२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तिर्खाएको कौवा र सत्ताको प्यास

धेरैले पढे कै कथा हो– तिर्खाएको कौवा। कौवाले सुराइमा राखेको पानी चुच्चोले नभेटेपछि ढुंगाका टुक्रा खसाएर प्यास मेटाएको थियो। प्यास मेट्नका लागि चराले देखाएको बुद्धिको कथा चाखलाग्दो थियो। यता मुलुकमा भने नेताहरुमा सत्ताको प्यास देखिँदै छन्। उनीहरु प्यास मेटाउन बुद्धि  हैन, मुडेबल प्रयोग गर्दैछन्।  

सत्तामा जाने पछिल्लो खेलले जनता समाजवादीलाई फुटको संघारमा पुर्‍याइदियो । एक अध्यक्षले अर्का अध्यक्षलाई निष्कासन गर्ने होडबाजी चलेको छ। यादव समूहले महन्थ ठाकुरलगायतका नेतालाई निष्कासन गरेका छन्, भने ठाकुर समूहले उपेन्द्र यादव लगायतलाई कारबाही  गरेका छन्। ठाकुर पक्ष एमाले सरकारमा जाने निश्चित भएसँगै फुट सुनिश्चित भएको हो।  

यता एमाले पनि फुट्नमात्रै बाँकी हो। हुन त पछिल्लो स्थायी कमिटी बैठकले एकताको लागि हदैसम्म लचिलो हुने जनाएको छ। तर आपसी खिचातानी र इगोको रबर यति धेरै तन्किएको छ कि अब तन्किने हैन चुडिँन मात्र बाँकी छ।  

सत्ताको खेल नभएरै होला कांग्रेस  भने एकजस्तै देखिएको छ। तर लोकतान्त्रिक भनिने यो पार्टीभित्र पनि अलोकतान्त्रिक कदमले विभाजनका गहिरा रेखा कोरिएका छन्। एक बहानाको मात्र कमी हो। पार्टी कुनैपनि बेलामा फुटको संघारमा पुग्न सक्छ। माओवादी केन्द्र त अहिले आफै अलमलमा छ। पार्टीका केही नेताहरु  पार्टी छाडेर एमालेमा प्रवेश गरेका छन्। केही पार्टीभित्र गुम्सिएर बसेका छन् ।  

सत्ताको खेलले विगतमा पनि थुप्रै पार्टी पटकपटक नफुटेका हैनन्। राप्रपाको पार्टी जोडिने र फुट्ने खेल सत्ताकै कारणमात्र हुने जस्तो देखिन्छ । नैतिकताको राजनीति गर्ने भन्ने दावा गर्ने जनमोर्चाको दावा पनि आखिरीमा हावामा विलिन नहुँदै प्रदेशमा छचल्किन थालेको छ।  

समग्रमा नेपाली राजनीति सत्ताको खेलमा बरालिएको छ। वास्तवमा सत्ताको खेलमा रमाउने नेपालका नेताहरु कौवाभन्दा कम चलाख छैनन्, उनीहरु सत्ताका लागि आफूसँग भएको चलाखी देखाउँदै छन्। तर त्यो चलाकीले समाजको हित हुन सकेको छैन ।  

तिर्खाएको कौवाले बुद्धि पुर्याएर घैंटामा रहेको पानीले प्यास मेटायो। सत्ताको प्यासमा तिर्खाएका नेताले भने भरिएको घैंटाको पानी पनि  छचल्काएर फुटाउँदै छन्। सबै जनताले विकासको पारिलो घाम पाउन भनेर समृद्धिको बाटोमा लागेका भनिएको नेताहरुको घैंटामा चाहिँ  कहिले घाम लाग्ने होला ?

प्रकाशित: १९ जेष्ठ २०७८ ०९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App