६ वैशाख २०८१ बिहीबार
राजनीति

दल फेरिरहने नै शक्तिशाली

चन्द्रौटामा आयोजित संवाद कार्यक्रममा कपिलवस्तु ३ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मंगलप्रसाद गुप्तालाई एक युवकले प्रश्न सोधे, ‘यो चुनाव सकिएको कति दिनमा एमाले छाड्नुहुन्छ ?’ गुप्ताले सहजै उत्तर दिन सकेनन्, जसोतसो टार्ने प्रयास गरे। ती युवकले सोधेको प्रश्नजस्तै गुप्ताको दलबदलको सिलसिला पनि लामै छ।

पञ्चायतकालमा उनी सूर्यबहादुर थापानिकट थिए। २०४६ सालको राजनीतिक परिवर्तनपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरे। उनी २०४८ सालको निर्वाचनमा कपिलवस्तुको तत्कालीन निर्वाचन क्षेत्र ४ मा कांग्रेसबाट उम्मेदवार बने तर पराजित भए। २०५६ सालको निर्वाचनमा पनि सोही क्षेत्रमा चुनाव लडेका उनको हातमा हार नै हात लाग्यो। त्यसपछि २०६४ र २०७० सालमा भएका संविधानसभा सदस्य निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट उम्मेदवार भएका उनी दुवैपटक पराजित भए। २०७४ सालमा उनी संघीय समाजवादी फोरमबाट चुनाव लडे। त्यो चुनावमा पनि उनी पराजित भए। अहिले उनी एमालेबाट उम्मेदवार छन्। उनी उम्मेदवारी दर्ता गर्नुभन्दा केही समयअघि एमालेमा प्रवेश गरेका हुन्।  

यसरी दलबदल गरिरहेका गुप्ताले ती युवकको प्रश्नको सोझो जवाफ दिन नसकेका हुन्। पटकपटक दल बदले पनि गुप्ताको चुनाव लड्ने यात्रा रोकिएको छैन। उनी जुन पार्टीमा प्रवेश गर्छन्, त्यहाँ शक्तिशाली बन्छन् र टिकट पाउँछन्। टिकट पाउन सफल भए पनि गुप्ताका लागि हार मात्रै भागमा पर्दै आएको छ। गुप्ता मात्र होइन, उनका बाँकी प्रतिस्पर्धी पनि दलबदलसँगै शक्तिमा पुग्ने होडमा माहिर छन्। अन्य प्रतिस्पर्धी भने दल बदल्न मात्र होइन, जित्न पनि उत्तिकै माहिर छन्। सबैभन्दा माहिर पात्र हुन्, कांग्रेसका तर्फबाट उम्मेदवार बनेका अभिषेकप्रताप साह। उनले हरेक निर्वाचनमा भन्दै आएका छन्, ‘अरूको मतगणना १ बाट सुरु हुन्छ, मेरो ५ हजार १ बाट !’ अर्थात् उनीसँग ५ हजार मत त जस्तोसुकै अवस्थामा पनि सुरक्षित छ।

