१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गोकर्णेश्वरमा कांग्रेस–एमाले प्रतिस्पर्धा

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर मतपत्र ढुवानी गरिरहँदा उम्मेदवार भने मतदातासँग भोट माग्न घरदैलो कार्यक्रममा जुटेका छन्। देशभर सत्तारुढ पाँच दलले गठबन्धन गरेर जाने निर्णय गरे पनि काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा तालमेल हुन सकेन।

गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले मेयरमा दीपक रिसाल र उपमेयरमा शान्ति नेपाललाई अघि सारेको छ। नेकपा एमालेका तर्फबाट मेयरमा उद्धव बिष्ट र उपमेयरमा सान्नानी लामाले उम्मेदवारी दिएका छन्। त्यस्तै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले वडास्तरसम्म गठबन्धन गरेर मेयरमा नेकपा एकीकृत समाजवादीका गोपाल बराल र उपमेयरमा माओवादी केन्द्रका पेमाछिरी शेर्पालाई उम्मेदवार बनाएका छन्। एक लाख ५१ हजार दुई सय जनसंख्या भएको गोकर्णेश्वर नगरपालिकामा ३३ हजार ८९८ मतदाता छन्। २०७४ सालको स्थानीय तह निर्वाचन परिणामका आधारमा काठमाडौं जिल्लाका ११ वटा स्थानीय तहमध्ये गोकर्णेश्वरमा कांग्रेस बलियो छ।

कांग्रेसबाट मेयरका उम्मेदवार रिसाल क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिव तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेका प्रमुख सल्लाहकार समेत हुन्। एमालेबाट मेयरका उम्मेदवार बिष्ट एमाले नगर समिति अध्यक्ष हुन्। नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार बराल पार्टीको पोलिटब्युरो सदस्य हुन्।

स्थानीय तह निर्वाचनका लागि गोकर्णेश्वर नगरपालिकाका नौवटा वडामा गरी २१२ जना उम्मेदवार छन्। मेयरमा राजनीतिक दलबाट र चार स्वतन्त्र गरी १२ जना उम्मेदवार छन्। त्यस्तै उपमेयरमा ६ राजनीतिक दलबाट र एक स्वतन्त्र गरी सातजनाले उम्मेदवार छन्।

नौवटा वडामा वडाध्यक्षका लागि ४८ जना, महिला सदस्य ४१ जना, दलित महिला सदस्य ३० जना र खुला सदस्यमा ७४ जनाले उम्मेदवारी दिएका छन्। गोकर्णेश्वर नगरपालिकामा गठबन्धन गरेका नेकपा एकीकृत समाजवादीले वडा नं ६ र ७, माओवादी केन्द्रले वडा नं १, ३, ४, ५, ७ र ९ तथा २ र ५ मा स्वतन्त्र अध्यक्षका उम्मेदवार छन्।

स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर कांग्रेसका उम्मेदवार रिसालले गोकर्णेश्वर, चामुण्डा, उत्तरबाहिनी, बागद्वार, सुन्दरीमाई र तारेभीरलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पूर्वधार विकास गर्ने बताएका छन्। त्यस्तै नगरपालिकाभित्र शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने र रोजगारी सिर्जना गर्ने काममा केन्द्रित हुने प्रतिबद्धता उनले जनाएका छन्।

नेपाली कांग्रेसले अहिलेका मेयर सन्तोष चालिसेले सुरू गरेका कामलाई सम्पन्न गर्ने, प्रत्येक घरलाई सडक सञ्जालसँग जोड्ने, व्यवस्थित र योजनाबद्ध ढंगले नगरको विकास गर्ने, सुशासनको सुनिश्चित गर्ने, नागरिकसँगको साझेदारीमा ५० प्रतिशत प्रिमियम शुल्कको व्यवस्था मिलाई नगरवासीका लागि स्वास्थ्य बिमा कार्यान्वयनमा ल्याउने, स्वास्थ्य चौकीलाई आवश्यकताका आधारमा प्राथमिक अस्पतालमा रूपान्तरण गर्ने, कम्तीमा तीनवटा एम्बुलेन्स नियमित रूपमा सञ्चालनमा ल्याउने, प्रत्येक वडाका एकजना छात्रालाई नर्सिङ अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने, सामुदायिक विद्यालयलाई भौतिक रूपमा सुविधा सम्पन्न बनाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। 

कांग्रेसले विद्यालयहरूमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रोनिक इन्जिनियरिङ, कम्युटर इन्जिनियरिङ, कृषि तथा भेटनरीजस्ता प्राविधिक विषय पढाउने, प्राविधिक विषय अध्ययन गर्ने छात्रछात्रालाई प्रोत्साहन गर्न प्रत्येक वर्ष २५ जना विद्यार्थीलाई प्रतिस्पर्धाको आधारमा छात्रवृत्ति उपलब्ध गराउने, बिएचएम अध्ययनका लागि पाँचजना र प्लस टुमा होटल म्यानेजमेन्ट अध्ययन गर्ने २५ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने, दुध, दुधजन्य पदार्थ, खाद्यान्न, अन्डा, माछा र मासु उत्पादनमा आत्मनिभर बनाउने, सार्वजनिक जग्गा पहिचान गरी खेलग्राम, पार्क र उद्यान निर्माण गर्ने, स्थानीय स्रोत साधन परिचालन गरी बेरोजगारी समस्या समाधान गर्ने, बजार क्षेत्रमा कम्तीमा एकवटा सार्वजनिक शौचालय निर्माण गर्ने, सांस्कृतिक अध्ययन केन्द्र तथा संग्रहालय, रंगशाला र प्रज्ञा प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेको छ।  

