नेपाल प्रिमियर लिग (एनपीएल)को चौथो संस्करण भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिने भएको छ। रङ्गशालाको पूर्वाधारको काम अन्तिम चरणमा पुगेकाले ‘फ्लर्ड लाइट’ जडानको काम अघि बढ्न सकेमा झण्डै एक वर्षपछि हुने एनपिएल खेल्न सकिने भएको हो।
एनपिएलको तेस्रो संस्करण सकिएका दिन प्रधानमन्त्री बालेन्द्र शाहले आठ वटा क्रिकेट क्लबलाई ‘होम एण्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरिसकेका छन्। यससँगै मङ्गलबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आठ वटै क्लबका सञ्चालकसँग यस विषयमा छलफल अघि बढाएका छन्।
छलफलमा सहभागी चितवन राइनोजका अध्यक्ष आयुस न्यौपानेले पूर्वाधार विकासमन्त्री अत्यन्तै सकारात्मक रहेकाले चौथो एनपिएल चितवनमा हुनेमा आफू आशावादी भएको जानकारी दिए। उनले भने, 'मन्त्रीज्यूसँगको छलफलमा चितवन र मूलपानीमा समेत अर्काे वर्ष खेल खेलाउन सकिने विषयमा छलफल भएको छ।'
रङ्गशालाको निर्माणको काम केही महिनामा सकिने भएकाले सङ्घीय सरकारले फ्लर्ड लाइड र प्राविधिक कामहरू गरेमा खेल खेलाउन समस्या नहुने देखिएको उनले बताए।
चितवनमा जनकपुर, लुम्बिनी, पोखराका क्लबका लागि नजिक र सहज हुने अध्यक्ष न्यौपाने बताउँछन्। प्रधानमन्त्री शाहले चितवन राइनोजको होम रङ्गशाला गौतमबुद्ध रङ्गशालालाई तोकेका छन्।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी अबको चार महिनाभित्रमा रङ्गशालाको पूर्वाधारको काम सकिने बताउँछन्। उनका अनुसार रङ्गशालाको ६८ प्रतिशत काम सम्पन्न भइसकेको छ। दुईवटै ‘टावर स्ट्रक्चर’को काम एकिएको छ। फिनिसिङको काम हुँदैछ। प्यारापिटको बस्ने ठाउँको काम सकिएर प्यारापिट पछाडिको ढलानको काम गर्ने तयारी गरिएको छ। समग्रमा प्यारापिट ८० प्रतिशत सम्पन्न भएको कार्यवाहक प्रमुख अधिकारी बताउँछन्।
ग्राउण्डको सब सर्फेसको ड्रिनेजको पाइप राख्ने काम सुरु भएको भन्दै उनले त्यसपछि गिट्टी राखेर पिचको काम अघि बढाइने जानकारी दिए। ड्रिनेजको र कम्पाउण्डको काम भइसकेको छ। उनका अनुसार पहिलो चरणको यो काम सकिँदै गर्दा १५ हजार जना बसेर क्रिकेट हेर्न सक्ने छन्। दोस्रो चरणको क्रमशः काम गर्ने योजना छ। दोस्रो चरणको काम सकिँदा ३० हजार जना क्षमताको रङ्गशाला बन्ने छ।
विसं २०७५ माघ १६ गते धुर्मुस–सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिका बीच सम्झौता भई प्रारम्भिक काम २०७६ मङ्सिरदेखि सुरु भएको थियो। फाउण्डेसनले आर्थिक स्रोत जुटाउन नसकेपछि २०७८ सालबाट निर्माण रोकिएको थियो। फाउण्डेशनले महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेपछि रङ्गशालाको पहिलो चरणको कामका लागि २०८१ साल असार २४ गते हिमालयन जेभिलाई भरतपुर महानगरपालिकाले ठेक्का दिएको थियो। ३० महिनाको समय दिएर भएको ठेक्का सम्झौताको मिति यही पुस २७ गते सकिँदै छ। कार्यवाहक प्रमुख अधिकारी त्यसको थप दुई महिनामा काम सक्ने अनुमान गर्छन्।
सुरुको सम्झौता रकम रु ७८ करोड ५० लाख ९१ हजार रहेकोमा हाल बढेर रु ८६ करोड २४ लाख ८४ हजार पुगेको छ। दोस्रो चरणको समेत काम सम्पन्न गर्न फ्लर्ड लाइटबाहेक सिभिल कामका लागि रु दुई अर्ब हाराहारी लाग्ने अनुमान रहेको कार्यवाहक प्रमुख अधिकारीले बताए। उनले भने, 'सङ्घीय सरकारले थप पूर्वाधार र फ्लर्ड लाइट राखेमा आउँदो एनपिएल यही खेल्न सकिन्छ।' भौगोलिक हिसाबले उपयुक्त ठाउँ भएको भन्दै उनले छिमेकी देशहरू भारत र पाकिस्तानको समेत खेल यही गर्न सकिने बताए।
बागमती प्रदेशका क्रिकेट निर्देशक अनिल अधिकारीले एनपिएलको चौथो संस्करण भरतपुरमा गर्नुपर्ने बताए। सरकार स्वयं सकारात्मक रहेकाले चौथो संस्करण यही हुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ। त्रिवि क्रिकेट रङ्गशालाको क्षमता १० हजार मात्रै भएको भन्दै उहाँले यहाँको पहिलो चरणको काम सकिँदै गर्दा १५ हजार र पछि ३० हजार दर्शक अट्ने भएकाले ठाउँ उपयुक्त भएको बताए। उनले भने, 'त्रिवि रङ्गशालामा नौ महिनामा सिट र फ्लर्ड लाइट राख्न सक्यौँ, यहाँ हामीसँग ११ महिना छ, किन सकिँदैन ?' अधिकारीले यहाँ राष्ट्रिय र अन्तरराष्ट्रिय खेल खेलाउन सकिने बताए। त्रिविमा सात वटा पिच छन् भने यहाँ पाँच वटा पिच बनाउन सकिने छ।
तराईका जिल्लाका खेलाडीका लागि भरतपुर उपयुक्त हुने अधिकारी बताउँछन्। चितवन जिल्ला क्रिकेट सङ्घका सचिव सुरज ज्ञवालीले मापदण्डअनुसार रङ्गशाला बनेकाले एनपिएलको चौथो संस्करण यहाँ गर्न सबैको साथ र सहयोग चाहिने बताए। उनले भने, 'एनपिएलको चौथो संस्करण गर्न यहाँ सकिन्छ, सरकार सकारात्मक रहेकाले हुन्छ भन्नेमा हामी ढुक्क छौँ।' छिमेकी जिल्लामा रहेका केही क्लबको खेल यहाँ गर्न सकिने उनले बताए।
भरतपुरबाट पोखरा, लुम्बिनी, जनकपुरजस्ता क्लबका लागि दूरीका हिसाबले चितवन सहज छ। खेलाडी र दर्शकका लागि बस्न होटलहरू सहज छन् भने खेल नहुँदा घुम्नका लागि चितवन राष्ट्रिय निकुञ्जलगायतका पर्यटकीयस्थल जिल्लामा रहेका छन्।
प्रकाशित: ९ मंसिर २०८३ १७:३८ बुधबार





-600x400.jpg)