२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सरकारसँग अमरेशको आक्रोश : यो राज्य संयन्त्र कसरी चलेको छ?

सांसद अमरेशकुमार सिंहले उपचार नपाएर काभ्रेका एक दम्पतीले सुनकोसीमा हाम फालेको घटनालाई लिएर सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। उनले उक्त घटनालाई राज्यको अवस्थाको ऐना भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत सिंहले काभ्रेको कुन्दाबेँसीका केदारनाथ पराजुली र उनकी श्रीमती उपचार नपाएर सुनकोसीमा हाम फालेको विषय गम्भीर रहेको उल्लेख गरेका छन्। श्रीमतीलाई क्यान्सरको उपचार गराउन नसक्दा दुवै जना एकैपटक खोलामा हाम फाल्नु सामान्य घटना नभएको उनको भनाइ छ।

उनले उपचारको अभावमा गरिब नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था रहेको भन्दै सरकारको संवेदनशीलतामाथि प्रश्न उठाएका छन्।

सिंहले लेखेका छन्, ‘गरिबले उपचार पाइरहेका छैनन्, गृहिणीले ग्यास पाइरहेका छैनन्, युवाले रोजगार पाएका छैनन्, किसानले मल पाएका छैनन्, गाउँघरका जनताले सिटामोल पाएका छैनन्।’

यी समस्यालाई जोड्दै उनले राज्य संयन्त्रको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। ‘यो राज्य संयन्त्र कसरी चलेको छ? यसमा राज्य संवेदनशील हुनुपर्ने होइन?’ भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

सिंहको अभिव्यक्तिले स्वास्थ्य उपचार, रोजगारी, दैनिक उपभोग्य वस्तुको उपलब्धता र कृषि सामग्रीको अभावजस्ता आधारभूत समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने विषय उठाएको छ। पछिल्लो घटनालाई उनले नागरिकले भोगिरहेको संकट र राज्यको जिम्मेवारीबीचको दूरी देखाउने उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

प्रकाशित: २२ श्रावण २०८३ २१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App