प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढीपछि सुरूङभित्र फसेका नागरिकको उद्धारमा सरकारले ढिलाइ गरेको बताएका छन्।
प्रतिनिधि सभाको विशेष बैठकमा प्रधानमन्त्री बालेन शाहको सम्बोधनपछि बोल्दै उनले सरकारी ढिलासुस्ती र असंवेदनशीलताका कारण सुरूङभित्र भएको क्षति मृत्यु कि हत्या ? भनी प्रश्न उठाए।
सुरूङ उद्धारमा पहिलो ७२ घण्टा ‘गोल्डेन आवर’ मानिने भए पनि सरकारले निजी र अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन ढिलाइ गर्दा थप मानवीय क्षति भएको आङ्देम्बेको आरोप छ। सरकारले समयमै विज्ञहरूको कुरा नसुनेको र सात दिनपछि मात्रै आफैं खोज भनेर गैरजिम्मेवार बनेको उनले बताए।
सरकार विपद्को बेला उद्धारभन्दा प्रचारमा केन्द्रित भएको आरोप लगाउँदै उनले मन्त्रीहरू फिल्डमा काम गर्नुको साटो सामाजिक सञ्जालमा फोटो देखाउन व्यस्त रहेको टिप्पणी गरे।
उनले भने, ‘सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकमा र हल्लामा धेरै अल्झियो।’ पीडित परिवारले आफ्न्त खोज्दा उल्टै धम्की र दुर्व्यवहार खेप्नुपरेको भन्दै उनले सरकारको शैलीप्रति आक्रोश पोखे।
आङ्देम्बेले हाल ३ हजार ९ सय १६ जना नागरिक सम्पर्कविहीन रहेको तथ्याङ्क प्रस्तुत गर्दै तहगत सरकारहरूबीच समन्वयको चरम अभाव देखिएको उल्लेख गरे। संघले नेतृत्व गरेर प्रदेश र स्थानीय तहलाई परिचालन गर्नुपर्नेमा मन्त्री र दलीय संरचनाको समानान्तर गतिविधिले उद्धारमा अवरोध पुर्याएको उनको भनाइ थियो।
बाढीमा ज्यान गुमाएका नागरिकको शव पहिचान, डीएनए परीक्षण र ससम्मान परिवारलाई हस्तान्तरण गर्ने विषयमा समेत सरकार असंवेदनशील बनेको उनले बताए। साथै, राहत वितरण पहुँचका आधारमा नभई वास्तविक तथ्याङ्क भएका स्थानीय तहमार्फत पारदर्शी रूपमा वितरण गरिनुपर्नेमा उनले जोड दिए।
कांग्रेसले विपद् व्यवस्थापनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको र पार्टी सभापति गगनकुमार थापा प्रभावित क्षेत्रमा आफैँ खटिएको जानकारी दिँदै उनले प्रतिपक्ष संकटमा सधैँ साथ रहँदा पनि सरकार चुकेको बताए।
नेता आङ्देम्बेले विपद् व्यवस्थापन, दीर्घकालीन पुनर्स्थापना, पुनर्निर्माण र सरकारी कामको प्रभावकारी अनुगमनका लागि संसद्मार्फत तत्काल ‘संसदीय उच्चस्तरीय विशेष समिति’ गठन गर्न सरकारसँग माग गरेका छन्।
प्रकाशित: १७ भाद्र २०८३ १४:४९ बुधबार


-600x400.jpg)


-600x400.jpg)