एमालेबाट मेयर उम्मेदवार बिष्टले नगरपालिकामा निर्वाचित भएर आए प्रशासनलाई व्यवस्थित गर्ने र सरकारी कोष सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले तलब भत्ताको रकम शिक्षा क्षेत्रको विकासमा खर्च गर्ने जनाएका छन्। सडक, खानेपानी र फोहोरमैला व्यवस्थापनदेखि नगरपालिकाको प्रशासनिक भवनलगायतका विकासका पूर्वाधार निर्माणलाई उनले प्राथमिकतामा राखेका छन्। ‘अघिल्लो नेतृत्वबाट स्थानीय असन्तुष्ट भइरहेको अवस्थामा सुशासन, पारदर्शिता र सहज रूपमा सेवा प्रवाह गर्न सक्ने एमालेको नेतृत्व स्थानीयले खोजिरहेको हुँदा निर्वाचनमा विजयी हुनेमा ढुक्क छौं,’ उनले भने। एमालेले गोकर्णेश्वरमा स्थानीय सरकारमा विज्ञ समूहको परिचालनलाई उपयोग गरी स्थानीयको पक्षमा प्रतिफल दिने, पूर्वाधार निर्माणमा योजनाहरू तयार गर्ने, आर्थिक चलखेल रोकी पारदर्शी विकाससहितका योजना छनोट गराउने, नगरका सुखी जनता र समृद्ध गोकर्णेश्वर नगरको नारा र योजनासहित स्थानीय सरकार परिचालन गर्ने घोषणा गरेको छ।

२०७४ सालको स्थानीय निर्वाचनमा यो नगरपालिकामा नेपाली कांग्रेसले ७० प्रतिशत परिणाम आफ्नो पक्षमा निकालेको थियो। नौवटा वडा रहेको गोकर्णेश्वरमा  

कांग्रेसले प्रमुख/उपप्रमुखसहित ६ वटा वडामा जितेको थियो। दुईवटा वडामा एमाले र एक वडामा राप्रपाका उम्मेदवार विजयी भएका थिए। अघिल्लो निर्वाचनमा कांग्रेसका चालिसे नौ हजार ९ मतसहित निर्वाचित भएका थिए।

एमालेबाट मेयरका उम्मेदवार बनेका पुण्यप्रसाद चौलागाईंले सात हजार ५९५ मत पाएका थिए। यसपटक चालिसे दोहोरिएनन्। ‘अनुभवका आधारमा मेयरमा दाबी गरे पनि पार्टीले फेरि उपमेयर हुनुपर्‍यो भनेपछि उम्मेदवारी दिएकी हुँ,’ नेपाली कांग्रेबाट उपमेयरकी उम्मेदवार शान्ति नेपालले भनिन्, ‘पाँच वर्षमा हामीले गरेका कामको मूल्यांकन गरेर मतदाताले शतप्रतिशत हामीलाई जिताउनु हुनेछ भन्नेमा ढुक्क छौं।’

गोकर्णेश्वरमा कांग्रेस, एमाले र नेकपा एकीकृत समाजवादी–माओवादी केन्द्र गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ। नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र गठबन्धनबाट मेयरका उम्मेदवार गोपाल बरालले भने, ‘यसपटक गठबन्धन गरेर हामी निर्वाचनमा उत्रिएका छौं। मतदाताले खोजेको विकास निर्माण योजनासहित हामी आएको हुँदा निर्वाचन जित्नेमा ढुक्क छौं ।’ नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र गठबन्धनले सामुदायिक विद्यालयमा गुणस्तरीय र व्यवहारपयोगी शिक्षा प्रदान गर्ने,  

विद्यालयलाई प्रविधिमैत्री बनाउने, कक्षा १२ सम्मको सबै पाठ्यपुस्तक र परीक्षा शुल्क निःशुल्क गर्ने, छात्रालाई निःशुल्क रूपमा स्यानिटरी प्याड वितरण गर्ने, एक लाख रूपैयाँसम्मको पारिवारिक स्वास्थ्य बिमा निःशुल्क गर्ने, दुर्घटनामा अंगभंग भएका, दीर्घरोगी र दृष्टिबिहीनलाई मासिक पाँच हजार रूपैयाँ भत्ता दिने, प्रत्येक वडामा निःशुल्क व्यायाम केन्द्र सञ्चालन गर्ने, पशुपति–बौद्ध–गोकर्णेश्वर– सुन्दरीजल पर्यटन मार्ग निर्माण गर्ने, जम्बु डाँडालाई बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थलको रूपमा विकास गर्ने, ४० माइक्रोनभन्दा कमका प्लास्टिकको झोलाको बिक्रीवितरणमा रोक लगाउने, कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्ने व्यवस्था लागू गर्ने, एक घर एक रोजगारको व्यवस्था मिलाउने घोषणा गरेको छ।

प्रकाशित: २२ वैशाख २०७९ ०१:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App