२२ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

सुरक्षा संवेदनशीलताका कारण राष्ट्रपतिको नवदुर्गा दर्शन स्थगित

राष्ट्रपति रामचन्द्र पौडेलको भक्तपुरस्थित प्रसिद्ध नवदुर्गा मन्दिरको वार्षिक दर्शन कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ।

प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन राष्ट्रप्रमुखले गर्ने परम्परागत दर्शन यस वर्ष काठमाडौंमा जारी आन्दोलनका कारण उत्पन्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै स्थगित गरिएको हो।

नवदुर्गा मन्दिर व्यवस्थापन समितिका अनुसार, काठमाडौंमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै जारी आन्दोलनका कारण सुरक्षा व्यवस्था मिलाउन कठिन हुने भन्दै राष्ट्रपतिको सवारी नहुने खबर प्राप्त भएको हो।

राष्ट्रपतिको सट्टा राष्ट्रपति कार्यालयका सचिवले मन्दिरमा दर्शन गर्ने कार्यक्रम तय भएको समितिले जनाएको छ।

राष्ट्रपतिको आगमनको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा यो निर्णय आएको हो।

मंगलबार बिहानैदेखि मन्दिर परिसर र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो। सुरक्षाका लागि नेपाली सेनाको एक टुकडी गाडीसहित तैनाथ गरिएको थियो भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि बाक्लो उपस्थिति थियो।

यसैगरी, भक्तपुर नगरपालिकाले राष्ट्रपतिको सवारी हुने मार्गमा सरसफाइलाई तीव्रता दिएको थियो।

नगरपालिकाको पानी ट्याङ्करले सडकमा पानी छर्केर धुलो नियन्त्रण गर्ने र सरसफाइको काम गरिरहेको थियो। तर, अन्तिम समयमा कार्यक्रम स्थगित भएपछि सबै तयारीहरू रोकिएका छन्।

भक्तपुर नगरपालिका वडा नं. ९, कमलविनायक नजिकै रहेको यस मन्दिरमा प्रत्येक वर्ष बडादसैंको अन्तिम दिन, कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखले दर्शन गरी टीका-प्रसाद ग्रहण गर्ने विशिष्ट परम्परा रहिआएको छ।

प्रकाशित: २१ आश्विन २०८२ १५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App