७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रकाशमान र रवीन्द्रको पारिवारिक टकराव

सिंहलाई चुनौती दिँदै मिश्र, खरेल र बम

‘काठमाडौं क्षेत्र नम्बर १ नेपाली कांग्रेसको सुन्दर फूलबारी हो। विजयी कांग्रेस उम्मेदवारलाई बधाई तथा शुभकामना। मलाई माया गरेर मतदान गर्ने वा नगर्ने सबैमा आभार व्यक्त गर्छु।’ २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचन परिणाम सार्वजनिक भएपछि एमाले नेता एवं काठमाडौं–१ का प्रत्यासी प्रदीप नेपालको भनाइ हो यो। एमाले नेता नेपालको त्यही भनाइलाई मान्ने हो भने एक दशकदेखि त्यस क्षेत्रको मतदाताको रोजाइमा कांग्रेस नेता प्रकाशमान सिंह पर्दै आएका छन्। तर संविधानसभाबाट नयाँ संविधान जारीपछि २०७४ सालमा भएको पहिलो आमनिर्वाचनमा भने सिंहलाई आफ्नो पक्षमा परिणाम ल्याउन निकै कसरत गर्नुपर्‍यो। उनलाई पूर्वसञ्चारकर्मी रवीन्द्र मिश्रले चुनौती दिएका थिए ।

त्यतिबेला देशभर एमाले र माओवादी केन्द्रको चुनावी तालमेल भएको थियो। काठमाडौं–१ मा माओवादी केन्द्रले उम्मेदवारी दिए पनि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औंल्याउँदै मिश्र विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बने। सञ्चार क्षेत्रमा लामो अनुभव हासिल गरेका मिश्र र राजनीतिमा लामो योगदान र अनुभव हासिल गरेका कांग्रेस नेता सिंहबीच मुख्य प्रतिस्पर्धा थियो।

नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा गणेशमान सिंहसहित उनको परिवारले महत्वपूर्ण योगदान पुर्‍याएको छ। त्यही पृष्ठभूमिबाट सिंह हुर्कंदै राजनीतिमा सक्रिय भएका हुन्। २०४६ सालको राजनीतिक परिवर्तनको नेतृत्व सिंहका बुवा गणेशमान सिंहले गरेका थिए। हाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रहेका मिश्रको पारिवारिक पृष्ठभूमि भने त्यसको ठिक उल्टो छ। रवीन्द्र कलाकार मनोजबाबु मिश्रका छोरा हुन्। २०४६ सालको राजनीतिक परिवर्तन (बहुदल) प्रति मनोजबाबु रुष्ट थिए । उनले बहुदलीय व्यवस्थाको पक्षमा उभिएको समाज त्याग गर्ने घोषणा गरे। बाँकी जीवनभर उनी आफ्नो घरको कम्पाउन्डबाट बाहिर निस्केनन्। जानकारहरूले सिंह र मिश्र बीच काठमाडौं–१ को प्रतिस्पर्धालाई पुरानै पारिवारिक द्वन्द्वका रूपमा हेर्ने गरेका छन्। ‘रवीन्द्रजी बाहिर पढ्नुभयो, बुझ्नुभएको छ, राम्रो सञ्चारकर्मीका रूपमा स्थापित नाम हो। उहाँको हुर्काइ, बुझाइ, संस्कारका साथै अहिले संलग्नताले मिश्र र सिंह परिवारको पुरानै द्वन्द्वजस्तो देखिन्छ,’ निकटस्थ एकजनाले थपे, ‘प्रकाशमान सिंहले पनि जति योग्यता र क्षमता देखाउनुपर्ने हो, त्यो देखाउन सक्नुभएको छैन। तर उहाँ सधैं परिवर्तनको पक्षमा हुनुहुन्छ।’

कसले देलान् टक्कर?

