५ वैशाख २०८१ बुधबार
राजनीति

कर्मचारी इमान्दार नभएसम्म सुशासन असम्भवः मुख्यमन्त्री राउत

सुशासन कायम गर्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री लालबाबु राउत । तस्बिरः नागरिक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा कर्मचारी इमान्दार नभएसम्म सुशासन कायम नहुने बताएका छन्। सुशासनका कायम गर्न कर्मचारी इमान्दार हुनुपर्ने उनको भनाइ छ।

‘सुशासन कायम गर्न स्थायी सत्ता इमान्दार हुनु पर्छ,’ स्थानीय तहको संस्थागत स्वमूल्यांकन सम्बन्धी समिक्षा एवं अनुशिक्षण कार्यक्रमको सोमबार बर्दिबासमा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले भने, ’कर्मचारी तन्त्रको सहयोगबिना अनियमितता हुनै सक्दैन।’ सुशासन कायम गर्ने पहिलो खुड्किलो स्वमूल्यांकन भएकाे उनले बताए। स्वमूल्यांकनलाई प्राथमिकतामा राख्न स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाई राउतले निर्देशन दिए।

'प्रदेशका अधिकांस स्थानीय तहले स्वमूल्यांकन नतिजा प्रकाशन गर्न नसकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले आफ्नो मूल्यांकन समेत आफूहरुले गर्न नसकेपछि कसरी सुशासन कायम हुन्छ?', भन्दै उनले प्रश्न गरे।

जनप्रतिनिधिहरु निश्चित अवधिसम्म मात्र रहने तर कर्मचारीहरु लामो समय रहने भएकाले सुशासन कायम गराउने प्रमुख दायित्व कर्मचारीहरुकै काँधमा रहेको मुख्यमन्त्री राउतको भनाइ थियो। जनप्रतिनिधिलाई नियम कानुन बुझाउने जिम्मा समेत कर्मचारीहरुकै भएको उनले बताए। प्रदेशमा भ्रष्टाचार न्यूनीकरणका लागि जनलोकपाल आयोग गठन भैसकेको बताउँदै उनले भ्रष्टाचारी गर्ने जो कोहीलाई पनि कारबाही गर्ने कानूनी अधिकारी आयोगसँग रहेकाे उल्लेख गरे।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका प्रादेशिक निर्देशक एवं मुख्यमन्त्री कार्यालयका सचिव यमप्रसाद भुषालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव हरिप्रसाद मैनाली, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सह सचिव वसन्त अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिव विष्णु ढकालसहित प्रदेशभरीका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी थिए।

प्रकाशित: ४ आश्विन २०७८ १४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App