१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मकवानपुरमा निर्वाचनको तयारी तीव्र

आसन्न मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा निर्वाचनको तयारी तीव्र पारिएको छ। प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय  हेटौंडाले निर्वाचनको आवश्यक तयारी तीव्र पारेको जनाएको छ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी राति अवेरसम्म प्रत्येक मतदान केन्द्रमा पठाउने सामग्री तयार पार्ने र सिल गर्ने तथा  मतदान केन्द्रमा कर्मचारी पठाउनेको विवरण तयार गर्ने लगायतका  कार्य तीव्ररुपमा भइरहको बताइएको छ।

अब केही दिनमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाइने भएकाले यसका लागि मतपत्र मतदान केन्द्रपिच्छे  छुट्याएर राख्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले  जानकारी दिए।  

मकवानपुरका  १० वटै स्थानीय तहका मतदान केन्द्रमा चाहिने मतपत्र आइसकेको उनले बताए। समानुपातिकको मतपत्र पहिले नै आइसकेको र प्रत्यक्षतर्फको मतपत्र पनि आइतबार हेटौंडा आइपुगेको छ। निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा पठाइने मतपत्र र निर्वाचनका लागि आवश्यक विभिन्न सामग्री कर्मचारीलाई तालिमपछि हस्तान्तरण गरिने सो कार्यालयले जनाएको छ।  

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्वक सम्पन्न गर्न सबैले निर्वाचन आचारसहिताको पालना गर्नुपर्ने निरौलाले बताए। यसैबीच जिल्ला प्रशासन कार्यालयबाट  जिल्लामा रहेका  मतदानस्थल र मतदान केन्द्रको निरीक्षण तथा अनुगमनसमेत भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको नेतृत्वमा मतदानस्थलको निरीक्षण भइरहेको छ। प्रमुख जिल्ला अधिकारी पाण्डेले मतदान केन्द्रको अवस्था, बाटोघाटोको अवस्था र सुरक्षाको अवस्थालाई ध्यानमा राखेर निरीक्षण गरिरहेको जानकारी दिए। उनले निर्वाचनलाई भयरहित र निष्पक्षरुपमा सम्पन्न गर्न  वातावरण तयार भएकाले ढुक्क भएर निर्वाचन गर्न सबैलाई आग्रह गरे।  

जिल्लामा मतदानस्थल एक सय ६७ र मतदान केन्द्र तीन सय ६४ रहेका छन्। निर्वाचनमा दुई हजार नौ सय १२ कर्मचारी र एक हजार चार सय ४२ स्वयम्सेवक खटिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यहाँ पुरुष मतदाताको सङ्ख्या एक लाख ५३ हजार पाँच सय २८ तथा महिलाको सङ्ख्या एक लाख ४७ हजार दुई सय र अन्यको सङ्ख्या पाँच रहेको बताइएको छ। जिल्लामा मतपत्र बदर हुन नदिन स्थानीय पालिकामा नमुना मतदान कार्यजारी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले बताए। साथै मतदात शिक्षा पनि पालिकामा जारी रहेको उनले जानकारी दिए। रासस

प्रकाशित: २३ कार्तिक २०७९ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App