पहिलो संविधानसभा निर्वाचन २०६४, दोस्रो २०७० र प्रतिनिधिसभा निर्वाचन २०७४ मा लगातार जित निकाल्दै सिंहले यस क्षेत्रमा जितको ह्याट्रिक गरिसकेका छन्। ह्याट्रिक यात्रामा २०६४ र २०७० को निर्वाचनमा सिंहले सुविधाजनक जित निकालेका थिए। तर २०७४ को प्रतिनिधिसभा निर्वाचन भने अघिल्लो निर्वाचनको तुलनामा निकै प्रतिस्पर्धात्मक रह्यो। वैकल्पिक शक्तिको नारासहित राजनीतिमा आएका तत्कालीन विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले सिंहलाई बलियो टक्कर दिएका थिए। बरु वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अनिल शर्मा निकै पछाडि परेका थिए।

सिंह १० हजार ९३६ मतसहित विजयी हुँदा मिश्रले १० हजार ११८ मत प्राप्त गरेका थिए भने शर्माले ५ हजार ३३६ मतमा चित्त बुझाउनुपरेको थियो। यसरी लगातार तीन निर्वाचन जितेर ‘ह्याट्रिकम्यान’ बनेका सिंह लगातार चौथो जित निकाल्ने लक्ष्यका साथ फेरि मैदानमा उत्रिएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेर चौथो जित निकाल्ने उनको लक्ष्य छ। यही जित हासिल गरेर यसपटक प्रधानमन्त्रीको उम्मेदवार बन्ने पनि सिंहले ‘सार्वजनिक घोषणा’ गरिसकेका छन्। पार्टीका महामन्त्री र उपसभापति भइसकेको, सभापतिमा भिडिसकेको, मन्त्री तथा उपप्रधानमन्त्री भइसकेको पात्र भएकाले अब प्रधानमन्त्रीको उम्मेदवार बन्ने उनको घोषणा छ।

तर त्यसअघि सिंहका लागि यस पटकको प्रतिनिधिसभाको निर्वाचन निकै अन्योलपूर्ण हुने देखिएको छ। स्थानीय तह निर्वाचनमा भड्किएको जनमत, स्वतन्त्र तथा वैकल्पिक नामका उम्मेदवारमा बढेको हौसलाले सिंहका लागि आगामी संसद् यात्रा अन्योलपूर्ण बन्न पुगेको छ। यद्यपि सिंह भने निर्वाचन जित्नेमा ढुक्क देखिएका छन्। अघिल्लो निर्वाचनमा सिंहविरुद्ध मिश्र मुख्य प्रतिस्पर्धामा थिए। उनलाई तत्कालीन वामगठबन्धनको पनि समर्थन थियो। तर अहिले एमालेका साथै राष्ट्रिय प्रजातन्त्र पार्टीसहित अन्य विभिन्न उम्मेदवार प्रतिस्पर्धामा हुँदा सिंहका लागि वातावरण सहज बनेको विश्लेषण गर्न थालिएको छ।

स्थानीय निर्वाचनले बढाएको अन्योल

५ महिनाअगाडि सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनको सहयोगमा कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाएको थियो। पाँच दलीय गठबन्धन, प्रतिपक्षी दल एमालेको विभाजनलगायत कारण मेयर पदमा सिंह जित्ने धेरैले आकलन गरेका थिए। तर नतिजा निकै अप्रत्याशित आयो। स्वतन्त्र उम्मेदवार बनेका बालेन्द्र साहले सबै दलीय उम्मेदवार हराउँदै फराकिलो जित निकाले।

साहको पक्षमा आएको यो नतिजापछि काठमाडौंको आगामी निर्वाचन आकलन गर्नसकिने भन्दा बाहिर गएको छ। यही कारण पूर्वमहामन्त्री सिंहको जितका विषयमा पनि संशय छ। काठमाडौं–१ मा महानगरका चारवटा वडा १०, ११, २९ र ३१ नम्बर वडा समावेश छन्। जसमा वडा नम्बर १० बानेश्वर, वडा नम्बर ११ त्रिपुरेश्वर, वडा नम्बर २९ डिल्लीबजार र वडा नम्बर ३१ शान्तिनगर पर्छन्। स्थानीय तहको नतिजाअनुसार चारवटा वडामा मेयरका उम्मेदवारले पाएको मतअनुसार साहले ९ हजार ६ सय ७४ मत, सिंहले ६ हजार ५ सय १६ मत र नेकपा एमालेका उम्मेदवार केशव स्थापित ४ हजार ७ सय ९४ पाएका थिए। यही कारण यस क्षेत्रको नतिजा निकै रोचक हुने देखिएको छ।

