१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

एमसिसी टार्न सभामुखले गरे संसद् बैठक स्थगित

क्याप्शन

सरकारले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बुधबारको संसद् बैठकमा टेबुल गर्ने तयारी गरिरहेका बेला मंगलबार राति नै बैठक स्थगित गरिएको छ। बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको हो।

एमसिसीका कारण प्रतिनिधिसभा बैठक ६ पटक स्थगित भएको छ। यसअघि १६ गते बोलाइएको बैठक पनि १५ गते राति स्थगित गरी २६ गते बुधबारका लागि बोलाइएको थियो। एमसिसी विवादका कारण स्थगित भए पनि अघिल्लो पटक कोरोनालाई कारण देखाइएको थियो, यसपटक ‘विशेष कारणबस’ स्थगित भनिएको छ। बुधबार १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची बाहिर ल्याइसकिएको थियो। जसमा थारु आयोगको तेस्रोवार्षिक प्रतिवेदन पेस गर्ने र पूर्वसांसदको निधनप्रति शोकप्रस्ताव पारित गर्ने विषय समावेश थियो।

एमसिसी संसद्मा टेबुल गर्ने विषय कार्यसूचीमा राख्ने–नराख्ने निर्णय गर्न सभामुख अग्निप्रसाद सापकोटाले बैठक बस्नु २ घण्टाअघि बुधबार ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए। मंगलबार दिउँसो कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख सापकोटालाई भेटेर बुधबारको संसद् बैठकमा एमसिसी टेबुल गर्ने बताएका थिए।

कानुनमन्त्री बाहिरिएपछि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक समय तोकेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर आएका मन्त्री बडूलाई एमसिसी टेबुल गर्न अझै हतार नभएको भन्दै सभामुख सापकोटाले दलीय सहमतिपछि मात्रै टेबुल गर्न आग्रह गरेका थिए। करिब ४५ मिनेटको भेटपछि सभामुखको सन्देश लिएर कानुनमन्त्री बडू प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका थिए।

प्रधानमन्त्री देउवाले गठबन्धनका नेतासँग जसरी पनि एमसिसी टेबुल गर्ने बताएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आग्रहमा सभामुख सापकोटाले बैठक स्थगित गरेको स्रोतको दाबी छ। गठबन्धनबीच एमसिसीलाई के गर्ने भन्ने विषयमा छलफल जारी रहेको स्रोतले बतायो। सरकारले संसद्मा टेबुल गरिसकेपछि पनि सहमतिको प्रयास जारी राख्ने उद्देश्यले बुधबार नै एमसिसी टेबुल गर्न खोजेको हो।

संसद्मा एमसिसी टेबुल भएपछि एमालेले समेत साथ दिनसक्ने कतिपयको अनुमान छ। एमालेले साथ दिएमा एमसिसी पारित हुनसक्ने भएका कारण पनि गठबन्धनभित्र एउटा निष्कर्ष ननिस्केसम्म संसद्मा टेबुल गर्न दिइएको छैन। विभिन्न बहानामा एमसिसीलाई पछि धकेल्न खोजिएको निष्कर्षमा पुगेका देउवाले प्रतिनिधिसभाको बुधबारको बैठकमा जसरी पनि टेबुल गर्नुपर्ने दबाब दिएका थिए।

देउवा अडानमा रहेपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालको आग्रहमा सभामुख सापकोटाले संसद् बैठक स्थगित गरेका छन्। संसद् सचिवालयबाट बैठक स्थगित भएको सूचना राति ९ बजे सार्वजनिक भएको छ। कार्यालय समय सकेर घर फर्केका कर्मचारी हतारहतार संसद् सचिवालय पुगेर सुचना जारी गरेका थिए। यसअघि १५ गते बैठक स्थगित गर्दा पनि यसै गरिएको थियो।

संसद् अधिवेशन मंसिर २८ मा सुरु भएको हो। मंसिर २८, पुस ६ र पुस ७ गते गरी तीनपटक मात्र बसेको प्रतिनिधिसभाको बैठक अहिलेसम्म पुस १८, पुस २२, पुस २८, माघ ३, माघ १६ गते स्थगित हुन पुग्यो भने अब २६ गतेको पनि स्थगित भएको छ।

प्रकाशित: २६ माघ २०७८ ००:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App