७ वैशाख २०८१ शुक्रबार
राजनीति

दाहालविरुद्ध कांग्रेस असन्तुष्ट पक्षले उम्मेदवारी दिने

चितवन कांग्रेसको विद्रोही समूहले आफ्नो पार्टी नेपाली कांग्रसले गठबन्धनका नाममा उम्मेदवार नबनाउने निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ। ‘कांग्रेस शुद्धीकरण अभियान’ का नाममा एकीकृत विद्रोही समूहले आइतबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका नाममा पार्टीले उम्मेदवार नउठाए आफ्नो पक्षबाट उम्मेदवारी रहने जानकारी गराएको हो। यो समूह स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा भुइँकटहर चुनाव चिह्न लिएर गठबन्धनको विपक्षमा उभिएको थियो। चितवनका तीनवटा संघीय निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका ६ वटा क्षेत्रमा उम्मेदवारी दिने अडानमा विद्रोही कांग्रेस छ।  

गत स्थानीय तह निर्वाचनमा कांग्रेस विद्रोही (असन्तुष्ट) समूहबाट भरतपुर महानगरपालिकामा मेयर उम्मेदवार बनेका पूर्वसांसद जगन्नाथ पौडेलले जनमत बढेकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनविरुद्ध उम्मेदवारी दिने बताए। ‘चितवन निर्वाचन क्षेत्र नम्बर ३ हाम्रो आकर्षणको केन्द्र बन्ने छ, केही रणनीतिक कुरा सकिएपछि उम्मेदवारी घोषणा गर्ने छौं’, उनले भने, ‘गठबन्धनले आघात पुर्‍याएको छ, हामी रेस्क्यु गर्ने छौं।’ कांग्रेसले माओवादीसँग गठबन्धन गरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको उम्मेदवारमा समर्थन गरेपछि विद्रोह गरेर मेयरमा उम्मेदवार बनेका पौडेलले १४ हजार ७ सय २८ मत ल्याएका थिए। ‘त्यो बेला १० दिन मात्रै प्रचारमा जानुपर्ने बाध्यता थियो, आधा मत बदर भयो’, उनले भने, ‘त्यो बेला भुइँकटहरमा भोट नहालेका मतदातासहितका धेरै कांग्रेस कार्यकर्ता प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हाम्रो पक्षमा उभिन्छन्।’ पौडेलले गठबन्धनका नाममा केन्द्रीय नेतृत्वले पटकपटक चितवन कांग्रेसलाई दमन गरेको आरोप लगाए। कांग्रेसलाई बलियो बनाउन देशव्यापी विद्रोहको स्वर उठ्न थालेको पनि उनले बताए।

‘कांग्रेसभित्र चितवनले विद्रोहको नेतृत्व गर्नुपर्छ, चितवन सबैभन्दा बढी दमनमा परेको छ’, उनले भने, ‘अन्य जिल्लामा समेत विद्रोह भएका छन्। यहाँ जिल्ला नेतृत्व मौन बस्नु लज्जास्पद छ।’ डडेल्धुरा, डोटी, कञ्चनपुर र सिन्धुपाल्चोकका इमानदार कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन नमान्ने निर्णय गरिसकेको उनले बताए। उनले गठबन्धन नगरी सरकार गठन गर्नैै सकिन्न भनेर जनतामा भ्रम छर्न शीर्ष नेतृत्व लागेको आरोप पनि लगाए। बिपीको नाम लिने तर सिद्धान्त र विचार नमिल्नेसँग ‘म्याच फिक्सिङ’ गर्ने प्रवृत्तिले लोकतन्त्र र कांग्रेस बलियो नहुने उनको तर्क छ।  

कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाले चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा पार्टीको आधिकारिक उम्मेदवार नभए आफूहरूले उम्मेदवारी दिने बताए। सत्ता गठबन्धनबाट चितवन ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन लड्ने लगभग निश्चितजस्तै छ। उनले यहाँबाट चुनाव लड्ने घोषणा पनि गरिसकेका छन्। ‘जनतामाझ कांग्रेस अभियान’ का लागि चितवन आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले गठबन्धनका शीर्ष नेताले रोजेको ठाउँ अरूले छाड्नुपर्ने बताएका थिए। चितवन ३ कांग्रेसले दाहालका लागि छाडे आफूले उम्मेदवारी दिने सापकोटाले बताए। ‘कांग्रेस बिग्रेको देखेको छु, थैलीको मुठो बुझाएर टिकट पाउनेहरू छन्’, उनले भने, ‘कोही योग्य फेला परे छाडौंला तर हँसिया–हथौडामा भोट हाल्न सकिँदैन।’ सापकोटाले अहिलेको कांग्रेस नेतृत्व भागबन्डामा लागेको आरोप लगाए। उनले आफूले ६० वर्ष कांग्रेसको राजनीतिमा लागेको र पाँच वर्ष जेलसमेत बसेको बताउँदै कांग्रेस सिद्धान्त विचलनको बाटोमा हिँड्न लागेकाले यसलाई सही मार्गमा ल्याउनुपर्नेमा जोड दिए।  

गठबन्धनविरोधी कांग्रेसका अर्का पूर्वसांसद भीमबहादुर श्रेष्ठले गठबन्धनका नाममा पार्टीको अस्तित्व मेटिने जोखिम भएका ठाउँमा शुद्धीकरण अभियानका अभियन्ताले उम्मेदवारी दिने दाबी गरे।  

चितवनमा स्थानीय तह निर्वाचनमा पार्टी निर्णयविपरीत कार्य गरेको भन्दै कांग्रेस नेतृत्वले ८ जनालाई कारबाही गरेको छ। कारबाही फिर्ताको आशामा यो समूह छ। चितवनमा स्थानीय तह निर्वाचनका बेला पार्टी निर्णयविपरीत काम गरेको आरोपमा कांग्रेसले पूर्वसांसद पौडेल, पूर्वजिल्ला सभापति सापकोटा, अर्का पूर्वसांसद श्रेष्ठ, महाधिवेशन प्रतिनिधि मीना खरेल, पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, भरतपुर १६ का सूर्य बस्नेत, पूर्वजिल्ला सचिव आनन्दराज राउत र केशव पौडेललाई कारबाही गरेको हो। उनीहरूमाथिको कारबाही फिर्ता गराउन जिल्ला नेतृत्वले सक्रियता देखाइरहेको छ तर केन्द्र मौन छ। जिल्लाका नेताहरूले शुक्रबार चितवन आएका पार्टी सभापति शेरबहादुर देउवासँग भेट गराउने आश्वासन असन्तुष्ट पक्षका नेतालाई दिएका थिए। सोही आश्वासनपछि उनीहरूले आफ्नो कार्यक्रम स्थगित गरेका थिए तर देउवाले भेट गरेनन्।  

प्रकाशित: २७ भाद्र २०७९ ००:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App