वडाध्यक्ष उम्मेदवारको मत भने सिंहका लागि सापेक्ष देखिन्छ। यहाँ वडाध्यक्षको मतमा कांग्रेसको ९ हजार ८ सय ९५ मत छ। जसमा गठबन्धनमा रहेको माओवादी केन्द्रको १ हजार १ सय ५९ मत जोड्दा सिंहको जितका लागि पर्याप्त हुन्छ। किनभने विपक्षमा रहेको एमालेको ९ हजार ५ सय ४१ मत मात्रै छ। सिंहका अघिल्लो पटकका निकटतम प्रतिद्वन्द्वी विवेकशील साझाका मिश्र भने राप्रपातर्फ लागेका छन्। राप्रपाको यस क्षेत्रमा १ हजार ३ सय ७६ मत मात्रै छ।

यसरी हेर्दा स्वतन्त्र उम्मेदवार साहले कांग्रेस र एमाले दुवैको मत तानेको देखिन्छ। स्थानीय तहको यस्तो अस्थिर मतलाई हेर्ने हो भने यहाँको नतिजा के आउँछ? भन्न नसकिने अवस्था छ। यसमा पनि नयाँ उम्मेदवारले बढाएको तीव्र सक्रियताले पनि यहाँको प्रतिस्पर्धा रोचक बनाएको छ।

बाक्लो सक्रियता

यस निर्वाचन क्षेत्रमा सिंह, पौडेल, मिश्रसहित अहिले २४ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन्। जसमध्ये ११ जना स्वतन्त्र र १३ जना दलीय उम्मेदवार छन्। सुरुमा राप्रपा उम्मेदवार मिश्रलाई सघाउने भनेको एमालेले अन्ततः आफ्नै उम्मेदवार खडा गरेको छ। एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल उम्मेदवार बनेका छन्। सिंहको जस्तै दलीय मत तान्न सके उनी प्रतिस्पर्धा गर्नसक्ने समीकरण छ। विगतमा ‘विवेकशील अभियान’ चलाएका पुकार बम रवि लामिछाने नेतृत्वको नेपाल स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। महिनौंअघि सुरुमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका उनले अन्तिममा पार्टीकै उम्मेदवार बन्ने निर्णय गरेका थिए। उम्मेदवारी घोषणा गरेकै दिनबाट बमले यस क्षेत्रमा सक्रियता बढाएका छन्। उनले हालसम्म तीन चरणसम्म मतदाताको घरदैलो पुगी आफ्नो प्रचार अभियान चलाइसकेको जनाएका छन्।

नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल नेपाल सुशासन पार्टी खोलेर केही वर्षदेखि राजनीतिमा सक्रिय छन्। उनले पनि यही क्षेत्र रोजेका छन्। विगतमा प्रहरीमा रहँदा बनाएको छवि भजाउने प्रयासमा खरेल देखिन्छन्। सोहीअनुसार उनले सुशासन र भ्रष्टाचारविरोधी नारालाई बढावा दिएर मत मागिरहेका छन्।

उता सिंहका निकटतम प्रतिद्वन्द्वी रहेका मिश्रको भने यस पटक चर्चा निकै फितलो छ। विवेकशील साझामा रहँदा वैकल्पिक शक्तिको नारा लिएर कमाएको उनको चर्चा ‘विचारभन्दा माथि देश’को नयाँ अवधारणा सार्वजनिक गरेसँगै सकिएको छ। यही कारण गत स्थानीय तह निर्वाचनमा उनको पार्टीले राम्रो जनमत बटुल्न सकेन। यसरी पार्टीको अस्थित्व नै संकटमा परेपछि मिश्र राप्रपामा समाहित भएर अहिले उम्मेदवार बनेका छन्। तर उनको विगतको जस्तो प्रभाव देखिँदैन।

