५ श्रावण २०८३ मंगलबार
image/svg+xml
अर्थ

नेपाल एयरलाइन्सको ढिलासुस्तीप्रति पूर्व भारतीय सचिवले भने- यसरी पर्यटन र खपत बढ्दैन

भारत सरकारका पूर्व सचिव एवं लेखक अनिल स्वरुपले नेपाल वायुसेवा निगमको गैरजिम्मेवार र ढिलासुस्तीपूर्ण कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन्।

बुधबार आयोजित ‘पावर नेपाल कन्कलेभ २०८३’ मा बोल्दै उनले राष्ट्रिय ध्वजावाहकको यस्तो कमजोर सेवाले मुलुकको पर्यटन क्षेत्र मात्र नभई समग्र आर्थिक गतिविधि र ऊर्जा खपत बढाउने लक्ष्यमा ठुलो धक्का पुग्ने दाबी गरे।

सम्मेलनमा आफ्नो हालैको तितो अनुभव सुनाउँदै पूर्व सचिव स्वरुपले नेपाल एयरलाइन्सले विना कुनै सूचना उडान रद्द गर्ने र ढिलाइ गर्ने गरेको गुनासो गरे।

‘दिउँसो ४ बजेको उडान राती १२ बजेसम्म सारियो, एयरपोर्टमा सोधपुछ गर्दा कर्मचारीहरूबाट कुनै जिम्मेवार जवाफ पाइएन,’ उनले भने, ‘अन्ततः हामी बिहान २:३० बजे मात्र काठमाडौं ओर्लियौं। उड्डयन क्षेत्रमा सञ्चार र जिम्मेवारीको यस्तो चरम अभावले विदेशी पर्यटक र लगानीकर्तामा कस्तो सन्देश जाला ?’

मुलुकको ऊर्जा खपत बढाउन पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको भन्दै उनले यातायात र सञ्चार जस्ता आधारभूत सेवा बलियो नभएसम्म विदेशी पर्यटकहरू नआउने बताए।

‘नेपालले बिजुली खपत बढाउन सुविधायुक्त पर्यटन र ठुला होटलहरू खोल्ने कुरा त गरिरहेको छ, तर पर्यटक भित्र्याउने पहिलो माध्यम हवाई सेवा नै यति फितलो भएपछि खपत कसरी बढ्छ ?’ उनले प्रश्न गरे।

नेपाल र भारत दुवै लोकतान्त्रिक देश भएकाले यहाँ योजनाहरूको बाढी नै आए पनि कार्यान्वयन शैली कमजोर हुनु नै साझा समस्या रहेको उनले बताए। ऊर्जा र पूर्वाधारका ठुला योजनाहरू सफल बनाउन कागजी नीतिमा मात्र सीमित नभई सेवा प्रवाह र व्यवस्थापकीय कार्यशैली सुधार गर्नुपर्ने उनको जोड थियो।

सरकारी निकायहरूमा हुने निर्णय प्रक्रियाको ढिलासुस्ती अन्त्य गर्न उनले फाइल प्रणालीलाई तत्काल डिजिटल ट्र्याकिङमा लैजान सुझाव दिए।

भारतले यही डिजिटल पारदर्शिताका कारण १५ महिनामै ५ लाख करोड भारुका आयोजनाहरू फत्ते गरेको उदाहरण प्रस्तुत गर्दै उनले नेपालले पनि निर्णय प्रक्रियालाई पारदर्शी र छिटोछरितो बनाउनुपर्ने औंल्याए।

प्रकाशित: २४ असार २०८३ १५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App