गत भदौमा जेन-जी आन्दोलनका क्रममा विभिन्न प्रहरी चौकीमा भएको आगजनी तथा तोडफोडका कारण प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र त्रिभुवन विश्वविद्यालय (त्रिवि) का करिब १९ हजार परीक्षार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएका छन्।
घटनापछि दुवै निकायले पुनः परीक्षा लिनुपर्ने निर्णय गरे पनि विद्यार्थीहरूले भने त्यसको विरोध गर्दै वैकल्पिक मूल्याङ्कनको माग गरेका छन्।
भदौ २३ गते भएको जेन-जी आन्दोलनले भोलिपल्ट उग्र रूप लिँदा प्रदर्शनकारीहरूले विभिन्न स्थानका प्रहरी चौकीमा आगजनी र तोडफोड गरेका थिए।
परीक्षापछि सुरक्षाका लागि ती चौकीहरूमा राखिएका उत्तरपुस्तिकाहरू सोही आगजनीमा परेर जलेका हुन्, जसका कारण हजारौँ विद्यार्थीको वर्षभरिको मेहनत खेर गएको छ।
सिटिइभिटीका अनुसार, डिप्लोमा र प्रि-डिप्लोमा तहका १६,८८३ विद्यार्थीका करिब ६० हजार उत्तरपुस्तिका नष्ट भएका छन्।
परीक्षा उपनियन्त्रक दीपिका शर्माका अनुसार कोशी प्रदेशका ५ र बागमती प्रदेशका १८ गरी कुल २३ परीक्षा केन्द्रका उत्तरपुस्तिका जलेका हुन्।
‘उत्तरपुस्तिकाहरू सुरक्षाका लागि सम्बन्धित प्रहरी चौकीमा राखिएको थियो। आगजनीका कारण ती जलेर नष्ट भए,’ उपनियन्त्रक शर्माले भनिन्, ‘परिषद्को परीक्षा समितिको असोज १० गतेको बैठकले जलेका केन्द्रहरूको पुनः परीक्षा मंसिर ४ गते सञ्चालन गर्ने निर्णय गरिसकेको छ। मूल्याङ्कनका लागि पुनः परीक्षाको विकल्प छैन।’
परिषद्का सदस्य-सचिव महेश भट्टराईले पनि विद्यार्थीको भविष्य र विश्वस्तरको प्रतिस्पर्धाका लागि सही मूल्याङ्कन अनिवार्य रहेको बताउँदै पुनः परीक्षाको तयारी अघि बढाइएको जानकारी दिए।
पुनः परीक्षाको विरोधमा विद्यार्थी
यता, सिटिइभिटीका पीडित विद्यार्थीहरूले भने पुनः परीक्षा दिन अस्वीकार गरेका छन्।
उनीहरूले संघर्ष समिति गठन गरी परिषद्को निर्णय फिर्ता लिन माग गरेका छन्।
उत्तरपुस्तिका सुरक्षित राख्न नसक्नु परिषद्को लापरवाही भएको भन्दै उनीहरूले ६ बुँदे मागपत्रसमेत बुझाएका छन्।
विद्यार्थीहरूले आन्तरिक मूल्याङ्कन, प्रायोगिक अंक वा अन्य प्रमाणित विधि अपनाएर नतिजा प्रकाशन गर्न माग गरेका छन्।
त्रिविका डेढ हजार विद्यार्थी पनि प्रभावित
सोही घटनामा त्रिभुवन विश्वविद्यालयका करिब डेढ हजार विद्यार्थीको उत्तरपुस्तिका पनि जलेर नष्ट भएको छ।
परीक्षा नियन्त्रक सूर्यप्रसाद कलौनीका अनुसार स्नातक तहको व्यवस्थापन, शिक्षा र मानविकी संकायका आंशिक परीक्षार्थीहरू प्रभावित भएका छन्।
‘झापाको कन्काई बहुमुखी क्याम्पस, रौतहटको जनज्योति बहुमुखी क्याम्पस, दाङको सिद्धरत्ननाथ बहुमुखी क्याम्पस र काभ्रे बहुमुखी क्याम्पसका केन्द्रबाट संकलित उत्तरपुस्तिकाहरू जलेका हुन्,’ नियन्त्रक कलौनीले भने, ‘असोज २२ गते बसेको परीक्षा समितिको बैठकले पुनः परीक्षा लिने निर्णय गरेको छ। छिट्टै कार्यतालिका सार्वजनिक गरिनेछ।’
प्रकाशित: २३ आश्विन २०८२ ००:२३ बिहीबार





-1200x560-600x400.jpg)