आकर्षक नारा

यस क्षेत्रमा प्रतिस्पर्धामा देखिएका सबैजसो उम्मेदवार निकै आकर्षक नारा भजाएर भोट बटुल्ने प्रयत्न गरिरहेका छन्। जसमा सूचना प्रविधिको पनि अधिकतम प्रयोग गरिरहेका छन्। कांग्रेस उम्मेदवार सिंहले ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’को मुख्य नारा दिएर प्रचारप्रसार थालेका छन्। जसमा अन्य विभिन्न आकर्षक विकासे नारा उल्लेख गर्दै प्रचार सामग्री प्रयोग गरिरहेका छन्। उनको प्रचार सामाजिक सञ्जालका भित्तामा पनि छ्यापछ्याप्ती छरेर बाँडिएको छ। यसबाहेक सिंहले आफूलाई भावी प्रधानमन्त्री भनेरै भोट मागिरहेका छन्। आफू जितेर जाँदा प्रधानमन्त्रीको दौडमा लाग्ने उनको घोषणा सार्वजनिक भइसकेको छ। प्रधानमन्त्रीको लाइनमा रहेको र केन्द्रमा शक्तिशाली पहुँच भएको नेताले नै क्षेत्रको बढी विकास गर्नसक्ने दाबी गर्दै उनका समर्थक पनि प्रचार गरिरहेका छन्।

उता एमालेले ४१ वर्षीय युवा नेता पौडेललाई टिकट दिएर युवा जनमत तान्ने कोसिस गरेको छ। उनले पनि सोहीअनुसार नारा र अजेन्डामा भोट तान्ने कोसिस गरिरहेका छन्। ‘नम्बर १ काठमाडौं’ नारा दिएर प्रचार थालेका उनले बालबालिका र युवाकेन्द्रित मुद्दालाई बढी उठान गरिरहेका छन्।

उता राप्रपाका उम्मेदवार मिश्रले आफू देशले गर्व गर्नयोग्य सांसद भएर देखाउने भन्दै भोट मागिरहेका छन्। उनले नेपालको दुरगामी हित र आर्थिक रूपान्तरणमा इमानदारीपूर्वक काम गर्ने, विगतमा पनि भ्रष्टाचार नगरेको, भविष्यमा पनि नगर्ने, भविष्यमा गरे आमाको रगत पिएबराबरको पाप लागोस् भन्दै भोट मागिरहेका छन्।

स्वतन्त्र पार्टीका उम्मेदवार बमले तमाम आकर्षक नाराका साथ भोट मागिरहेका छन्। यसबाहेक विगतमा विवेकशील अभियानका क्रममा गरिएका सत्याग्रह, विभिन्न सामाजिक अभियान, कोभिड–१९ को महामारीका बेला काठमाडौंमा सञ्चालन गरिएको राहत तथा खानपान अभियानका विषय पनि उनले आफ्नो प्रचारको आधार बनाएका छन्। उनले आफ्नो प्रचार घरदैलो र सामाजिक सञ्जाल सबैतिर छ्यापछ्याप्ती नै पारेका छन्।

पूर्वडिआइजी खरेलको मुख्य नारा नै भ्रष्टाचारविरोधी छ। यसबाहेक उनले ‘नेपालको नेपाली’ भन्ने नारालाई पनि स्थापित गर्न खोजिरहेका छन्। जसमा हरेक नेपालीले अवसरका लागि विदेश नभौंतारिनुपर्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता जनाइरहेका छन्। यस्तै सार्वजनिक सेवाग्राहीमैत्री बनाउन आफू पहल गर्ने कुरा राखिरहेका छन्।

बम र खरेलले चुनावी प्रचारसँगै ‘चन्दा’ पनि माग्ने गरेका छन्। आफ्ना प्रचार सामग्रीमा क्युआर कोड नै राखेर भोटका साथसाथै चन्दा दिन पनि उनीहरूले आह्वान गरिरहेका छन्।

को हुन् प्रकाशमान सिंह?

प्रकाशमान सिंह २०१२ साल चैत २१ गते काठमाडौंमा जन्मेका हुन्। स्नातकोत्तरसम्मको अध्ययन गरेका सिंह २०३० सालदेखि कांग्रेस राजनीतिमा सक्रिय भएका हुन्। सर्वमान्य नेता गणेशमान सिंह र नेत्री मंगलादेवीका छोरा सिंह २०३६ सालमा नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष हुँदै २०४६ देखि २०५६ सम्म काठमाडौं कांग्रेसको सभापतिको जिम्मेवारीमा थिए। त्यसपछि पार्टी केन्द्रीय सदस्य, उपसभापति, महामन्त्रीको जिम्मेवारी निर्वाह गरेका सिंह राष्ट्रियसभा सदस्य बने। पहिलो संविधानसभा निर्वाचनपछिका सबै निर्वाचन जित्दै आएका सिंहले मन्त्रिपरिषद्मा सहभागी भएर विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। उनले २ वर्ष जेल जीवन बिताएका थिए।

को हुन् किरण पौडेल?

एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका महासचिव हुँदै किरण पौडेल हाल उक्त संगठनको अध्यक्ष छन्। नवलपुर घर भएका ४१ वर्षीय युवा नेता पौडेललाई एमालेभित्र सम्भावना बोकेका नेताका रूपमा हेरिएको छ। पार्टी संगठनका साथै युवा जनमतको आधार भएकाले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने भनेर पौडेल ढुक्क देखिएका छन्। सोहीअनुसार नारा र अजेन्डामा भोट तान्ने कोसिसमा छन्।

को हुन् रवीन्द्र मिश्र?

२०१६ सालमा जन्मेका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष हुन्। सन् २०१७ को फेब्रुअरी अन्त्यमा बिबिसी नेपाली सेवाको प्रमुख पदबाट राजीनामा दिएर लन्डनबाट नेपाल फर्केका मिश्रले वैकल्पिक राजनीतिक दलको आवश्यकता रहेको जनाउँदै साझा पार्टीको स्थापना गरे। नेपालको रूपान्तरणको आस गरेका युवाको साथ पाएका मिश्रले २०७४ सालमा काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए। पार्टीमा विग्रह र विवाद बढ्दै गएका बेला मिश्रले स्थानीय तह निर्वाचन परिणामलाई देखाउँदै पार्टी अध्यक्षबाट राजीनामा दिए र अहिले राप्रपामा प्रवेश गरेका छन्। कलाकार मनोजबाबु मिश्रका छोरा रवीन्द्रले चारवटा पुस्तकसमेत लेखेका छन्। १९९४ सालमा कार्यक्रम उत्पादकका रूपमा लन्डनस्थित बिबिसी नेपाली सेवामा आबद्ध मिश्र सन् २००६ मा नेपाली सेवाका प्रमुख भएका थिए। मिश्रले अंग्रेजी साहित्य, पत्रकारिता तथा अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गरेका छन्।

को हुन् पुकार बम?

सामाजिक तथा राजनीतिक अभियन्ता हुन् पुकार बम। उज्ज्वल थापासँगै तत्कालीन विवेकशील नेपाली दलका संस्थापक बम २०७२ सालको भूकम्पमा राहत वितरण, कोरोना महामारीको समयमा विपन्नलाई निःशुल्क खाना खुवाउने र अस्पतालमा कोरोना भाइरसका गम्भीर बिरामीका लागि अक्सिजन वितरण अभियानमा सक्रिय थिए। २०६९ साल माघमा सुरु भएको अकुपाई बालुवाटार, नेपाल खुला छसहितका अभियन्ता पछिल्लो १७ वर्ष सामाजिक र राजनीतिक अभियानमा छन्। दुई विषयमा स्नातकोत्तर बम पेसाले लेक्चरर हुन्।

को हुन् रमेश खरेल?

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) खरेल काभ्रेपलाञ्चोक जिल्लामा २०२१ सालमा जन्मिएका हुन्। उनी २०४५ सालमा खेलाडीका रूपमा प्रहरीमा प्रवेश गरेका थिए। उनी राष्ट्रिय भलिबल टिमका पूर्वकप्तान पनि भएका थिए। २०७४ साल चैतमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अर्का समकक्षी डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक (आइजिपी)मा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका थिए। त्यसयता उनी भ्रष्टाचारविरोधी आवाज उठाउँदै आएका छन्। आर्थिक पारदर्शिता, सेवाग्राहीमैत्री सरकारी सेवा, सुशासन, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने भन्दै २०७८ मंसिरमा उनी नेपाल सुशासन पार्टी नै खोलेर राजनीतिमा होमिएका छन्।

प्रकाशित: १५ कार्तिक २०७९ ०१:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App