८ वैशाख २०८१ शनिबार
राजनीति

राजनीतिमा जान्छु भन्ने हुटहुटी बोकेका साथीहरु राप्रपामा आउनुस्ः राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दाबी गरेका छन्। मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने उनको भनाइ थियो।

रवीन्द्र मिश्र नेतृत्वको समूहसँगको पार्टी एकताका लागि बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले पार्टीका अगुवा नेताहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेर अघि बढ्न पनि निर्देशन दिए। उनले प्रतिनिधिसभा र प्रदेशसभाको सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै उच्च मनोवलका साथ निर्वाचनको तयारीमा जुट्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे।

अध्यक्ष लिङदेनले भने, ‘हामीले ठिक ढंगले अगाडि गयौं भने म फेरी पनि भन्छु–राष्ट्रिय प्रजातन्त्र पाटी आउने संसदमै पहिलो पार्टी बन्न सक्छ। हारिन्छ कि भन्ने हिन मानसिकतालाई त्यागेर अगाडि जानुपर्‍यो। म यहीँबाट पार्टीका सबै अगुवा नेता साथीहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेर अगाड बढ्न म आग्रह गर्दछु। पछाडि हट्ने होइन्, भाग्ने होइन्। म यहीँबाट देशको परिवर्तनको पक्षमा, यो अवस्था बदल्नुपर्छ भन्ने पक्षमा रहेका बुद्धिजीविहरु, जो राजनीतिमा जान्छु भन्ने हुटहुटी बोकेका साथीहरु आउनुस्, राष्ट्रिय प्रजातन्त्र पार्टीमा जोडिनुस्। हामी योग्यता, क्षमता भएका साथीहरुलाई उम्मेदवार बनाउन तयार छौं। हामी १६५ वटै प्रतिनिधिसभामा र ३३० वटै प्रदेश सभाको निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेर जान्छौं। त्यसकारण सबैलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गर्दछु। विजय हाम्रो सम्मुख छ। मुलुकले विकल्प खोजिरहेको छ।’

अध्यक्ष लिङदेनले निर्वाचनमा हारिन्छ कि भन्ने हिन भावना त्यागेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। उनले पार्टीमा प्रवेश गरेका रविन्द्र मिश्रलगायतका नेताहरुलाई स्वागत गर्दै उपयुक्त जिम्मेवारी दिने प्रतिवद्धता समेत व्यक्त गरे। 

प्रकाशित: १२ आश्विन २०७९ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App