जमिनदार पृष्ठभूमि, ठुलो परिवार रहेकाले ५ हजार मत आफूसँग सधैं भएको उनको दाबी रहँदै आएको छ। जसको बलमा उनले हार्नुपरेको पनि छैन। उनी लगातार चारपटक सांसद भइसके। अहिले उनी पाँचौंपटक संसद्मा पुग्ने प्रयासमा छन्। यसअघि दुई पार्टी छाडेका उनी अहिले कांग्रेसबाट उम्मेदवार बनेका हुन्।अभिषेकप्रतापको पहिलो राजनीति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुरु भएको हो। बुवा अजयप्रताप साह कपिलवस्तुका शक्तिशाली नेता थिए। पुस्तैनी जमिनदार रहेका उनले बहुदल आएपछिको पहिलो निर्वाचन २०४८ मा राप्रपाबाट लडेका थिए। त्यो चुनावमा उनी नेपाल सद्भावना पार्टीका उम्मेदवार मिर्जा दिलसाद वेगसँग पराजित भए। २०५१ सालमा संसद्का लागि भएको मध्यावधि निर्वाचनमा मिर्जा राप्रपाबाट उम्मेदवार बने। अजयप्रताप राप्रपा छाडेर चुनाव लड्दा फेरि मिर्जासँगै पराजित भए। २०५१ सालमा सांसदमा निर्वाचित मिर्जा दुईपटक मन्त्रीसमेत भए। २०५६ सालमा अज्ञात समूहले उनको हत्या गर्‍यो। उक्त हत्यामा भारतीय गुप्तचर संस्था रिसर्च एन्ड इन्टिलिजेन्स विङ (रअ) लाई जोडिन्छ। मिर्जाको हत्यापछि २०५६ सालमा अजयप्रतापले राप्रपाकै टिकटमा कपिलवस्तु ४ बाट निर्वाचन जिते। सांसद भएकै बेला उनको मृत्यु भयो। त्यसपछि २०६३ सालमा संसद पुनःस्थापना भएपछि रिक्त सिटमा राप्रपाले अभिषेकप्रतापलाई सांसद बनायो। यसरी संसदीय राजनीतिमा प्रवेश गरेका अभिषेकले त्यसपछि भने पछाडि फर्केर हेर्नुपरेको छैन। मधेस आन्दोलनमा मधेसी जनाधिकार फोरमसँग जोडिएर नेतृत्व गरेका अभिषेकप्रताप २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा सोही पार्टीबाट कपिलवस्तुको तत्कालीन निर्वाचन क्षेत्र ५ बाट निर्वाचित भएका थिए।

२०७४ सालमा अभिषेकप्रताप कांग्रेस प्रवेश गरेर आफ्नो पुरानो क्षेत्र समेटिएको कपिलवस्तु ३ बाट उम्मेदवार भए। उनले चुनाव जिते। यसरी दलबदलबाट पनि अभिषेकप्रतापको शक्ति क्षीण भएको छैन। उनी यसपटक पनि कांग्रेसबाटै उम्मेदवार बनेका छन्। पछिल्लो समय पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट उनले आफू मन्त्री बन्ने भन्दै मत मागिरहेका छन्। यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा रहेका ईश्वरदयाल मिश्रको राजनीतिक इतिहास पनि साह र गुप्ताको भन्दा फरक छैन। उनी पछिल्ला चार निर्वाचनका प्रतिस्पर्धी पनि हुन् भने एकपटक मन्त्री बनिसकेका छन्। राप्रपाबाट राजनीति सुरु गरेका मिश्र १० वर्षे सशस्त्र द्वन्द्वका बेला माओवादीविरुद्धको प्रतिकार समूहमा थिए। २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट कपिलवस्तु ४ मा उम्मेदवार बनेर जिते। निर्वाचन जितेपछि मन्त्री बनेका उनी २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा तमलोपाबाटै सोही क्षेत्रमा उम्मेदवार बने। त्यो निर्वाचनमा उनको हार भयोे। २०७४ सालमा दल बदलेर हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट एमालेको सूर्य चिह्नमा कपिलवस्तु ३ बाट उम्मेदवार भएका उनले पराजय बेहोर्नुप¥यो। उनी अहिले त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा) बाट उम्मेदवार छन्।

अहिले एमालेबाट कपिलवस्तु २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका वृजेशकुमार गुप्तामा पनि दल बदलिरहने नेता हुन्। २०५६ सालमा राप्रपाबाट कपिलवस्तु २ बाट निर्वाचित भएका उनी २०६४ सालको निर्वाचनमा तमलोपामा पुगे। २०६४ र २०७० सालमा भएका संविधानसभा सदस्य निर्वाचनमा उनी सोही तमलोपाको टिकटमा कपिलवस्तु ३ बाट विजयी भए। २०७४ सालको निर्वाचनमा उनी हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहमा पुगे। सोही समूहबाट कपिलवस्तु २ मा उम्मेदवार भएका उनले चुनाव जिते। अहिले एमालेमा प्रवेश गरेका उनी यसै क्षेत्रमा उम्मेदवार छन्। पटकपटक दलबदल गरेर पनि सधैं शक्तिमा रहने सूचीमा उनको नाम पनि पर्छ।

