कोही हाकुपटासीमा, कोही धोती–कुर्तामा, कोही थारु भेषभूषामा, कोही गुरुङ पहिरनमा त कोही दौरासुरुवाल–कालो कोटसँग भादगाउँले वा ढाका टोपीमा सजिएका थिए। कोहीले त विद्यालय पोसाकमै झोला बोकेका थिए।
सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउन बिहीबार आयोजित समारोह संवैधानिक औपचारिकता मात्र थिएन। त्यो समारोह सिंगो नेपालको प्रतिनिधित्व गर्ने सांस्कृतिक उत्सव पनि थियो।
एउटै सभाहलमा यति धेरै सांस्कृतिक विविधता एकैपटक देखिनु आफैंमा एउटा जीवित प्रदर्शनी जस्तै थियो। सांसदले नेपाली भाषासँगै ६३ वटा अन्य मातृभाषामा शपथ लिँदा भएको झंकारले संसद् भवनलाई तरगिंत बनायो। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदले औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ लिए। शपथ प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गराएका थिए।
शपथका शब्दहरू उच्चारण भइरहँदा कतिपयको अनुहारमा उत्साह देखिन्थ्यो भने कतिपयमा जिम्मेवारीको गम्भीरता। संसद्मा नयाँ पुस्ताको प्रवेशसँगै मुलुकले परिवर्तनको अपेक्षा गरेको छ। संसद् सचिवालयका अनुसार ६३ सांसदले नेपालीबाहेक आफ्नै मातृभाषामा शपथ लिए। दशकौंसम्म केन्द्रिकृत भाषिक संरचनामा सीमित रहेको राज्य प्रणाली अब विस्तार हुँदैछ। जहाँ स्थानीय भाषा, संस्कृति र पहिचानले आफ्नो स्थान खोज्दै मात्र छैन, स्थापित पनि हुँदैछ।
बालेन्द्रको प्रतीकात्मक उपस्थिति
शपथ समारोहका आकर्षक थिए– प्रधानमन्त्री बन्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं सांसद बालेन्द्र शाह। शाह किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’ पहिरनमा थिए। सेतो दौरा–सुरुवाल, भादगाउँले कालो टोपी र कालो कोटमा चम्किएको सिलाम साक्मा पहिरनले धेरैको ध्यान खिच्यो। किराती संस्कृतिमा सिलाम साक्मा शुभको प्रतीक मानिन्छ। यसले अपशकुन टार्ने र सकारात्मक ऊर्जा ल्याउने विश्वास गरिन्छ।
‘मधेसको छोरो भादगाउँले टोपीमा सजिएर सिलाम साक्मा लगाउँदा सिंगो मुलुकले शपथ लिएको महसुस भयो’, सामाजिक सञ्जालमा निरज अर्यालले लेखेका छन्। पहिचानको राजनीति केवल विभाजन होइन, समन्वय पनि हुन सक्छ। शाहको पहिरनले त्यही समन्वयको सन्देश दिएको थियो– मधेश, पहाड, हिमाल, जनजाति सबैबिच सद्भाव कायम रहिरहनुपर्छ।
रचनात्मक प्रतिपक्षको भूमिकामा श्रम संस्कृति
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले शपथ समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो पार्टीले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। ‘प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेही बनाउन प्रश्न गर्छौं, सहयोग गर्छौं,’ उनले भने, ‘सरकारले गर्नुपर्ने काममा प्रतिपक्षले रचनात्मक सहयोग गर्नेछ।’
उनको अभिव्यक्तिले नेपाली राजनीतिमा आवश्यक परिपक्वताको संकेत गर्छ। प्रतिपक्ष केवल विरोधका लागि होइन, सुधारका लागि पनि हुनुपर्छ भन्ने सन्देश उनले दिएका छन्।
युवा पुस्ताको प्रवेशले परिवर्तनको संकेत
यसपटक प्रतिनिधिसभामा युवा सांसदको संख्या उल्लेख्य छ। संसद्मा युवाको प्रवेशले राजनीतिक शैलीमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। तर चुनौती पनि उत्तिकै छन्। उत्साहलाई नीतिगत परिणाममा रूपान्तरण गर्न सके मात्रै उनीहरू परीक्षामा उत्तीर्ण हुनेछन्।
स्कुल पोसाकमा अन्सारी
प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण समारोहमा बारा क्षेत्र नं. ४ बाट निर्वाचित रास्वपा सांसद रहरबर अन्सारी फरक पहिरनमा देखिए। उनी स्कुल पोसाकमा झोला बोकेर शपथमा सहभागी भएका थिए। उनले आफूले विद्यालय जीवनप्रति सम्मान जनाउन यस्तो पहिरन रोजेको बताए। ‘मेरो जीवनको यात्रा विद्यालयबाट सुरु भएको हो,’ उनले भने, ‘स्कुल पठाउने र पठाउन नसक्ने सबै अभिभावकप्रति सम्मान व्यक्त गर्न म यसरी यहाँ आएको हुँ।’
शपथ समारोहमा देखिएको भेषभूषा केवल सौन्दर्यको विषय थिएन । हरेक पहिरनले एउटा कथा बोकेको थियो। थारु पहिरनले तराईको इतिहास, गुरुङ पोसाकले हिमाली संस्कृति। ढाका टोपीले राष्ट्रिय पहिचान र सिलाम साक्माले आदिवासी परम्परा बोकेको अनुभूति सबैले गरे।
राजनीतिमा प्रतीकको ठुलो भूमिका हुन्छ। कहिलेकाहीं एउटा पहिरनले पनि हजारौं शब्दभन्दा धेरै कुरा भन्छ। जब विभिन्न पहिचान एउटै संविधानअन्तर्गत एकजुट हुन्छन्, तब मात्र लोकतन्त्र बलियो हुन्छ।
अब भाषण होइन, काम चाहिन्छ
शपथसँगै सांसदको औपचारिक यात्रा सुरु भएको छ। जनताको अपेक्षा पनि यहींबाट सुरु हुन्छ। जनताले, रोजगारी, सुशासन, भ्रष्टाचार नियन्त्रण, आधारभूत सेवा सुधार, समावेशी विकास चाहेका छन्। शपथका शब्दहरूलाई व्यवहारमा उतार्न सक्नु नै सांसदको सफलताको मापन हुनेछ। हाकुपटासीदेखि ढाका टोपीसम्म, सिलाम साक्मादेखि धोती–कुर्तासम्म, सबैले एउटै सन्देश दिएका छन् - नेपाल विविध छ तर विभाजित छैन।
प्रकाशित: १३ चैत्र २०८२ ०७:११ शुक्रबार




