२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

नेपालको विजयी सुरुवात, कुवेतमाथि ५८ रनको सानदार जित

ओपनर कुशल भुर्तेलको सानदार अर्धशतक र बलरहरूको अनुशासित तथा घातक प्रदर्शनको मद्दतमा नेपालले आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ।

ओमानमा सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो।

नेपालको कसिलो बलिङसामु कुवेतका ब्याट्सम्यानहरूले खुलेर खेल्न सकेनन्।

कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए भने यासिन पटेलले १९ र मीत भावसारले ११ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

नेपालको जितमा बलरहरूको प्रदर्शन उत्कृष्ट रह्यो। कप्तान रोहित पौडेलले किफायती बलिङ गर्दै २ ओभरमा मात्र ९ रन खर्चेर २ महत्त्वपूर्ण विकेट लिए।

त्यस्तै, ललित राजवंशी र सन्दीप लामिछानेले पनि समान २-२ विकेट हात पारे। सोमपाल कामीले २ ओभरमा मात्र ३ रन दिएर १ विकेट लिँदै कुवेतलाई दबाबमा राखेका थिए।

कुशल भुर्तेल र नन्दन यादवले पनि एक-एक विकेट आफ्नो नाममा लेखाए।

यसअघि, ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनाएको थियो।

नेपालको सुरुवात सुखद रहेन। ओपनर आसिफ शेख (२), कप्तान रोहितकुमार पौडेल (१६), कुशल मल्ल (४) र सन्दीप जोरा (५) सस्तैमा आउट भएपछि नेपाल ११.४ ओभरमा ६३ रनमा ४ विकेट गुमाएर संकटपूर्ण अवस्थामा पुगेको थियो।

एक छेउबाट विकेट झरिरहे पनि ओपनर कुशल भुर्तेलले धैर्यतापूर्वक ब्याटिङ गर्दै नेपाली इनिङ्सलाई सम्हालेका थिए।

उनले ५६ बलमा ६ चौका र ३ छक्कासहित अविजित ६६ रनको सानदार अर्धशतकीय पारी खेले।

अन्तिम ओभरहरूमा ब्याटिङमा आएका गुल्सन झाले मात्र ६ बलमा ३ छक्का प्रहार गर्दै २० रनको विस्फोटक योगदान दिए।

कुवेतका लागि चेन्थामारा अनुदीप र थदथिल राजेन्द्रन नवीनराजले समान २-२ विकेट लिएका थिए।

यो जितसँगै नेपालले प्रतियोगितामा महत्त्वपूर्ण २ अंक जोडेको छ।

प्रकाशित: २२ आश्विन २०८२ २३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App