१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश २ मा देउवा–निधि पक्षबीच प्रतिस्पर्धा

नेपाली कांग्रेस प्रदेश २ सभापति पदका लागि पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिको प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ। कांग्रेस रौतहटका सभापतिसमेत रहेका कृष्णा यादव र प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन्।

यादवले एक साताअघि नै उम्मेदवारी घोषणा गरेका थिए। उनी कांग्रेसका उपसभापति विमलेन्द्र निधि पक्षधर मानिन्छन्। दुवै पक्षले शनिबारसम्म आआफ्नो प्यानल सार्वजनिक गर्ने बताएका छन्।

यसअघि सभापति देउवा र निधि एकै समूहमा रहे पनि १४औं महाधिवेशनमा निधि देउवाबाट अलग बनेर आफैं सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। त्यसको असर जिल्ला र प्रदेशमा पनि देखिएको छ।

प्रदेश २ को प्रदेश अधिवेशन बिहीबार उद्घाटन गरिए पनि शुक्रबार निर्वाचन प्रक्रिया भने स्थगित गरिएको छ। शुक्रबार प्रतिनिधिको नाम दर्तासहितको निर्वाचन कार्यक्रम थियो। तर, निर्वाचन समितिले सूचना जारी गरी नाम दर्ता कार्यक्रम स्थगित भएकोे जनाएको छ।

समितिले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रदेश २ को प्रथम प्रदेश अधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता कार्य प्राविधिक कारणले मंसिर १७ गतेका दिन स्थगित गरिएको व्यहोरा जानकारी गराउँछौं।’

चार जिल्लाको वडा तथा क्षेत्रीय अधिवेशनमा विवाद कायमै रहेकाले प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाइएको छ। महोत्तरी, सर्लाही, बारा र पर्साको मतदाता नामावली आउन नसकेको रजिस्ट्रेसन संयोजक विश्वेश्वर यादवले जानकारी दिए।

नेपाली कांग्रेस महाधिवेशनका लागि प्रदेश २ का संयोजक रमेश रिजालका अनुसार सर्लाही जिल्लामा अधिवेशन नै हुन सकेको छैन भने केही जिल्लाबाट मतदाता नामावली आउन सकेको छैन। ‘शुक्रबार रातिसम्म अधिवेशन भइसकेको जिल्लाबाट मतदाता नामावली आइसक्छ,’ उनले नागरिकसँग भने, ‘अधिवेशन हुन नसकेको जिल्लामा अधिवेशन गराउने प्रयास भइरहेको छ।सम्भव भएसम्म उहाँहरूलाई पनि समेटेर जाने सोच हो।’ शनिबारसम्म अधिवेशन भए उनीहरू समेटिने अन्यथा छुट्ने उनको भनाइ छ। ‘आइतबार निर्वाचन निश्चित छ,’ उनले भने। 

प्रकाशित: १८ मंसिर २०७८ ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App