१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपालगन्ज उपमहानगरपालिको मेयरमा कांग्रेसका १४ आकांक्षी

नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयर बन्न नेपाली कांग्रेसका आकांक्षी दौडधुपमा लागेका छन्। पार्टीबाट मेयर र उपमेयरको टिकट हात पार्न आकांक्षीहरू आआफ्नो समूह बनाएर लबिङमा लागेका हुन्।

कांग्रेसबाट मेयरमा १४ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका छन्। आकांक्षीहरूले आफ्नो पक्षमा वातावरण बनाउन जिल्ला, लुम्बिनी प्रदेश र केन्द्रीय तहसम्मका नेतालाई भेट्न थालेका छन्। नेपालगन्ज कांग्रेसका लागि महत्त्वपूर्ण उपमहानगरपालिका हो।

कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको गृहनगर हो नेपालगन्ज। त्यसकारण पनि नेपालगन्जलाई कांग्रेसले महत्त्वका साथ हेर्दै आएको छ। पाँच दलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने विषयमा बाँकेमा अहिलेसम्म टुंगो लागेको छैन।

नेपालगन्जको मेयर र उपमेयर गठबन्धनभित्रको कुन दलले पाउँछ भन्नेबारे टुंगो नलागे पनि कांग्रेसका आकांक्षी आफ्नै पार्टीले पाउने विश्वासमा टिकटका लागि दौडधुपमा लागेका हुन्। कांग्रेस नेपालगन्ज उपमहानगर कार्यसमितिले मेयरका १४ र उपमेयरका ११ आकांक्षीको नाम बाँके प्रदेश सभा–२ ‘ख’ कार्यसमितिसमक्ष पठाएको छ।

मेयरका लागि रमेशकुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापामगर, सुनिल राणा, निरञ्जनसिंह सिजापति, डा. सुरेशकुमार कनोडिया, माया पुन, अजितकुमार शर्मा, रवीन्द्रमान श्रेष्ठ, वीरेन्द्रबहादुर शाह, अच्यूतप्रसाद प्रसाईं, ललितकुमार रौनियार, मो. कादिर जोलाहा र दिवाकर खनालको नाम सिफारिस गरिएको छ।

त्यस्तै उपमेयरका लागि रेणुसिंह ठाकुर, दीक्षा कोइराला, रत्न राणा, शिवकुमार बर्मा, पूर्णसिंह ठकुरी, मीनाकुमारी बोहरा, नारायणी रूपाखेती, मो. कमाल अन्सारी, गोकर्ण शाही, वन्दना सिंह र अतुलकुमार गुप्ता नगर समितिको सिफारिसमा परेका छन्।

मेयर र उपमेयर पदका लागि धेरै आकांक्षी देखिएकाले सन्तुलन र सहमतिमा छान्नुपर्ने देखिएको छ। ‘नेपालगन्जको मेयर र उपमेयर पदको टिकटका लागि धेरैजना आकांक्षी हुनुहुन्छ तर कसलाई टिकट दिने भन्नेमा पार्टीले कुनै निर्णय गरेको छैन,’ एक नेताले भने, ‘तर आकांक्षी धेरै भएको हुँदा उम्मेदवार छान्न यसपटक त्यति सजिलो  छैन।’

नगर समितिले सिफारिस गरेका आकांक्षीको नाम क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, लुम्बिनी प्रदेश समिति र केन्द्रीय कार्यसमितिलाई बोधार्थका रूपमा जानकारी गराइएको छ। कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनभित्रबाट कांग्रेसले नै टिकट पाउने संकेत गरे।

तर,कांग्रेसभित्र कसलाई टिकट दिने भन्नेबारेमा अहिलेसम्म निर्णय नभएको उनले बताए। ‘उम्मेदवारको नाम अहिलेसम्म बाँकेबाट सिफारिस भएर हामीकहाँ आइपुगेको छैन, नाम आएपछि छानेर राम्रोलाई उम्मेदवार बनाउँछौं,’ उनले भने।

प्रकाशित: ४ वैशाख २०७९ ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App