coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जनमतको लगामविहीन उग्रता

जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सतिश साह बर्दिबास जाँदै थिए। जनकपुरधामको पिडारी चोक पुग्दा फट्टा बोकेका हुलले उनी सवार प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडी तोडफोड गर्‍यो। डा. सतिशको अनुहारमा गम्भीर चोट लाग्यो।

प्रहरीले डा. साहलाई उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍यायो। उनको अनुहारमा गहिरो चोट लागेर आठ वटा टाँका लगाइएको छ। राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न आइरहेका प्रदेस सभा सदस्य अशोक यादव जानकी मन्दिर नजिक पुग्दा एक हुल फट्टाधारी उनी चढेको गाडीमाथि आक्रमण गर्‍यो। आक्रमणबाट गाडीको सिसा फुट्यो। डा. सतिशको दायाँ हात नै भाँचिएको छ।

राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन आएका सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं सवार गाडी जनकपुरधाम–४ मा पुग्दा एक समूहले अन्धाधुन्ध आक्रमण गर्‍यो। आक्रमणबाट गाडीको सिसा चकनाचुर भयो। मेयर गणेश प्रसाईंको कन्चटमा चोट लाग्यो। गाडीमा सवार उपमेयर रेनुका पौडेल जोगिइन्।

जनकपुरधाममा राष्ट्रिय सभा निर्वाचन बिथोल्न सिके राउत नेतृत्वको जनमत पार्टीको उग्रताको सिकार प्रदेश सभा सदस्य, मेयरसहित डाक्टर पनि सिकार बन्न पुगे। प्रदर्शनकारीले निर्वाचनमा मतदान गर्न आउने जनप्रतिनिधिलाई लक्ष्य गरी अन्धाधुन्ध आक्रमण गरे। जसको परिणाम सातवटा सरकारी नम्बर प्लेटको गाडीमा तोडफोड भयो। सरकारी गाडीलाई सिकेका कार्यकर्ताले तारो बनाउँदा जलेश्वर अस्पतालको गाडीसमेत सिकार बन्न पुग्यो।

प्रदेशसभा सदस्य मनीष सुमन, नेत्रविक्रम साह चढेको गाडी, लहान नगरपालिकाका मेयर मुनि साह चढेको गाडी समेत सिके राउतको सिकार बन्न पुग्यो। यसअघि जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो। राष्ट्रियसभाको मधेस प्रदेशको मतदानस्थलनजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भयो।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानतर्फ जनमत पार्टीका कार्यकर्ताहरू बाँसका भाटा लिएर जान खोज्दा झडप भएको थियो। प्रहरीले सातजना जनमत कार्यकर्तालाई नियन्त्रणमा लिएको एसपी वसन्त राजौरेले जानकारी दिएका छन्।

मधेस सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन्। राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदानमा सहभागी हुन विभिन्न स्थानबाट आएका जनप्रतिनिधिहरूको सवारीसाधनमा जनमत पार्टीका कार्यकर्ताद्वारा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधिप्रति मधेस प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता साहले जनाएका छन्।

पूर्वघोषित विरोधका कार्यक्रमहरू नरहेको अवस्थामा पनि प्रदेशसभा सदस्य माननीय अशोक यादव, हरिवन नगरपालिका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मेसु डा. साहलगायतमाथि गरिएको सांघातिक आक्रमण एवं सवारीसाधनमा गरिएको तोडफोड घटनाको वास्तविकता छानबिन गरी सम्बन्धित जनप्रतिनिधि एवं चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन उनले माग गरेका छन्।

‘दोषीउपर कारबाही गर्न प्रदेश सरकार तालुक निकायलाई निर्देशित गर्दछ,’ उनले भनेका छन्, ‘लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखि अहिंसात्मक तवरबाट आफ्नो विचार एवं अभिमत प्रकट गर्न जनमत पार्टीलगायत सम्बद्ध सबैमा प्रदेश सरकार आग्रह गर्दछ।’

पछिल्लो समय जनमत पार्टीले मधेस प्रदेश केन्द्रित उग्र आन्दोलन गर्दै आएका छन्। जनता समाजवादी पार्टीका नेता लक्षित घेराउ कार्यक्रमका कारण जनता समाजवादी पार्टी र जनमत पार्टी अहिले मधेसमा मुठभेडको स्थितिमा पुगेको छ। जनता समाजवादी पार्टी मधेस प्रदेशको सरकारको नेतृत्व गरिरहेको छ। जनमत पार्टी भने सरकार र जसपाको विरोधमा उग्र प्रदर्शन गरिरहेका छन्।

मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत साइकल खरिदमा अनियमितता भएको उजुरी परेपछि असोज १३ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिए लगत्तै सिके राउत नेतृत्वको जनमत पार्टीले मुख्यमन्त्री लालबाबु राउतको विरोधमा जनकपुरधाममा उग्र प्रदर्शन सुरु गर्‍यो। अख्तियारको बर्दिवास कार्यालयम पुगेर समेत जनमतका कार्यकर्ताले प्रदर्शन गरेका थिए।

मूलधारको राजनीतिमा अवतरित भएपछि जनमत पार्टी सुषुप्त रूपमा बसेको थियो। जनमतका कार्यकर्ताले विभिन्न पालिकामा भएको भ्रष्टाचारको मुद्दा छिटफुट रूपमा उठाउँदै आएका थिए। तर, अख्तियारले प्रदेश सरकारको मुख्यालयमा छापा मारेपछि जनमत पार्टी प्रदेशका विभिन्न जिल्लामा आफ्नो उपस्थिति दर्ज गराउन मधेस सरकार र जसपाविरुद्ध उभिएको छ।

पछिल्लो समय मधेसमा किसान सबैभन्दा धेरै पिरोलिएका हुन्। मलखाद, बीउविजन, सिँचाइको समस्या र भ्रष्टाचारले मधेस आक्रान्त छ। सिके राउत मधेसका यी मूल मुद्दा समातेर राजनीतिक प्रभाव जमाउन खोज्दैछ। उनको प्रस्तुति सालिन हुनुपर्नेमा अराजक भएको देखिन्छ। मधेसका किसानका मुद्दा ओझेल परिरहेका बेला सिके राउत तिनलाई उचालेर भावनात्मक सम्बन्ध प्रगाढ बनाउन खोजेको मधेसका बुद्धिजीवीहरू बताउँछन्।

यसभन्दा पहिला जनमत भ्रष्टाचार विरोधी मुद्दा उचालेर मधेसमा आफ्नो उपस्थिति जनाउने प्रयत्नमा जुटेका जनमत पार्टी अहिले किसानका मुद्दा उचालेर राजनीतिक प्रभाव जमाउन खोज्दैछ। भ्रष्टाचार र किसानका मुद्दालाई प्राथमिकतामा राखेर राजनीतिमा आउने जोकसैले मधेसमा पकड बनाउन सक्ने अवस्थालाई सिके राउतले मूल मुद्दा बनाएका छन्।

प्रकाशित: १३ माघ २०७८ ०१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App