८ वैशाख २०८१ शनिबार
राजनीति

जनकपुरको सहिद गेटमा फहराइयो जसपाको झण्डा

जनकपुरधामको प्रवेश द्वारमा रहेको सहिद गेटमा जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरुले पार्टीको झण्डा फहराएका छन्।

बुधबार जनकपुरधाम उपमहानगरपालिका-२४ मुजेलियास्थित मुख्य द्वारमा रहेको सहिद गेटमा जसपाका संघीय परिषद् सदस्य नवीन यादवको नेतृत्वमा राष्ट्रिय झण्डासहित पार्टीको झण्डा फहराइएको हो।

मंगलबार एक जना युवाले गेटमा राखिएको झण्डा हटाएपछि पुनः जसपाका कार्यकर्ताले पार्टीको झण्डा राखेका हुन्। भदौ २५ गते मधेस आन्दोलनको सहिद दिलिप यादव, निकु यादव र संजय चौधरीको सातौ श्रद्धाञ्जलीसभाको दिन जसपाले सहिदको गेट मुनी बाटोमै श्रद्धाञ्जली सभा मनाएको थियो।

सोही दिन जसपा अध्यक्ष उपेन्द्र यादवसहितका कार्यकर्ताहरुले सहिदको गेटमा रहेको प्रतिमामा माला अर्पण गरी पार्टीको झण्डा राखेका थिए। 'हाम्रो पार्टीले भदौ २५ गते श्रद्धाञ्जलीसभाको दिन सहिदको प्रतिमामा माला अर्पण गरी श्रद्धाञ्जली सभा मनाइएको थियो संघीय परिषद सदस्य नवीन यादवले भने, पार्टीको कार्यक्रम भएको हुनाले पार्टी झण्डा राख्नु स्वाभाविक हो। त्यसैक्रममा सहिद गेटमा पनि झण्डा राखिएको थियो। त्यो पर्मानेन्ट रूपमा राखिएको पनि थिएन हावाहुरीमा आफैं हटिन्थ्यो। तर एक जना युवाले हिजो पूर्वाग्रही भएर हाम्रो पार्टीको झण्डा हटाइयो।'

'हिजो त्यहाँबाट हाम्रो पार्टी झण्डा हटाइयो आज हामीले फेरि झण्डा राखेका छौं। कुनै पार्टीको झण्डा फाल्ने कसैको अधिकार छैन। थप यादवले भने, तर ती युवाले हाम्रो पार्टीको झण्डा फालेर समाजिक सञ्जालमा राखेर के सन्देश दिन खोज्यो? हामीले त्यस्ता व्यक्तिलाई कारबाहीको माग पनि गर्छौं।'

राष्ट्रिय झण्डा हाम्रो मुटु हो भने पार्टीको झण्डा रगत हो हाम्रो पार्टीको झण्डा कसैले अपमान गरियो भने सहेर नबस्ने यादवले बताए। जसपाको युवा नेता मुन्जय राउत, पंजक यादव,राजन झा लगायतका युवाहरूले पुनः झण्डा राखिएको हो।

२०७२ सालमा मधेसीवादी दलको नेतृत्वमा भएको मधेस आन्दोलनको क्रममा दिलिप यादव, निकु यादव र संजय चौधरी सहादत प्राप्त गरेका थिए। सहिदकै सम्झनामा जनकपुरधाम उपमहानगरपालिकाको पूर्व मेयर लालकिशोर साहले सहिद गेट बनाइएको थियो।

प्रकाशित: २९ भाद्र २०७९ १४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App