coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नागरिकता अध्यादेशको मनसाय गलत: विवेकशील साझा

विवेकशील साझा पार्टीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  

पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नागरिकताजस्तो अत्यन्तै गम्भीर विषयलाई संसद् छलेर सौदाबाजीका रूपमा अध्यादेशबाट राजनीतिक रूपमा संवेदनशील समयमा ल्याइनु पूर्णतः कुत्सित र दूषित मनसायबाट प्रेरित देखिन्छ।' विज्ञप्तिमा गलत प्रक्रिया र गलत ध्येयबाट ल्याइएको भए पनि अध्यादेशले केही महत्त्वपूर्ण विषयलाई भने सकारात्मक रूपमा सम्बोधन गरेको र बोल्नुपर्ने केही विषयमा मौन रहेको उल्लेख गरिएको छ।  

‘जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकले नागरिकता प्राप्त गरेको मितिपछि पाएको सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नु न्यायसङ्गत हुन्छ। यो नेपालको संविधान २०७२ अनुरूप पनि छ, जसको विवेकशील साझा पार्टी स्वागत गर्दछ’, तर पुरुष र महिलाका बीच नागरिकताको विषयलाई विभेदकारी बनाउन मिल्दैन। पुरुष र महिला दुवै समान अधिकारको हकदार छन्। अध्यादेश त्यसमा चुकेको छ।  

हाल नेपाली पुरुषले विदेशी महिला विवाह गरे उनले तुरुन्तै नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरे ती पुरुषले नागरिकता लिन कठिन हुने प्रावधान विद्यमान छ। संसारका धेरै लोकतान्त्रिक र विकसित देशहरूको नागरिकता सम्बन्धी प्रावधानहरू हेर्ने हो भने कुनै पनि विदेशीले नागरिकता पाउन एउटा निश्चित अवधि सो देशमा स्थायी बसोबास गरेको र अन्य कतिपय सर्तहरू पुरा गरेको हुनुपर्छ। नेपालका लागि पनि त्यस्तै व्यवस्था गर्नु उचित हुन्छ। ’विज्ञप्तिमा भनिएको छ।

यस्तै विवेकशील साझाले ‘बुवाको नाममा नागरिकता लिँदा बुवाले आमाको परिचय खुलाउनु नपर्ने तर आमाले भने बुवाको परिचय खुलाउनु पर्ने व्यवस्था मान्य हुन सक्दैन। दुबैका हकमा समान कानुनी व्यवस्था हुनुपर्छ। यस विषयमा पनि अध्यादेश मौन’, विज्ञप्तिमा भनिएको छ।  नागरिकता लिने व्यक्तिको लैंगिक पहिचान सुनिश्चित गरिनुपर्छ। यौनिक अल्पसङ्ख्यकको लैंगिक पहिचानका बारेमा अध्यादेश मौन छ। अन्त्यमा, विवेकशील साझा पार्टीले नेपाली नागरिकता लिएकाहरूको अभिलेखीकरण वैज्ञानिक र प्रविधि अनुकूल बनाउन प्राथमिकताका साथ काम गरिनुपर्दछ भन्ने माग गरेको छ।

प्रकाशित: १० जेष्ठ २०७८ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App