख्ने भएकाले पुराना घटनाबारे थप पुष्टि गर्न कठिन रहेको पनि उनले बताएका छन्।
यसअघि पनि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्तिमा अनियमितता र आफन्तवादको आरोपमा केएफए अनुसन्धानको दायरामा परेको थियो। यही अनुसन्धानका क्रममा प्रहरीले संघको मुख्य कार्यालयमा समेत खानतलासी गरेको बताइएको छ।
फुटबलका जानकारहरूका अनुसार रेफ्रीलाई कुनै पनि माध्यमबाट प्रभावित पार्ने प्रयास खेलको निष्पक्षतामाथिको गम्भीर प्रहार हो। आरोप प्रमाणित भएमा यसले दक्षिण कोरियाली फुटबलको अन्तर्राष्ट्रिय प्रतिष्ठामा समेत असर पार्न सक्ने विश्लेषण गरिएको छ।
प्रकाशित: २२ श्रावण २०८३ २१:०४ शुक्रबार





