१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसद अधिकारीको प्रश्नः ओली नेतृत्व सरकारले गुठीको समस्या समाधान गर्न ल्याएको विधेयककाे विरोध गर्नेहरु अहिले के गर्दै हुनुहुन्छ?

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद एवम् पूर्वमन्त्री खगराज अधिकारीले सरकारले आफ्ना पार्टीका सांसदहरु निर्वाचित भएको क्षेत्रमा विकास, निर्माणका लागि विनियोजित बजेट पनि निकासा नदिएको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद अधिकारीले प्रतिपक्ष दलमाथि प्रतिसोध साँध्ने गरी बजेट निकासा दिने काम किन नगरेको भन्दै त्यसको जवाफ तत्काल दिन सरकारसँग माग गरे।

उनले गुठीयारहरुको समस्या समाधान गर्न सरकार उदासिन रहेकोे भन्दै आक्रोश समेत व्यक्त गरे। केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको सो सम्बन्धी विधेयकको विरोध गर्नेहरु अहिले सरकारमा रहेको उल्लेख गर्दै सांसद अधिकारीले ती समस्या समाधान गर्न सरकारलाई दबाव समेत दिए।

उनले भने,  ‘अघिल्लो केपी ओली नेतृत्वको सरकार हुँदाखेरी गुठी सम्बन्धी विधेयक हामीले छलफलमा ल्यायौं। गम्भीर छलफल र बहस भयो। आज यत्रा समस्याहरु छन्। अहिलेसम्म सम्माननीय सभामुख महोदय, श्री ५ को वायु गुठी धादिङमा छ। अनि, पलाञ्चोक, म्याग्दी लगायत देशका विभिन्न भागमा अहिले पनि गुठी समस्या छन्। र, ती गुठीको समस्या समस्या समाधान गर्न सरकारले कुनै ध्यान दिएको छैन। उदासिन छ। र, यो सरकारले हिजो गुठीको समस्या समाधान गर्न ल्याएको विधेयकलाई भड्काउन माइतीघर मण्डलामा जुलुसमा सामेल हुनेहरु अहिले सत्तामा हुनुहुन्छ। उहाँहरु के गर्दै हुनुहुन्छ? हामी गम्भीरतापूर्वक सरकारबाट जवाफ चाहन्छौं सभामुख महोदय। र, अर्को गम्भीर प्रश्न के छ भने अघिल्लो सरकारले रणनीतिक महत्वका सडकहरु १६५ निर्वाचन क्षेत्रमै अगाडि बढायो। आज ती सुसुप्त अवस्थामा छन्। या तिनलाई रोकिएको छ। प्रतिपक्ष प्रतिनिधिसभाका सदस्यहरुले सिफारिस गरेका ठाउँहरुमा बजेट निकासा नदिने वा तिनलाई कामयावी हुन नदिनेसम्मको काम गरिएको छ। र, अनेकौं विकास आयोजनाहरुमा पनि यस्तो किसिमको गम्भिर सरकारी षडयन्त्रहरु भइरहेका छन्। र, विकास निर्माणको कामलाई ठप्प पारिएको छ। सरकारले यसको जवाफ दिनु पर्दछ। विकास विरोधी सरकार हुनुहुँदैन। सरकारले यदि प्रतिसोध साँध्न खोजेको हो भने जनताले यसको जवाफ चाहन्छन्। र, सरकारले यसको गम्भिरतापूर्वक जवाफ दिनु पर्दछ। र, गुठी समस्या समाधान गर्न सरकारले जवाफ दिन्छ कि दिँदैन? सरकार गुठीयारहरुप्रति जवाफदेही छ कि छैन? यसको जवाफ चाहियो।’

सांसद अधिकारीले ओली नेतृत्वको अघिल्लो सरकारले गुठी समस्या समाधानका लागि ल्याएको सो विधेयक गम्भीरतापूर्वक छलफल गरी गुठीयारहरुको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई सचेत गराए। 

प्रकाशित: २९ भाद्र २०७९ ०८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App