२९ असार २०८३ सोमबार
image/svg+xml
अर्थ

विद्युत उत्पादन बढे पनि प्रतिव्यक्ति खपत न्यून हुनु चिन्ताजनक: ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ अघि बढे पनि प्रतिव्यक्ति ऊर्जा खपत निकै कम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

बुधबार नेपाल रिपब्लिक लिमिटेडद्वारा आयोजित ‘पावर नेपाल कन्कलेभ २०८३’ मा बोल्दै मन्त्री श्रेष्ठले विद्युतको उपलब्धता बढे पनि गुणस्तरीय पूर्वाधारको अभावमा नागरिकले अझै पनि लोडसेडिङ व्यहोर्नुपरेको यथार्थ स्वीकार गरे।

एक दशकअघि नेपाल चरम लोडसेडिङ र ऊर्जा अभावबाट गुज्रिरहेको स्मरण गर्दै मन्त्री श्रेष्ठले विगत १० वर्षमा देशको जलविद्युत उत्पादन क्षमता उत्साहजनक रूपमा बढेको बताए।

पहिले १ हजार मेगावाटभन्दा कम रहेको विद्युत उत्पादन क्षमता हाल बढेर ३ हजार मेगावाट नाघेको जानकारी दिँदै उनले यस सफलताका लागि निजी क्षेत्र, सरकारी निकाय र इन्जिनियरहरूको योगदानको प्रशंसा गरे।

उत्पादन बढेर वर्षायाममा विद्युत बढी भए पनि नेपालको प्रतिव्यक्ति ऊर्जा खपत ४०० देखि ४५० किलोवाट घण्टा मात्र हुनु पर्याप्त नभएको मन्त्री श्रेष्ठको भनाइ थियो।

‘छिमेकी भारतको प्रतिव्यक्ति खपत १५ सय र थाइल्यान्डको २५ सय किलोवाट घण्टा हुँदा नेपाल विश्वमै पुछारतिर पर्नु विडम्बनापूर्ण छ,’ उनले भने, ‘त्यसैले अब हामीले विद्युत उत्पादनसँगै आन्तरिक खपत बढाउन विशेष ध्यान दिनुपर्छ।’

सरकारले सन् २०३० सम्म प्रतिव्यक्ति खपत १५ सय किलोवाट घण्टा पुर्‍याउने लक्ष्य राखेको उनले जानकारी दिए।

मन्त्री श्रेष्ठले नेपाली बिजुलीलाई केवल वर्षाको समयमा भान्सा र सुत्ने कोठामा मात्र सीमित राखेर खपत बढाउन नसकिने स्पष्ट पारे।

ऊर्जा खपत बढाउनका लागि नेपालमै ठुला र भारी उद्योगहरू, डाटा सेन्टर, व्यावसायिक प्रतिष्ठान र सुविधायुक्त पर्यटकीय क्षेत्रहरूलाई आकर्षित गर्नुपर्नेमा उनले जोड दिए।

उत्पादित विद्युत स्वदेशमै उत्पादनमुखी क्षेत्रमा खपत गराएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सरकारले नयाँ योजना ल्याउने उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले पश्चिमी नेपालका जनताले अझै पनि गुणस्तरीय र भरपर्दो विद्युत नपाएको गुनासो गरिरहेको तर्फ ध्यान आकर्षण गराए।

‘हामी ऊर्जा जगेडा (सरप्लस) को कुरा गरिरहेका छौं, तर अझै पनि कतिपय क्षेत्रमा अघोषित विद्युत कटौती र ट्रिपिङको समस्या छ,’ उनले थपे, ‘उद्योगीहरूले ब्याकअपका लागि डिजेल जेनेरेटर राख्नुपर्ने अवस्थाको अन्त्य नभएसम्म हामीले साँचो अर्थमा फड्को मार्न सक्दैनौं।’

नेपाल विद्युत प्राधिकरणमा वित्तीय अनुशासन र नीतिगत सुधारको खाँचो औंल्याउँदै मन्त्री श्रेष्ठले विद्युत खरिद सम्झौता मोडेलमा नवप्रवर्तन ल्याउन आवश्यक रहेको बताए।

उनले आन्तरिक बजारको सुदृढीकरणसँगै भारत र बंगलादेशसँगको अन्तरदेशीय विद्युत व्यापारलाई रणनीतिक रूपमा अघि बढाइने र भविष्यमा म्यानमार तथा थाइल्यान्ड जस्ता पूर्वी एसियाली मुलुकसम्म नेपाली विद्युत निर्यातको मार्ग प्रशस्त गरिने विश्वास व्यक्त गरे।

प्रकाशित: २४ असार २०८३ १५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App