१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संघीयता बलियो बनाउन प्रदेश संरचना बलियो हुनुपर्छः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश संरचना बलियो नहुँदासम्म संघीयता बलियो हुन नसक्ने बताएका छन्। उनले स्थानीय तह र संघीय सरकार हिजोको केन्द्रीकृत शासन व्यवस्थामा पनि रहेको बताउँदै संघीयता भनेकै प्रदेश सरकार भएको बताए।  

‘स्थानीय तह र संघीय सरकार हिजोको केन्द्रीकृत शासन व्यवस्थामा पनि थियो, आज पनि छ,’ नेपाल प्रेस युनियन जाजरकोटले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भने, ‘संघीयता भनेकै प्रदेश सरकार हो, प्रदेश संरचना बलियो नहुँदासम्म संघीयता बलियो हुन सक्दैन्।’

मुख्यमन्त्री शाहीले स्थानीय तह जनताको चुल्होको सरकार भएको बताए। ‘नागरिकको दुःख पीडालाई नजिकबाट महशुस गर्ने भएकाले स्थानीय तहलाई जनताको चुल्होको सरकार भनिएको हो,’ उनले भने, ‘प्रदेश देखिने सरकार हो भने संघीय सुनिने सरकार हो।’

मुख्यमन्त्री शाहीले विश्वकै सबैभन्दा कमजोर संघीयता नेपालको भएको बताए। उनले संघीय सरकारले कानुन नबनाउँदा प्रदेशले धेरै महत्वपूर्ण कामहरु गर्न नसकेको बताए। ‘संघले प्रहरी चलाउन पाउँदैन्, राजस्व उठाउन पाउँदैन, बैदेशिक सहयोग ल्याउन पाउँदैन्,’ उनले भने, ‘विश्वको कमजोर संघीयता भारतको हो, भारतको भन्दा कमजोर संघीयता नेपालको छ।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारले सुशासनका क्षेत्रमा महत्वपूर्ण कामहरु गरेको बताए। उनले प्रदेश सरकारले चालू आर्थिक वर्षलाई अधुराे योजना सम्पन्न गर्ने वर्षका रुपमा लिएको बताए। ‘बहुवर्षीय आयोजना र क्रमागत योजनाहरुलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छौं,’ उनले भने, ‘चालू आर्थिक वर्षभित्रै अधुरा योजनाहरु सम्पन्न हुन्छन्।’  

मुख्यमन्त्री शाहीले प्रदेशको विकास र समृद्धिका लागि ‘६ब’ को नीति लाएकाे बताए। ‘कर्णालीको समृद्धि र विकासका ‘६ब (बाटो, विजुली, वन, बजार, व्यवस्थापन र विचार) को नीति सरकारले लिएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘यसको कार्यान्वयनतर्फ सरकार दृढताका साथ लागिरहेको छ।’

मुख्यमन्त्री शाहीले उत्तरको छिमेकी चीनसँग जोडिने कर्णाली र भेरी करिडोरलाई प्राथमिकतामा राखेको बताए। ‘कर्णाली र भेरी करिडोर कर्णाली प्रदेशका लागि समृद्धिका मार्ग हुन्,’ मुख्यमन्त्री शाहीले भने, ‘उत्तरको छिमेकी चीनसँग जोडिने दुबै सडकलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ।’

प्रकाशित: २१ श्रावण २०७९ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App