नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणाली भए अर्को तानाशाह जन्मिने टिप्पणी गरेका छन्। आइतबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले मेयर र वडाध्यक्षकै उदाहरण दिँदै यस्तो टिप्पणी गरेका हुन्।
‘प्रत्यक्ष निर्वाचित कार्यकारी नेपालका लागि अर्को तानाशाह हुन्छ,’ नेपालले भने, ‘त्यसैले जंगबहादुरको देशमा फेरि अर्को जंगबहादुरको कल्पना गर्न सकिँदैन।’ त्यसमा उनले पछिल्लो समय सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको उदाहरण नै दिए।
‘देख्नु भएन दुई तिहाइ पाएको केपी ओली! उनले के गरे? ओलीजस्तो प्रवृत्ति भएका कति छन् नेपालमा? त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यर्थको बहस हो,’ नेता नेपालले भने।
पछिल्लो समय स्थानीय तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी भएका मेयरहरूकै उदाहरण पनि उनले थपे। अगाडि भने, ‘प्रत्यक्ष निर्वाचित भएका नगरपालिकाको मेयरले कसैलाई टेर्छ? वडाध्यक्षले कसैको कुरा सुन्छ? हो त्यही प्रवृत्ति हो प्रत्यक्ष कार्यकारी।’
त्यसैले देशलाई ठुलो दलदल र तानाशाही अवस्थाबाट जोगाउन प्रत्यक्ष कार्यकारीको मुद्दा जनताले नै अस्वीकृत गर्नुपर्ने नेपालले बताए।
प्रकाशित: २० पुस २०८२ १६:३२ आइतबार