कपिलवस्तुमा दलबदलपछि पनि शक्तिमा रहेका नेताहरूको सूची लामै छ। दल बदलिरहने केही नेता अहिले प्रदेशसभा सदस्यतर्फ पनि उम्मेदवार छन्। कपिलवस्तु १ (क) मा कांग्रेसबाट उम्मेदवार रहेका सहसराम यादव, एमालेबाट उम्मेदवार रहेका मधुसुदनशरण चौधरी, कपिलवस्तु २ (ख) मा एमालेका उम्मेदवार धर्मबहादुर लाल श्रीवास्तव र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अब्लुल रसिद खाँ पनि दल बदलिरहने नेतामा पर्छन्। कपिलवस्तु १ (क) का उम्मेदवार यादव अघिल्लोपटक यसै क्षेत्रबाट संघीय समाजवादी फोरमको टिकटमा निर्वाचित भएका थिए। अहिले कांग्रेस प्रवेश गरेर उनी उम्मेदवार बनेका छन्। यसै क्षेत्रमा अघिल्लोपटक राष्ट्रिय जनता पार्टी (राजपा) बाट उम्मेदवार रहेर दोस्रो बनेका चौधरी यसपटक एमालेको उम्मेदवार छन्। अहिले एमालेका उम्मेदवार श्रीवास्तवले अघिल्लोपटक कपिलवस्तु २ (ख) मा त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहबाट उम्मेदवार भएर जितेका थिए। उनी यसपटक एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन्। खाँ कांग्रेसबाट जसपामा प्रवेश गरेर उम्मेदवार भएका हुन्।

कहाँ को प्रतिस्पर्धी ?

कपिलवस्तुमा तीनवटा प्रतिनिधिसभा र ६ वटा प्रदेशसभा सदस्यका सिट लागि वाम–लोकतान्त्रिक गठबन्धन र एमालेकै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। कपिलवस्तु १ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका चक्रपाणि खनाल उम्मेदवार छन्। निवर्तमान सांसद उनको प्रतिस्पर्धामा एमालेले बलराम अधिकारीलाई अगाडि सारेको छ। गठबन्धनका उम्मेदवार भएकाले उनको लागि जित सहज देखिन्छ। तर यहाँ कांग्रेसका पुराना नेता दीपकुमार उपाध्यायले टिकट मागेका थिए। विगतमा उपाध्यायले जित्दै आएको क्षेत्र उनलाई नदिइएको भन्दै कांग्रेसका नेता ललित गुरुङले बागी उम्मेदवारी दिएका छन्। गुरुङले काट्ने मतमा यहाँको जितहार निर्धारण हुने विश्लेषण गरिएको छ। यस्तै कपिलवस्तु १ (क) मा एमालेका निवर्तमान सांसद विष्णुप्रसाद पन्थी र गठबन्धनबाट कांग्रेसका डोलकराम घिमिरेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। कपिलवस्त १ (ख) मा कांग्रेसका सहसराम यादव र एमालेका मधुसूदनशरण चौधरीबीच प्रतिस्पर्धा देखिन्छ।

कपिलवस्तु २ मा एमालेका वृजेशकुमार गुप्ता र कांग्रेसका सुरेन्द्रराज आचार्य प्रतिस्पर्धी छन्। यहाँ यसपटक गठबन्धनको बलमा आचार्य हाबी देखिएका छन्। कपिलवस्तु २ (क) मा कांग्रेसबाट पूर्वएसएसपी विक्रम थापा र एमालेबाट काठ व्यवसायी नवराज लामिछाने तथा (ख) मा एमालेका धर्मबहादुर लाल श्रीवास्तव र कांग्रेसका सुधाकर पाण्डेयबीच प्रतिस्पर्धा छ।

कपिलवस्तु ३ मा गठबन्धनबाट कांग्रेसका अभिषेकप्रताप शाह र एमालेका मंगलप्रसाद गुप्ताबीच प्रतिस्पर्धा छ। यसमा साहले कांग्रेसभित्रको असन्तुष्टि पुर्दै गठबन्धनको मत जोगाउन सके जित सम्भव छ। कांग्रेसभित्रको असन्तुष्टिमा खेल्न सके जित्न सकिने आशा एमालेका गुप्तामा छ। यहाँ जनता प्रगतिशील पार्टी (जप्रपा) का ईश्वरदयाल मिश्रले पनि टक्कर दिन सक्ने देखिएको छ। 

प्रकाशित: २५ कार्तिक २०७९ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App