२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ६:२ पूर्वाह्न
राजनीति

जनकपुर क्षेत्र विकासको समस्या समाधानको पहल सुरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बृहत्त जनकपुर क्षेत्र विकास परिषद्मा देखिएको दीर्घकालीन समस्या समाधानका लागि मधेस प्रदेशका सभामुखसहित धनुषा र महोत्तरी क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग विशेष छलफल गरेका छन् ।  

परिषद्का प्रतिनिधिसँग पटक–पटकको संवादबाट समस्या हल नहुँदा मन्त्री पाण्डेले संघीय सांसदहरूसँग प्रत्यक्ष छलफल गरेका हुन् । छलफलमा मन्त्री पाण्डेले परिषद् स्थापनाकालदेखि नै यसमा विविध समस्या रहँदै आएको स्मरण गराउँदै भने, 'परिषद् लामो समयदेखि समस्याग्रस्त छ, विनियमावली नबन्नु र संरचनागत अस्पष्टता मुख्य चुनौती बनेको छ।'

छलफलमा सांसदहरूले ९ सय बिगाहा जग्गा अपचलनमा परेको भन्ने विषयमा पनि गम्भीर छानबिन हुनुपर्ने धारणा राखेका थिए ।  

सांसदहरूले परिषद्को हालको संरचनाले काम गर्नै नसक्ने स्थिति सिर्जना भएको जनाउँदै यसको पुनःसंरचना अपरिहार्य रहेको बताउँदै जनकपुर क्षेत्रको ऐतिहासिक र धार्मिक महत्वलाई दृष्टिगत गर्दै परिषद्को प्रभावकारिता वृद्धि गर्न माग गरे ।

धनुषा र महोत्तरी क्षेत्रका सांसदहरूले यस्तो संवेदनशील विषयमा पहिलोपटक गम्भीर छलफल भएको भन्दै मन्त्री पाण्डेलाई धन्यवाद दिए ।  

मन्त्री पाण्डेले भने, 'सांसदहरूको सुझाव महत्वपूर्ण छन्। यसलाई कार्यान्वयनमा लैजान म स्वयं प्रतिबद्ध छु । जनकपुर क्षेत्रको समुचित विकासका लागि परिषद्को पुनरावलोकन र आवश्यक सुधारको कार्य अघि बढ्छ।'

जनकपुर क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र धार्मिक समृद्धिलाई संरक्षित गर्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरिएको परिषद् पछिल्ला केही वर्षयता निष्क्रिय जस्तै रहँदै आएको छ।

प्रकाशित: ८ श्रावण २०८२ २०:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App